‘श्रद्धया पितृन् उद्दिश्य विधिना कृयते यत् कर्म तत् श्राद्धम् ।’ – निर्णयसिन्धु
श्रद्धाको उद्देश्य राखेर पितृ प्रति गरिने कर्म नै श्राद्ध हो । धर्मग्रन्थहरुमा गृहस्थीहरुको लागि देवकार्य भन्दा पनि श्रद्धापूर्वक पितृकार्य अनिवार्य गरेको पाईन्छ । त्यहि भएर नै हरेक देवकार्य गर्नुभन्दा पहिला पितृकार्य गर्नैपर्ने व्यवस्था गरेको पाइन्छ । कर्मकाण्डमा कुनैपनि सानो पूजा होस् या ठूलो यज्ञ गर्दा अनिवार्य नान्दीमुख श्राद्ध गर्ने व्यवस्था छ त्यो नै गृहस्थीलाई पितृकर्म अनिवार्य रहेको प्रमाण हो । तसर्थ गृहस्थीले आफ्ना पितृहरुको श्रद्धापूर्पक स्मरण गरी जल, तर्पण, पिण्डदान आदि श्राद्धकर्म गर्नुपर्छ । श्राद्धकर्म सबै गृहस्थीका लागि अनिवार्य हो । श्राद्ध गर्नाले गृहस्थीलाई लाभ हुन्छ । आफ्नो सन्तानद्वारा श्रद्धापूर्वक गरिएको श्राद्धकर्मद्वारा तृप्त भएका पितृहरुका प्रसादले घरमा धनधान्य पशुचौपाया सन्तान आदिद्वारा लाभ प्राप्त भई जीवन आनन्दमय हुन्छ र यो लोक एवं परलोकमा आनन्द मिल्दछ ।
श्राद्ध कति प्रकारका हुन्छन्
शास्त्रमा ९६ प्रकारका श्राद्धको व्यवस्था रहेको पाइन्छ । तरपनि हामिहरुले धेरैजसो गरिने श्राद्ध चार प्रकारका छन् । १. नान्दीमुख श्राद्ध, २. सपिण्डि श्राद्ध, ३. एकोदिष्ट श्राद्ध, ४. पार्वण श्राद्ध
१. नान्दिमुख श्राद्ध – कुनैपनि यज्ञपूजा भन्दा पर्व गरिने श्राद्धलाई नान्दिमूख श्राद्ध भनिन्छ । यो पिण्ड बिना गरिने श्राद्ध हो । यसमा केवल पितृको आवाहन, पूजन र सीधा दानादि पूर्वक गरिन्छ ।
२. सपिण्डी श्राद्ध – यो श्राद्ध पिण्ड सहित गरिने श्राद्ध हो । व्यक्तिको मृत्यु पश्चात १२औं दिनको दिन पितृृ, पितामह प्रपितामह र प्रेतस्वरुपम मृतकलाई गरी चारवटा पिण्ड दिइन्छ र प्रेतपिण्डलाई पिता, पितामह र प्रपितामहको पिण्डमा मिलाएर पितृलोकमा प्रवेश गराइन्छ र यो कर्ममा सिधा दान पनि गरिन्छ ।
३. एकोदिष्ट श्राद्ध – यो श्राद्ध पिता अथवा माताको मृत तिथिमा हरेक वर्ष गरिन्छ जसमा तर्पण, सिधा दान, पिण्डदान इत्यादि कर्म गरेर सम्पन्न गरिन्छ । यो श्राद्धमा एक पिण्डको मात्र विधान रहेको पाइन्छ ।
४. पार्वण श्राद्ध – हुन त पार्वण श्राद्धको धेरै भेदहरु रहेको पाइन्छ एकपार्वण, द्विपार्वण, त्रिपार्वण तरपनि हाम्रो समाजमा महालय (पितृपक्ष) मा द्विपार्वणक श्राद्ध गर्ने प्रचलन अधिक रहेको पाइन्छ । यसैलाई पार्वण श्राद्ध भनेर पनि बुझिन्छ । जुन श्राद्धमा सपत्निक पिता, पितामह, प्रपितामह, साथै सपत्निक मातामह, प्रमातामह र बृद्धप्रमातामहहरुलाई गरी ६ वटा पिण्डदान दिएर गरिन्छ । यसमा पनि तर्पण सिधादान इत्यादि कर्म गरिन्छ । जुन कर्म आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म या भेदले भाद्रशुक्ल पूर्णिमा देखि आश्विन कृष्ण अमावश्या सम्म गरिन्छ ।
श्राद्ध कुन समयमा गर्ने ?
