काठमाडौँ । कपिलवस्तुको वाणगंगा नगरपालिकाका नगर प्रमुख निर्विवादित नगर प्रमुख होइनन् । पढेलेखेका र युवा भए पनि नगरबासीका समस्यामा त्यति संवेदनशिल हुन नसकेर आरोप खेपिरहेका नगर प्रमुख चक्रपाणी अर्याल अरुको कारण होइन आफ्नै अक्षमताका कारण विवादति भइरहने गर्दछन् ।
यसपटक पनि मेयर फेरि विवादमा तानिएका छन् । त्यो कारण हो प्रमुख प्रशासकीय अधिकृत नभएको मौका छोपी नगरलाई अलपत्र पारेर एउटा एनजिओको कार्यक्रमको निमन्त्रणामा भारत उड्नू ।
अहिले नगरमा प्रमुख प्रशासकीय अधिकृत छैनन् । नगरका मेयर अर्यालसहित केहि जनप्रतिनिधि र कर्मचारीको अनुचित दबाबका कारण प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल बाध्य भएर त्यहाँबाट निस्के । उनको सरुवा भएको आधा महिनाभन्दा बढी भइसकेको छ । त्यसपछि नगर निमित्तको भरमा चलिरहेको छ ।
जसका कारण सेवाग्राही मर्कामा परेका छन् । सेवाग्राहीका फाइल थुप्रिएर बसेका छन् । अपर्झट काम लिएर नगरमा जाने सेवाग्राही हाकिम नै नभएपछि चरम समस्यामा परेका छन् । हाकिम नहुँदा ठेक्कापट्टा, टेण्डर लगायतका काम हुन नसकेको स्वयम् इन्जिनियरहरु बताउँछन् ।
अर्कोतर्फ नगरमा धेरै समस्या छन् । छाडा पशु चौपायको नियन्त्रणमा असफल भएको पालिकामा अहिले कर बढेको छ । बिभिन्न शीर्षकमा नगरले ४० देखि २०० प्रतिशतसम्म कर बढाएपछि नगरवासी आक्रोशित छन् । सुविधा केहि पनि नदिने तर करले सर्वसाधारण ढाड सेक्ने नगरको नियतले नगरवासी मेयर अर्यालसंग असन्तुष्ट छन् ।चाडवाडको समयमा बजार अनुगमन लगायतको कामको सुरसार छैन । फोहर मैला ब्यवस्थापन प्रभावकारी छैन ।
बनेका पीच ३ महिना हुन नपाउँदै उप्किन्छन् र विग्रन्छन् । नगरवासीको गौरव बढाउने कुनै गौरवका आयोजनाका काम अघि बढ्न सकेको छैनन् । नगरको प्रमुख श्रोत खोलोको उत्तिकै दोहन छ ।
किसानलाई सन्तुलित ढंगबाट रासायनिक मल, बिउविजन वितरण लगायतका काम प्रभावकारी हुन नसक्दा मेयरमा अर्याललाई जिताएर गल्ती गरेको तिनै मतदाता बताउँछन् । कृषि, पशु, लगाउतको अनुदान वितरणमा झोले किसान र चाकडीवालको विगविगी रहेको बताइन्छ ।
वडा नम्बर ४ का असल युवा किसान नविन शर्माले अपि टाइम्ससंग भने- ‘नगरको कृषि अनुदान आसेपासे कार्यकर्ताको गोठ र बारीमा जाने गरेको छ । मसंग प्रमाण पनि छ । २ कट्टामा केरा खेती गरेका किसानले अनुदान पाउँछन् । मैले यति धेरै केरा खेती गरेको छु । म पछि झगडा गरेपछि बल्ल सानो हाते मेसिन पाएँ । नगरको कृषि अनुदान नगरका आसेपासेले मात्र पाउँछन् । बिउविजन लगायत सबै उनका कार्यकर्ताले पाएपछि बल्ल अरु सामान्य किसानले पाउँछन् ।’
नगरमा जति गुनासा भए पनि नगर प्रमुख अर्याल उत्कृष्ट नगरको पगरी गुथेर रमाउन छोडेका छैनन् । यस्ता समस्याका बीचमा पनि जनप्रतिनिधि र कर्मचारीको भाषणमा उत्कृष्ट नगर भन्ने शब्द कहिल्यै छुट्दैन ।
