काठमाण्डौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध तल्लो सदन लोकसभामा दर्ता भएको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ ।
लोकसभाका अध्यक्ष ओम बिरलाले हिजो बिहीवार सदनको कारबाही समाप्त हुनुअघि केन्द्र सरकारविरुद्ध विपक्षी दलहरूले दर्ता गरेको अविश्वास प्रस्ताव अस्वीकृत भएको घोषणा गर्नुभएको बीबीसी हिन्दीले जनाएको छ ।
यसअघि अविश्वास प्रस्तावलाई लिएर लोकसभामा तीन दिनसम्म सत्तापक्ष र विपक्षका सांसदहरूले आफ्नो विचार राखेका थिए । प्रधानमन्त्री मोदीले जवाफ दिएपछि लोकसभाका अध्यक्षले अविश्वास प्रस्तावमाथि ध्वनि मतका आधारमा प्रस्ताव अस्वीकृत भएको घोषणा गरेका हुन् ।
हिजोको बैठकमा मोदीले आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने विपक्षी दलहरूको चर्को आलोचना गर्दै मणिपुर राज्यमा शान्ति कायम गराएरै छाडिने बताए । उनले मणिपुरमा महिलाहरूमाथि अक्षम्य अपराध भएको भन्दै दोषीलाई कडाभन्दा कडा सजाय दिलाउन केन्द्र र राज्य सरकार मिलेर काम गरिरहेको बताउनुभयो ।
मणिपुर राज्यमा भएको हिंसामा सरकारले अभिभावकीय भूमिका खेल्न नसकेको र देशमा निरङ्कुशता हाबी भएको भन्दै विपक्षीले मोदीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।
प्रतिक्रिया