मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झकिझकाउ लुम्बिनीमा यसरी मनाइयो बुद्धजयन्ती

झकिझकाउ लुम्बिनीमा यसरी मनाइयो बुद्धजयन्ती

अपि टाइम्स

भैरहवा । बुद्ध जन्मस्थल लुम्बिनी बेहुलीझैँ सिङ्गारेर २५६७ औँ बुद्धजयन्ती एवं लुम्बिनी दिवस मनाइएको छ । लुम्बिनीलाई सजाएर झकिझकाउ बनाएर जयन्ती मनाइएको हो । बुद्धजयन्ती मनाउन यहाँ स्वदेश तथा विदेशबाट भिक्षु, भिक्षुणी, उपासक, उपासिका, अनुयायीहरुको बाक्लो सहभागिता रहेको थियो । आज शुक्रबार बिहानै शान्ति र्‍याली निकालिएको थियो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शान्ति र्‍यालीको शुभारम्भ गर्नुभयो । लुम्बिनी मायादेवी मन्दिर परिसर हुँदै शान्तिदीप, केन्द्रीय नहर हुँदै विभिन्न झाँकीसहित सम्मेलन केन्द्रसम्म र्‍याली गरिएको थियो । मूल समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उदघाटन गर्नुभयो ।

सो अबसरमा उहाँले मानव जातिको सर्वाङ्गीण हित र शान्तिका लागि बुद्धले गरेको त्याग, लिनुभएको विचार र अभ्यास नेपालीका लागि विशेष ऐतिहासिक गौरवका विषय भएको उल्लेख गर्नुभयो ।

समारोहमा लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, सांसदसहित कुटनीतिक नियोग, विदेशी पाहुनाको समेत सहभागिता रहेको सदस्यसचिव सानुराजा शाक्यले बताउनुभयो ।

शुक्रबार नै बुद्धको अस्तुधातु रहेको नवलपरासीको रामग्राममा अस्तुधातु यात्रा भएको छ । पण्डितपुरदेखि रामग्रामसम्म अस्तुधातु यात्रागरी बुद्धजयन्ती विशेष समारोहको आयोजना गरिने कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले बताउनुभयो ।