यी र यस्ता विषयमा संवेदनशिल बन भनेर बिभिन्न पार्टी, संघसंस्था र सरोकारवालाल ध्यानाकर्षण गराउँदा मेयरले टेरपुच्छर लगाउँदैनन् । समस्यै समस्यामा गुज्रको नगरका जनप्रतिनिधि र कर्मचारीको चुरीफुरीमा भने कत्ति कमि छैन ।
नगरको यस्तो कन्तविजोग हुँदा फेरि मेयर अर्यालसहितको टोली एनजिओको निमन्त्राणमा भारतमा घुमघाममा निस्किएका छन् । सिद्धार्थ सामाजिक विकास संस्थाको निमन्त्रणामा गोवा र मुम्बईको भ्रमणमा मेयर अर्याल, वडा नम्बर २ का वडा अध्यक्ष तथा नगर प्रवक्ता विष्णु पौडेल, नगरका प्रशासन अधिकृत तथा सुचना अधिकारी केशव भट्टराई सिद्धार्थको टोलीसंग विहिबार नयाँदिल्ली उडेका छन् ।
उनीहरुसंगै उडेका छन् डोनर सिद्धार्थ सामाजिक विकास संस्थाका अध्यक्ष सूर्यकुमारी शाही, पूर्व अध्यक्षद्धय तेज प्रसाद आचार्य, पोम नारायण पौडेल । साथै भ्रमणदलमा नगरका पुर्व वडा अध्यक्ष गुणनिधि भुसाल, ध्रुव बेलबासे पनि छन् ।
नगरप्रवक्ता पौडेलले पनि फेसबुकमा राखेका छन् ‘गोरखपुरबाट दिल्लीतर्फ लागियो ।’
पूर्व वडा अध्यक्ष बेलबासे, पत्रकार तथा सिद्धार्थका प्रतिनिधि हरि अधिकारी लगायतले सामाजिक संजालमा यस विषयमा पलपलमा अपडेट गराइरहेका छन् । भ्रमणको उद्धेश्य के हो त्यो भने प्रष्ट छैन । यस विषयमा बुझ्न खोज्दा प्रष्टसंग अपि टाइम्सले कुनै जानकारी पाएन । यद्यपी भ्रमणमा रहेका दुर्गा अर्यालले फेसबुक लाइभमार्फत् भारतमा एनजिओ र सहकारीसंग अन्र्तक्रिया कार्यक्रममा जान लागेको बताएका छन् । त्यो कति दिनको भ्रमण हो थाहा छैन श्रोतका अनुसार एक हप्ताको लागि उनीहरु उडेका छन् ।
‘एकातर्फ नगरमा हाकिम नभएको अवस्था अर्कोतर्फ मयेर, प्रवक्ता र सुचना अधिकारी नै घुमघाममा । यो पटक्कै शोभनीय भएन’, राष्ट्रिय स्वतनत्त पार्टीका नगर सभापति बुद्धिसागर बेलबासेले भने ‘नगर एनजिओले चलाउने हो कि नगरले एनजिओे । जनताका समस्यामाथि कहिल्यै संवेदनशिल नरहने नगरप्रमुख र कर्मचारीको यो पारा पटक्कै राम्रो भएन । हाकिम नै नभएको बेलामा मेयर किन जानुपर्यो एनजिओसंग भारत ।’
उनले थपे नगरबाट नगरवासी खुसी भएको, विकासको मूल फुटेको, छाडा पशु चौपाय ब्यवस्थापन भएको, कर नबढाएको इत्यादि भएको भए यस्ता विषयमा जनताको खासै चासो रहँदैनथ्यो । तर नगर नेतृत्व दिनदिनै असफल हुँदा मत दिएका मतदाताले नगरका एकएक कदममा चासो राखिरहेका छन् । यस्तै भइरहे अब जनता सडकमा उत्रनुको विकल्प छैन । नगर प्रमुखको टोली एनजिओको कार्यक्रममा धारो लगाएर जानु किमार्थ राम्रो होइन ।
