मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमालेले गृहमन्त्रीलाई संसदमा बोल्न दिने

एमालेले गृहमन्त्रीलाई संसदमा बोल्न दिने

अपि टाइम्स

काठमाडौं । सुन तस्करीबारे छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको प्रमुख प्रतिपक्षी नेकपा एमाले गृहमन्त्रीको जवाफ सुन्न तयार भएको छ ।

संसदको अवरोध हटाउनेबारे मंगलबार नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुबीच छलफल भएको थियो । बालुवाटारमा बसेको बैठकमा एमालेले सुन तस्करीको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने अडान दोहोर्यायो । तर प्रधानमन्त्री प्रचण्ड त्यसमा सहमत भएनन् ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भने सीआईबीको अनुसन्धानले पुगेन भने थप छानबिन गर्न प्रधानमन्त्री तयार रहेको बताए ।

एमाले सचेतक महेश बर्तौलाका अनुसार प्रहरीले गरिरहेको अनुसन्धानलाई निरन्तरता दिने गरी अरु छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउन प्रस्ताव गर्दा पनि सरकार तयार भएन । बरु सत्ता पक्षले गृहमन्त्री जवाफ दिन आउँदा पनि प्रमुख प्रतिपक्षले दिएन भन्ने भ्रम छर्न प्रयास गरेको उनले बताए ।

अहिले बाढी पहिरो लगायतका विषयमा सांसदहरुले सरकारलाई ध्यानाकर्षण पनि गराउनुपर्ने भएको भन्दै एमालेले आजको संसद बैठकमा आकस्मिक, शून्य र विशेष समय चलाउन दिन तयार भएको छ । यो बेला उपप्रधान तथा गृहमन्त्रीले सुन तस्करीबारे जवाफ दिए सुन्ने एमालेले बताएको छ ।

एमाले सचेतक बर्तौलाले भने, ‘उच्चस्तरीय छानबिन समिति गठन गर्छौं भन्ने आयो भने बैठक अगाडि जान्छ । त्यसो भएन भने हामी तस्करलाई संरक्षण गर्ने सरकारको रबैयाको विरोध गर्छौं र उच्चस्तरीय छानबिनको माग गर्छौं ।’

प्रतिनिधि सभाको बैठक आज दिउँसो तीन बजे बस्दै छ ।

एमालेले सरकारलाई सहयोग गर्नै उच्चस्तरीय छानबिनको माग गरेको र यो एजेण्डा नछाड्ने बताए । ‘सीआईबीको अनुसन्धानले अपराधबारे अनुसन्धान हुन्छ, योभन्दा बाहिर पनि अध्ययन गर्नुपर्नेछ’ उनले भने, ‘नेपाल तस्करहरुको स्वर्ग किन बन्दैछ रु तस्करको जालो समाप्त पार्न कानुनी, संरचनागत जटिलता के छ भनेर अध्ययन गर्नुपर्नेछ ।’ तर हरेक काण्डमा सरकारमा मान्छेहरु जोडिएकाले डराएको एमालेको आरोप छ ।