मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वाणगंगामा कति आयु लिएर आए नयाँ हाकिम मरासिनी ?

वाणगंगामा कति आयु लिएर आए नयाँ हाकिम मरासिनी ?

अपि टाइम्स

कपिलवस्तु । करिब डेढ महिनाको रिक्ततापछि बाणगंगा नगरपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत पाएको छ । प्रमुख प्रशासकीय अधिकृत टिक्नै नसक्ने समस्याले ग्रसित भएको वाणगंगामा भक्तिराम मरासिनी नयाँ हाकिमको रुपमा आएपछि वाणगंगाको रिक्तता पुरा भएको हो ।

बिभिन्न पालिकाको अनुभव र नेपालका बिभिन्न प्रशासनिक क्षेत्रमा अनुभव बटुलेका कर्मचारीको रुपमा चिनिन्छन् प्रमुख प्रशासकीय अधिकृत मरासिनी । नयाँ हाकिम मरासिनीलाई नगर उपप्रमुख रिता चौधरी, निमित्त प्रमुख रहेका निमित्त प्रशासकिय अधिकृत राजकुमार तिवारी, शिक्षा शाखा प्रमुख खिम बहादुर जिसी, कर्मचारी लगायतले सामेबार स्वागत गरेका थिए । यसअघि मरासिनी सुनवल नगरपालिकामा थिए ।

करिब डेढ महिना अघि खिमानन्द भुसालले नगर छाडेका थिए । त्यसपछि शिक्षा शाखा प्रमुख खिम बहादुर जिसीले निमित्त भएर प्रशासन चलाए । यो बीचमा नगर प्रमुख चक्र अर्यालले काठमाण्डौँ आएर हाकिम खोजेका थिए । उनी काठमाण्डौँ आएर फर्केको एक हप्तापछि नगरले हाकिम पाएको हो । नगरप्रमुख अर्यालले ३ पटक मन्त्रालयमा गएर डेलिगेशन दिएका थिए ।सरोकारवालाले भने नयाँ हाकिम मरासिनीको आयु अब कति दिन या महिनाको हो ? भनेर ब्यङ्ग्यसमेत गर्न सुरु गरेका छन् ।

हाकिम टिक्नै नसक्नु वाणगंगाको प्रमुख समस्या हो । नगरमा अनुभव भएका थुप्रै क्षमतावान् हाकिमहरु आए पनि टिक्न नसक्दा नगरमाथि नै प्रश्न चिन्ह खडा हुन थालेको छ । एक समय त ३३ महिनामा हाकिम फेरिने रोग नै लागेको थियो । पछिल्लो समय करिब १ बर्ष टिके भुसाल । उनको बस्ने इच्छा हुँदाहुँदै पनि यहाँ भित्रको लफडाका कारण भुसालले छाडेको आन्तरिक श्रोत बताउँछ ।

बाणगंगामा हाकिम टिक्न नसक्नुको मुख्य कारण वाणगंगा नदी र यसको ठेक्का पट्टा नै रहेको त्यहाँका बुद्धिजिवी र पत्रकार बताउँछन् । लामोसमयदेखि वाणगंगामा जरा टेकेर बसेका केहि पुराना कर्मचारी, स्वयम् नगरप्रमुख र केहि वडा अध्यक्ष पनि हाकिम टिक्न नसक्नाका कारण रहेको जनतइतरमा भनाइ छ ।

यो समस्याबारे कर्मचारी र जनप्रतिनिधिमा फरकफरक भनाइ छ । कर्मचारीले जनप्रतिनिधिलाई कारण भन्छन् भने जनप्रतिनिधिले कर्मचारीमाथि दोष थोपर्छन् । त्यहाँका जनप्रतिनिधिले हाकिमहरु आफ्नै रुची र स्वार्थको कारण भाग्ने गरेको बताउँछन् । जनप्रतिनिधि र हाकिमको कुरा नमिल्दा भएको रिक्तताले भने सेवाग्राहीले समस्या भोगिररहेका छन् ।