सिद्धार्थले हरेक बर्ष जनप्रतिनिधि र कर्मचारीलाई देशविदेश घुमाउनुमा स्वार्थ लुकेको सरोकारवाला बताउँछन् । ‘नगरको रातो किताबमा हेर्ने हो भने नगरले हरेक बर्ष बिभिन्न तालिम, शशक्तिकरण लगायतका शीर्षकमा सिद्धार्थ सामाजिक विकास संस्थालाई करोडौँ रुपैयाँ छुट्याएको छ । यसपटक पनि सिद्धार्थको लागि यसैगरी बजेट विनियोजन छ । त्यसपछि सिद्धार्थले बिभिन्न तालिमहरु गर्छ, घुमघामको कार्यक्रम राख्छ । नगरले बजेट विनियोजन गरेबापत पुरस्कार र उपहारस्वरुप कहिले कमिसन दिन्छ, कहिले बिभिन्न तालिममा भत्ता, कहिले बिभिन्न भ्रमणमा राख्छ । यो भ्रमण पनि बजेट छुट्याई दिएबापत जनप्रतिनिधि र कर्मचारीलाई दिएको बक्सिस हो । होइन भने यस्ता समस्याका बीचमा मेयरजस्तो मान्छे हलुङ्गो भएर जानै पर्ने कुनै स्थिति पनि थिएन’, नगरको विकासमा चासो राख्दै निरन्तर खबरदारी गरिरहने रिखिराम भट्टराईले भने ।
नगर प्रमुखमा चुनाव लडेर पराजित भएका रविराज आचार्य पनि मेयरको कामबाट सन्तुष्ट छैनन् । उनले भने, ‘नगरकै उद्धेश्यमुलक भ्रमण कार्यक्रम छ भने जाने । जानै हुँदैन भन्ने होइन । एनजिओका यस्ता भ्रमणमा नगर प्रमुख जानै हुँदैन । एनजिओ र आइएनजिओले मुलुक बिगारेका छन् । डलर सक्दा उनीहरुले यस्तो कार्यक्रम गर्दछन् । मेयर अर्यालले फेरि पनि गल्ती गर्नुभयो । नगरका जोजो गए यो राम्रो भएन । न नगरमा राम्रोसंग काम गर्ने, न नगरवासी खुसी छन् । आलोचना हुन्छ भन्ने थाहा हुँदाहुँदै उनीहरु गएका छन् । मेयर अर्याल जनताका विषयमा संवेदनशिल देखिनुहुन्न । अब खबरदारीको आवश्यक छ । घुमघामकै लागि चुनाव जितेको हो भने मतदातालाई प्रष्ट भन्नुपर्यो ।
प्रमुख प्रशासकीय अधिकृत नभएको बेलामा मेयर पनि भारत जाँदा सेवाग्राही मर्कामा परेका छन् । हाकिम पनि नभएर नगर निमित्तको भरमा चल्नु र मेयर पनि नहुनु दुखद् भएको उनीहरुको भनाई छ ।
नगरका प्रतिनिधिसंग यस विषयमा बझ्दा केहि सिकाइको लागि भ्रमणमा निस्किएको बताइएको छ । नगरको नेतृत्वसंग चर्को असन्तुष्ट पालेर बसेका अर्का एक जना बुद्धिजिवीले आक्रोशित हुँदै भने ‘चक्र जिको यो भ्रमण उनले सिद्धार्थबाट पाएको उपहार हो । यहाँ कुनै उद्धेश्य छैन । यसो उसो गर्न हिँडेको भन्नु बाहना मात्रै हो । सहकारीको बारेमा सिक्न दोहा नै जानुपर्ने स्थिति छैन । यहाँका सहकारीलाई ब्यवस्थापन गर्ने, भरपर्दा बनाउने काममा नगरले ध्यान दिनुपर्दछ । यस्ता भ्रमणले कुनै अर्थ राख्दैनन् ।’
यसअघिका मेयर मंगल प्रसाद थारु पनि सिद्धार्थकै बिभिन्न भ्रमणमा गए । आलोचनापछि उनले पनि केहि सिकाइको लागि गएको भनेर तत्कालको लागि टारे । तर पछि उनले सिकेको केहि पनि कार्यान्वयनमा ल्याउन सकेका थिएनन् । उनको पालामा पनि सिद्धार्थले बजेट पाएको थियो ।
उसो त सिद्धार्थको कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीको टोली धारो लगाएर गई भत्ता बुझ्ने गर्दछन् । त्यहि भत्ता र भ्रमणको लागि नगरले बजेट बिनियोजन गर्ने गरेको अभियान्ता रिखिराम भट्टराईको आरोप छ । नगरका अरु सरोकारवालाले पनि यो सुचना थाहा पछि नगर प्रमुखको आलोचना गरेका छन् ।
प्रतिक्रिया