ऋामश्राद्धं तु पूवान्हे एकोदिष्टं च मध्यतः ।
पार्वणं चापरान्हे तु प्रातर्वृद्धिनिमित्तकम् ।।
नान्दिमुख श्राद्ध प्रातःकालमा एकोदिष्ट श्राद्ध मध्यान्हकालमा र पार्वण श्राद्ध अपरान्ह कालमा गर्नेकुरा धार्मिक ग्रन्थहरुमा उल्लेख गरेको पाइन्छ ।
अहिलेको वर्तमान कालमा धेरैजसो श्राद्धहरु समयमा हुने गरेको पाइन्न कतिपय अवस्थामा श्राद्धकर्ताको समय अभावको कारणले यस्तो हुन्छ दैनिक कामको व्यस्तता, रोजगारी, व्यापार, एवं शारीरिक समस्याका कारण पनि यस्तो अवस्था आएको हुन्छ भने कहिँ श्राद्ध गराउने ब्राह्मणको अभावले पनि यस्तो भएको पाइन्छ । धर्मग्रन्थमा आपत्तिकाले मर्यादा नास्ति भन्ने वचन पाइन्छ भने समय या ब्राह्मणको अभावले गर्दा श्राद्ध छोड्नु भन्दा पनि तिथि प्रारम्भ भएपछि आफु अनुकुल समयमा भएपनि श्राद्ध गर्नु नै पर्छ श्राद्ध लोप गर्नु हुदैन भन्ने मेरो बुझाइ छ ।
श्राद्धमा कर्ता र ब्राह्मणले पालन गर्नुपर्ने नियमहरु
श्राद्धमा ब्राह्मण र कर्ता दुबै शुद्ध एवं सात्विक हुनुपर्छ । श्राद्धमा कर्तालाई अगिल्लै दिनदेखि शुद्ध र सात्विक हुनको लागि नै एकछाकिको विधान रहेको पाइन्छ । श्राद्धभन्दा पहिलो दिन नै मुण्डन गर्नुपर्ने एकपटक मात्र सात्विक भोजन गर्नुपर्ने ब्रह्मचर्यमा रहनुपर्ने, अर्काको अन्न खान नहुने, यज्ञोपवित फेर्नुपर्ने, यात्रा गर्न नहु्ने इत्यादि नियमहरु पालनगर्नुपर्ने विधानमा उल्लेख छ भने श्राद्ध गराउने ब्राह्मण पनि सात्विक भोजन गर्नेवाला , ब्रह्मचर्यको पालन गर्नेवाला, मासु, ध्रुम्रपान, मध्यपान नगर्ने, ज्ञानी, शास्त्र पारायण गर्ने, वेद अध्ययन गर्ने, नियमित सन्ध्योपासन गर्ने, धर्मपरायण हुनुपर्ने नियमहरु शास्त्रमा उल्लेख गरेको पाइन्छ । बरु बिना ब्राह्मण कुश राखेर मात्र भएपनि श्राद्धगर्नु तर मुर्ख ब्राह्मण नपुज्नु भनेर धर्म ग्रन्थहरुमा उल्लेख गरेको पाइन्छ ।
विना बिप्रेण कतव्र्यं श्राद्धं कुशचटेन वै ।
न तु बिप्रेण मूर्खेण श्राद्धं कार्यं कदाचन ।। – देविभागवत्
ब्रह्मकर्म परिभ्रष्टो मांस भोक्ता च मद्यपः ।
उच्छृङ्खलस्वभावो यः शास्त्राध्ययनवर्जितः ।। गरुणपुराण
पितरो वाक्यमिच्छन्ति भावमिच्छन्ति देवता भन्ने वचनबाट पनि राम्रो पढेको ब्राह्मणहरुबाट नै श्राद्धकर्म गर्नुपर्छ भन्नेकुरा पनि स्पष्ट हुन्छ ।
के श्राद्ध गर्नैपछ ?
