मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कप्तान रोहितले भने- बलिया देशसँग खेल्न उत्साहित छौँ

कप्तान रोहितले भने- बलिया देशसँग खेल्न उत्साहित छौँ

अपि टाइम्स

काठमाण्डौ । भारत र पाकिस्तानको समूहमा रहेर एसिया कप खेल्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले दुई अनुभवी देशसँग राम्रो क्रिकेट खेल्ने विश्वास व्यक्त गरेका छन् ।

एसिया कपको यात्रा शुरु हुनुअघि आज मङ्गलवार काठमाण्डौमा भएको पत्रकार सम्मेलनमा नेपाली क्रिकेट टोलीका कप्तान रोहितले दुई अनुभवी देश भारत र पाकिस्तानसँग राम्रो क्रिकेट खेल्ने विश्वास व्यक्त गरेका हुन् । आउँदो अगस्ट ३० मा पाकिस्तानसँग खेल्दै नेपालले एसिया कपमा डेब्यु पनि गर्दैछ । एसिया कपको तयारीका लागि नेपालले पाकिस्तानमा नै अभ्यास गर्नेछ । त्यसका लागि नेपाली टोली आज राति पाकिस्तान प्रस्थान गर्दैछ ।

कप्तान रोहितले क्रिकेटमा नतिजा यसै हुन्छ भन्न नसकिने उल्लेख गर्दै तयारीअनुरूपको प्रदर्शन गर्ने बताए । भारत र पाकिस्तानसँग खेल्दा विश्वकै नजर हुने भएकाले उनीहरूसँग आफ्नो उत्कृष्ट दिने उनको भनाइ छ । साथै सबै खेलाडी क्रिकेटको बलिया देशसँग खेल्न उत्साहित रहेको उनले बताए ।

पछिल्लो समय नेपाली क्रिकेट टोलीका भरपर्दा बलर सन्दीप लामिछानेले एसिया कप नखेल्ने समाचार बाहिरिएका छन् । उनले नखेल्ने भएपछि उनका समर्थक पनि सन्दीपको सहभागिता नहुने विषयलाई लिएर चासो व्यक्त गरिरहेका छन् । नेपालका कप्तान रोहितले भने सन्दीप खेल्ने वा नखेल्ने विषयमा आफूलाई कुनै जानकारी नभएको तर सन्दीपको महत्त्व सबैमाझ स्पष्ट रहेको बताए ।

क्यानका म्यानेजर प्रदीप मजगैयाँले पनि सन्दीपको सहभागिता नहुने विषयमा अहिले नै टुङ्गो लागिनसकेको बताए । उनले सन्दीपको स्वास्थ्यमा समस्या रहेको पनि दाबी गरे ।

नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले पछिल्लो समय भएका केही भ्रमणमा पनि सन्दीपको सहभागिता दुविधामा नै रहँदै आएको उल्लेख गर्दै उनी टोलीका च्याम्पियन खेलाडी रहेको बताए ।

समूह ुएु मा रहेको नेपालले दोस्रो खेल अर्को बलियो टोली भारतसँग सेप्टेम्बर ४ मा खेल्नेछ । त्यसका लागि नेपाल पाकिस्तानबाट श्रीलङ्का जानेछ । बलियो भारतसँगको खेलका लागि पनि नेपाली टोली तयारीमा रहेको कप्तान पौडेल र प्रशिक्षक देसाईको भनाइ थियो । कप्तान रोहितले विश्वकप छनोटमा टेस्ट राष्ट्र वेस्ट इन्डिजसँग खेलेकाले त्यहाँबाट धेरै कुरा सिकेको र त्यो भारत र पाकिस्तानसँगको खेलमा लागू गर्ने विश्वास व्यक्त गरे ।

नेपालले एसिया कपका लागि लामो समयदेखि तयारी गरिरहेको छ । वैदेशिक प्रशिक्षणसँगै घरमा पनि नेपालले तयारी गरिरहेको थियो । नेपाली क्रिकेट टोलीका प्रशिक्षक देसाईले भारत र पाकिस्तान अनुभवी राष्ट्र भए पनि उनीहरूसँग अन्तिम समयसम्म चुनौती प्रस्तुत गर्ने विश्वास व्यक्त गरेका छन् । पछिल्लो पाँचरछ महिनायता जित्ने मानसिकताका साथ प्रशिक्षण गरिरहेको उनको भनाइ छ ।