मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोशी ग्यास उद्योगको सिल प्याक सिलिन्डर रित्तो 

कोशी ग्यास उद्योगको सिल प्याक सिलिन्डर रित्तो 

अपि टाइम्स

विराटनगर । कोशी ग्यास उद्योगको सिल प्याक सिलिन्डर रित्तो पाइएको छ । मोरङको बुढिगंगास्थित कोशी ग्यास उद्योगबाट बजारमा बिक्रीका लागि लगिएको सिलप्याक सिलिण्डरमा ग्यास नै नभएको पाइएपछि उक्त उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ ।

सो उद्योगलाई आइतबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले दुई लाख रुपैयाँ जरिवाना गराएको हो । बूढीगंगा गाउँपालिका–४, नेमुवास्थित कोशी ग्याँस उद्योगले बिक्रीका लागि लगेको ग्याँस विराटनगर–९ ट्राफिक चोक घर भएकी अञ्जना सिंहले खरिद गरेकी थिइन् ।

सिलप्याक सिलिन्डरमा १४ केजी २ सय ग्राम ग्याँस हुनुपर्ने हो । तर, कोशीको १५ केजी ४ सय ग्रामको सिलिण्डरमा ग्याँस नै नभरेको भेटिएको वाणिज्य कार्यालयले जनाएको छ ।

उपभोक्ता सिंहले विराटनगरस्थित कोशी ग्याँसको डिलर न्यू हिमाल मार्केटिङ्गबाट ग्याँस खरिद गरेको हो । डिलरबाट ग्याँस डुलाउने चौधरीसँग आफूले ग्याँस लिएकी सिंहले सिलिण्डर जोड्न खोज्दा ग्याँस नभएपछि अचम्मित भएको बताइन् ।

सिलप्याक सिलिन्डरमा ग्याँस नभएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले उद्योग निरीक्षण गरेको थियो । कार्यालयका प्रमुख हितेश बस्नेतसहितको टोलीले आइतबार उद्योगको निरीक्षण गर्दा कैफियत भेटिएपछि दुई लाख रुपैयाँ जरिवाना गरेको हो ।

उपभोक्ता संरक्षण ऐन अनुसार कोशी ग्याँस उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना गराएको बस्नेतले बताए । ग्याँसमा उपभोक्तामाथि ठगी भइरहेको देखिएको वाणिज्य कार्यालयले जनाएको छ ।

उपभोक्ता सिंहले कोशी ग्याँसबाट आफूजस्ता धेरै उपभोक्ता ठगिएको हुनसक्ने बताइन् ।

डिलर सञ्चालक केशव श्रेष्ठले उद्योगबाट आएको सिलप्याक ग्याँस आफूले बिक्री गरेको बताएका छन् । कोशी ग्याँस उद्योगका प्रबन्धक सचितकुमार उपाध्यायले उद्योगबाट सही तरिकाले सिलिण्डर पठाइएको दाबी गर्दै डिलरमा गइसकेपछि जिम्मा लिन नसक्ने बताए ।

उद्योगमा भएका सिलिण्डर सही अवस्थामा रहनु र बाहिर पठाइएकोमा ग्याँस नभएको कुरा आउनुले आफूहरु पनि अचम्ममा परेको उनको भनाइ छ ।