गृहस्थले देशकाल परिस्थिति र आफ्नो सामथ्र्य अनुसार पितृकर्म श्राद्ध गर्नैपर्छ । पतन्ति पितरो ह्योषां लुप्तपिण्डोदक क्रियाः । गीता यो वचन अनुसार पनि पितृकर्म अवश्य गर्नुपर्ने नगर्दा पितृहरुको पतनहुनेकुरा बुझ्न सकिन्छ । तसर्थ श्राद्ध गर्न असमर्थ भए सिधादान गर्ने, त्यो पनि नसके गौसेवा गर्ने, त्यो पनि नसके दुबै हात उठाएर पितृको स्मरण गर्ने गर्नाले पनि श्राद्धकर्म पूर्ण हुनेकुरा शास्त्रमा उल्ल््लेख गरेको पाइन्छ । राजसेवामा रहेकाहरुले प्रतिनिधिद्वारा पनि श्राद्ध गराउन सक्छन् भन्ने प्रमाण शास्त्रमा छ ।
राजकार्ये नियुक्तस्य बन्धनिग्रहवर्तिनः ।
व्यसनेषु च सर्वेषु श्राद्धं विप्रेण कारयेत् ।। (इति स्कान्दे निर्णयसिन्धु चुरामणि ८०५ धर्मसिन्धु सुधा ७३६
नसक्नोती स्वर्य कर्तुं यदा ह्यनवकासतः ।
श्राद्धं शिष्येण पुत्रेण तदाऽन्येनापि कारयेत् ।। (हेमाद्रौ वराहोक्ति धर्मसिन्धुसुधाविवृति ७२१)
आफुले नसक्दा शिष्यद्वारा, पुत्रद्वारा या अन्यवाट पनि श्राद्ध गराउन सकिने कुरा उल्लेख छ । तसर्थ कुनै न कुनै प्रकारबाट श्राद्ध गृहस्थीले अवश्य नै गर्नु पर्दछ ।
तिथि रोकिएमा कहिले गर्ने ? पितामह आदिको तिथिमा महालय श्राद्ध गर्ने कि नगर्ने ?
जुठो सुतक परे वा भुलवस महालय श्राद्ध रोकिए मा अष्टमी, द्वादसी या अमावश्या तिथिमा गर्ने त्यसपछि पनि रोकिएमा मंसिर संक्रान्तिसम्म भरणी नक्षत्र व्यतिपात योग औंसी, अष्टमी, एकादसी, द्वादसी इत्यादि तिथिमा गर्नु पर्दछ । पूर्णिमा श्राद्ध र चतुदर्शी श्राद्धपनि अष्टमी,, द्वादसी र औंसीमा गर्नुपर्दछ । चतुर्दशीमा केवल शस्त्रादिबाट मृत्युभएकाहरुको मात्र श्राद्ध गर्नुपर्दछ । पिताको मृत तिथिमा नै महालय श्राद्ध गर्नुपर्ने विना आशौच तिथि बदल्नु हुन्न भन्ने प्रमाण कात्यायन मतमा रहेको पाइन्छ । या तिथिर्यस्य मासस्य मृताहेतु प्रर्वतते ।
सा तिथि पितृपक्षतु पूजनिया प्रयत्नतः ।।
तिथिच्छेदो न कर्तव्यो विना शौचं यदृच्छयाः ।
पिण्डश्राद्धं च कर्तव्यं विच्छित्तिं नैव कारयेत् ।। – कात्यायन मत
यस्तो नियम रहेको हुँदा जुन तिथिमा पिताको मृत्यु भएको हो त्यहि तिथिमा नै गर्नु पर्दछ ।
श्राद्धमा तुलसी, सयपत्री, चम्पक,, तिल, फूल, आदि अर्पण गर्नु र प्राकृतिक भमिमा गर्नु , नेपाल कम्बल, चाँदीको भाडा, कुश, तील, गाइको दूघ ध्यूको प्रयोग महको प्रयोग र नाती (छोरीको छोरा) लाई अवश्य आमन्त्रण गर्नुपर्दछ ।
अस्तु ।
प्रतिक्रिया