मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिद्धबाबा सुरुङमार्गको प्रवेश विन्दुमा पहिरो, राजमार्ग अवरुद्ध

सिद्धबाबा सुरुङमार्गको प्रवेश विन्दुमा पहिरो, राजमार्ग अवरुद्ध

अपि टाइम्स

पाल्पा । सिद्धबाबा सुरुङमार्ग क्षेत्रको उत्तरतर्फको प्रवेश विन्दुमा पहिरो खसेपछि सिद्धार्थ राजमार्ग मंगलबार बिहानैदेखि अवरुद्ध भएको छ । राजमार्गको पाल्पा–बुटवल सडक खण्डको तिनाउ गाउँपालिका–३, दोभान ड्यामसाइड (रामापिथेकसपार्क) क्षेत्रमा लेदोसहित ठूलो पहिरो खसेको दोभान प्रहरी चौकीले जनाएको छ ।

प्रहरीका अनुसार सिद्धबाबा सुरुङमार्ग आयोजना अन्तर्गत चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले सुरुङमार्गको उत्तरतर्फको प्रवेश विन्दु निर्माण गरेको स्थानमा पहिरो खसेको छ । यहाँ साउनको पहिलो सातादेखि पहिरो खस्ने क्रम जारी छ ।

चाइना स्टेट कन्स्ट्रक्सनले पानी रोकिनासाथ ठूलो मेसिन लगाएर पहिरो खुलाउने प्रयास गरेको छ । ठूला ढुंगा नभएकाले वर्षा रोकिने हो भने छिट्टै राजमार्ग एकतर्फ खुल्ने प्रहरीले जनाएको छ । केही दिनअघि खसेको पहिरोले राजमार्गमा जतिबेला पनि खस्न सक्ने गरी धराप बनाएको थियो ।

वर्षाले सुरुङमार्गको उत्तरतर्फको सुरुङ प्रवेश विन्दु रिब पोर्टलको माथिल्लो भागबाट ठूलो पहिरो खसेको छ । राजमार्ग अवरुद्ध भएपछि तराईबाट पहाड जाने र पहाडबाट तराई झरेको सवारी साधन बाटोमै रोकिएका छन् । यो सडक भएर पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङजा, कास्की, पर्वत, म्याग्दी, मुस्ताङ, बाग्लुङसम्मका सवारी साधन सञ्चालन हुन्छ ।