मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कृषि क्षेत्रको विकास गर्ने हो भने पूर्व-पश्चिम नहर बनाऔँः कृषिमन्त्री भुसाल

कृषि क्षेत्रको विकास गर्ने हो भने पूर्व-पश्चिम नहर बनाऔँः कृषिमन्त्री भुसाल

अपि टाइम्स

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले सिँचाइ सुविधाका लागि पूर्वपश्चिम नहर निर्माणको आवश्यकता औँल्याएका छन् । कृषियोग्य जमिन पर्याप्त हुँदाहुँदै पनि सिँचाइ असुविधाले एक तिहाइ जग्गा बाँझो रहेको उल्लेख गर्दै मन्त्री भुसालले पूर्व पश्चिम नहर बनाएर कृषि क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको वार्षिक समीक्षा गोष्ठीलाई सोमबार बोल्दै मन्त्री भुसालले भने, ‘कुल खेतीयोग्य जमिनको झन्डै एक तिहाइ जग्गा आज पनि बाँझो छ । पर्याप्त पानी नपर्दा तराई क्षेत्रका किसानले धान रोप्न पाएका छैनन् । रापेको खेतको धाँजा फाटेको छ । किसानले निधारमा हात राखेर पीडाबोध गरिरहेको दृश्य देखिन्छ । यो सबै सिँचाइ नहुँदा कृषिमा देखिएको समस्या हो । अब सिँचाइको सुविधाका लागि पूर्व पश्चिम नहर निर्माण गर्नुको विकल्प छैन ।’

सिँचाइमा जोड दिँदै मन्त्री भुसालले थपे, ‘सिँचाइ सुविधा बिना केही गर्न सकिँदैन्, अब पूर्व पश्चिम नहर बनाएर अगाडि जानुपर्छ । यस विषयमा मैले निरन्तर कुरा उठाइरहेको छु । देशका ठुला ठुला नदीबाट तराई र पहाडको चुरो क्षेत्र हुँदै पूर्व पश्चिम नहर बनाएर जान सके मात्र कृषिमा सोचेजस्तो परिवर्तन ल्याउन सकिन्छ ।’

देशको अर्थतन्त्रको मेरुदण्ड रहेको कृषि क्षेत्रको विकासको कुरा गर्ने तर सिँचाइको सुविधा पु¥याउन नसक्नु दुर्भाग्य भएको उनले बताए ।

साथै मन्त्री भुसालले चैते धानको उत्पादनमा जोड दिए । प्रमुख खाद्यान्न बाली धान रहेको हुँदा यसको विस्तारमा लाग्नुपर्नेमा उनको जोड थियो । भारतले चामल निर्यात रोकिसकेको भन्दै अब धानको उत्पादनलाई बढाउनुपर्ने र चैते धानको खेती तर्फ किसानलाई आकर्षित गर्नुपर्ने उनले बताए । विश्वमा खाद्यान्न सङ्कट बढ्दै गएको प्रसङ्ग निकाल्दै नेपालमा पर्याप्त खेतीयोग्य जमिन रहेको हुँदा खाद्यान्न सङ्कट आइनपर्ने बताए । खाद्यान्न सङ्कट आउन नदिन बाँझो जग्गाको उपयोग गरी सिँचाइमा लगानी लगाउनुपर्ने बताए । उत्पादन वृद्धिमा सँगसँगै बीउ विजन र रासायनिक मल पनि रहेको बताएर जमिन, सिँचाइ, बीउ र रासायनिक मल हुँदा मात्र कृषिको उत्पादन बढ्ने उनको तर्क थियो ।

मन्त्री भुसालले बाँझो जमिनलाई उपयोग गर्नुपर्नेमा जोड दिए । जमिनको चक्लाबन्दी गर्नुपर्ने भन्दै मन्त्रालयले सामूहिक र करार खेतीलाई प्राथमिकतामा राखेर काम अगाडि बढाएको बताए ।

मुलुकमा देखिएको अर्थतन्त्रको समस्या समाधान कृषि र पशुपालनको क्षेत्रबाट मात्र सम्भव भएको बताए ।