पूर्वी नवलपरासी । पूर्वी नवलपरासीको दुम्कौलीस्थित शास्वतधाममा शनिबारदेखि सुरु हुने हनुमान कथा प्रवचनका लागि भारतस्थित बागेश्वर धामका आचार्य धीरेन्द्र कृष्ण शास्त्री काठमाडौं आइपुगेका छन् ।
चौधरी ग्रुपका निर्देशक वरुण चौधरीको निमन्त्रणामा आएका शास्त्री काठमाडौंमा रहेको चौधरीकैभिवान्त होटलमा बसेका छन् ।
शनिबार बिहान साढे ८ बजे भरतपुर विमानस्थल हुँदै उनी शाश्वतधाममा रहेको दुम्कौलीमा आउने छन् । त्यहाँ लगातार तीन दिन दिउँसो उनले हनुमान कथा वाचन गर्ने चौधरीग्रुपका प्रबन्धक रामचन्द्र धितालले जानकारी दिए । शाश्वतधाम परिसरमा त्रिपाल टांगेर सर्वसाधारका लागि बस्ने व्यवस्था मिलाइएको छ ।
शाश्वतधाम प्रवेशका लागि अनलाइन फर्म भरेर पास लिने व्यवस्था मिलाइएको छ । अनलाइन मार्फत भरिएको कार्डमा फोटो अनिवार्य गरिएको छ । फोटोसहित इमेलबाट प्रिन्ट गरिएको पासलाई आधिकारिक मान्ने बताइएको छ ।
हरेक दिन दिउँसो २ बजेबाट साँझ ५ बजेसम्म उनले कथा वाचन गर्ने बताइएको छ । पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा। घनश्याम खतिवडाका अनुसार शास्त्रीले शुक्रबार अपराह्न ४ बजे पशुपतिनाथ दर्शन गरेका छन् । पशुपतिनाथ मन्दिर दर्शनपछि शास्त्रीले सवा करोड दिप प्रज्वलन गरेको खतिवडाले जानकरी दिए । यो उनकै इच्छा अनुसार गरिएको हो । शुक्रबार साँझ साढे ६ बजेदेखि साढे ७ बजेसम्म मन्दिर परिसरमा हुने आरतीमा शास्त्री सहभागी थिए ।
शास्वतधाममा तीन दिनसम्म दैनिक करिब १० हजारले उनको कथा सुन्न सक्ने व्यवस्था मिलाइएको चौधरी ग्रुपको भनाइ छ । यसका लागि त्यहाँ सबै तयारी पूरा भएको पनि आयोजकले जनाएको छ । उनको प्रवचन सामाजिक सञ्जालबाट प्रत्यक्ष प्रशारण गर्ने तयारी गरिएको पनि आयोजकको भनाइ छ ।
प्रतिक्रिया