मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेशलाई अधिकार प्राप्ती नहुँदा कार्यान्वयनमा समस्याः मुख्यमन्त्री चौधरी

प्रदेशलाई अधिकार प्राप्ती नहुँदा कार्यान्वयनमा समस्याः मुख्यमन्त्री चौधरी

अपि टाइम्स

कपिलवस्तु। लुम्बिनी प्रदेश सरकारले संविधान दिवस मनाएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विविध कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाइएको हो ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संविधानले नृदिष्ट गरेका अधिकारहरु कार्यान्वयनमा नआउँदा जटिलता आइरहेको बताए । उनले संविधानले तोकेको अधिकार केन्द्रले प्रदेश र स्थानीय सरकारलाई अधिकार दिन नखोजेको बताए । यसले गर्दा संघीयता कार्यान्वयनमा समस्या रहेको तर्क मुख्यमन्त्री चौधरीको छ । संविधानमा लेखिएका अधिकार कार्यान्वयन प्रमुख विषय रहेको उनले बताए ।

उनले संविधान कार्यान्वयन गर्न केन्द्र सरकारले बाधा पु¥याइरहेको दावी गर्दै अधिकार बाँडफाँड संविधान अनुसार हुनुपर्ने र त्यो शिघ्र कार्यान्वयनमा जानुपर्ने बताए । ‘म आज पनि भन्छु, संघीयता फेल भयो भने, हाम्रो कारणले हुँदैन, त्यो केन्द्र सरकारकै कारणले हुन्छ’ उनले भने,—‘अधिकार बाँडफाँडमा संकुचित हुनुभएन, जे–जे लेखिएको छ त्यही अनुसार काम गर्न पाउनुपर्छ ।’ संविधान पूर्ण कार्यान्वयनको लागि संघीयता कार्यान्वयन पूर्ण हुनुपर्ने र त्यो अधिकारमा जोडिएको उनले बताए ।

संविधानमा सबैको भावना समेटिएको भन्दै उनले भाषा, धर्म, संस्कृतीको संरक्षण गर्ने, सबैखाले विभेदको अन्त्य गर्ने विषयमा संविधान उत्कृष्ट रहेको तर, यसको कार्यान्वयन सहज रुपमा हुन नसकेको तर्क गरे । उनले प्रदेश सरकारलाई अधिकार समपन्न गराउन केन्द्रसंग आग्रह समेत गरे । संविधान कार्यान्वयन गर्न सबै निकायहरू बिचमा समन्वय र सहकार्य हुनुपर्ने बताए । संविधान कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताए । तर, प्रदेशले गरेको प्रतिबद्धता पूरा गर्न केन्द्रको मुख ताक्नु पर्ने अवस्थाको अन्त्य हुनुपर्ने उनको भनाई छ ।

‘संविधानमा भएका अधिकारहरू चाँडै प्रदेशले प्राप्त गरोस् । सम्माननीय प्रधानमन्त्रीज्युलाई मेरो आग्रह छ, संविधानमा लेखिएका कुराहरू दिनलाई कहाँ कन्जुस्याँइ भएको छ रु’ उनले भने ‘अहिलेको संविधान यस्तो संविधान हो, हामीलाई गाली गर्न छुट छ । यो संविधान मान्दैनौँ भन्नेहरूलाई पनि यो संविधानले छुट दिएको छ ।’

अव विकासमा प्रतिष्पर्धा हुनु पर्छ, तव मात्रै संघीयताको महत्व बुझिन्छ भन्दै चौधरीले भने, ‘सात वटा प्रदेश मध्ये कुन प्रदेश अगाडि भन्ने बारेमा प्रतिष्पर्धा हुनुपर्छ’, उनले भने, ‘जनतासँग नजिक हुनको लागि यो संविधानले महत्वपूर्ण योगदान दिएको छ । भाषा र ठाउँलाई कसरी अगाडि बढाउने भन्ने कुरा पनि महत्वपूर्ण छ ।’

झाँकीसहितको उत्सव

प्रदेश सरकारले संविधान दिवसलाई उत्सवको रुपमा मनाएको छ । विभिन्न जातजातीका कला संस्कृती प्रदर्शन गरेर दिवस मनाइएको छ । थारु, मगर, अवधी समुदायको कलासंस्कृती प्रस्तुत गरिएको हो । महिलाहरुले पञ्चेबाजा बजाए भने, थारु महिलाहरुले झुमरा नाच प्रस्तुत गरेका छन् ।

अवधी कला संस्कृती अन्तर्गत बाजा बजाएर नाच प्रस्तुत गरिएको छ । राप्ती गाउँपालिका र गढवा गाउँपालिकाबाट झाँकी प्रस्तुत गरिएको थियो । यस्तै स्काउट विद्यार्थीहरूले झाँकी प्रस्तुत गरेर दिवसलाई उत्सवमय बनाए ।