मिडिया, वस्तुपरक ढंगले यथार्थ परिस्थितिको उजागर गर्ने, सुचनाहरुको विश्लेषण र जनतासामु जानकारी हरु प्रस्तुत गर्ने एक सशक्त माध्यम हो । परिवर्तनशिल जीवनको दर्शन पत्रकारिताबाट मात्रै सम्भव छ ।
संविधानले पुर्ण प्रेस स्वतन्त्रमा सुनिश्तिता गरेको छ । यसले पत्रकारहरुलाई सरकारी गतिविधिहरुको बारेमा अध्ययन गर्ने, सहि सुचना जनता सम्म पुर्याउने, खराब गतिविधिमा झक्झक्याउने र विरोध गर्ने पुर्ण अधिकार प्रदान गरेको हुन्छ, जसले गर्दा सरकार लाई खबरदारी र जनता प्रति जवाफदेही हुन प्रेरित गर्दछ र समाजमा सु–साशन, सु–समृद्धि, र विकास निर्माणले गति लिन सक्दछ ।
पत्रकारीता एउटा सार्वजनिक सेवा हो भन्ने कुरा पनि बुझ्न जरुरी हुन्छ । किनकी यसले समाजलाई असर गर्ने महत्वपुर्ण घटनाहरु को उजागर गर्न, बिकासको बारेमा जनतालाई सजग गराउन महत्पुर्ण भु्मिका खेलेको हुन्छ ।
सरकार, जनप्रतिधि र सार्वजनिक पद धारण गरेको व्यक्ति मिडियाबाट जहिले पनि प्रशंशा चाहन्छ तर मिडिया जहीले पनि सरकार, प्रशासनिक निकाय प्रति आलोचनात्मक बन्दै सहि कुराको समर्थन गर्न चाहन्छ । यसर्थ आलोचना गरिरहँदा पत्रकार र सरकारबिच सामन्जस्यता नदेखिनुलाई सकारात्मक रुपमा लिनु पर्दछ । पत्रकारीताको धर्म सही सुचना सम्प्रेषण गर्नुं, गलत राजनीतिक, प्रशासनीक र समाजमा हुने आपराधिक कामलाई आमजनताको माझ उजागर गर्नु र झक्झक्याउनु हो । यसको लागि स्वतन्त्र विचारको र राजनीति दलमा नलागेको पत्रकारले मात्रै सही पत्रकारीताको भुमिका खेल्न सक्दछ । मिडियाले सरकारको काम कार्वाहीमा आलोचनात्मक ढंगले आफुलाई प्रस्तुत गर्न सकेन भने समाजका गलत क्रियाकलापहरु मौलाउंदै जाने र त्यसले अन्ततः समाजलाई गलत दिशातर्फ डोर्याउन सहयोग गर्दछ । तसर्थ पत्रकारीता पेशामा स्वतन्त्र र जनमैत्री विचारलाई प्राथमिकतामा राखेर सुचना सम्प्रेषण गर्नु नै पत्रकारको प्रमुख कर्तव्य हो ।
सरकार तथा जनप्रतिनिधिले पनि पत्रकारको सकारात्मक आलोचनालाई सकारात्मक ढंगले ग्रहण गर्न जरुरी हुन्छ । जनप्रतिनिधिलाई जनताले नै चुनेर जनताकै सेवा प्रवाहमा ध्यान दिने छन्, विकास निर्माण को कामले तिब्रता पाउने छ भन्ने पुर्ण आशा सहित निर्वाचित गराएका हुन्छन् । लोकतान्त्रिक व्यवस्थामा जनता नै सर्वेसर्वा हुने, कसलाई टुप्पोमा पुर्याउने की फेँदमा यसको पुर्ण अधिकार जनतासंग रहेको हुँदा पदमा पुगिसकेपछि जनसरोकारको बिषयलाई व्यवस्था गरेमा फेरी यसको क्षतिपुर्ति जनताले असुल्नेछन् भन्ने कुरामा जनप्रतिनिध सजग हुन जरुरी हुन्छ ।
जनताले पनि के बुझ्न जरुरी छ भने कुनै एक पत्रकारले गलत कुरालाई गलत भन्न नसक्ने र कसैको चाकडीबाजीमा समाचार सम्प्रेषण गर्ने गर्यो भने बास्तविक गल्ति ढाकछोप हुने, गलत लाई सही भनिएका समाचारहरु जनतासामु प्रसारण हुने जसले गर्दा जनताले नै चुनेर पठाएका जनप्रतिनिधि, कार्यरत कर्मचारी, र आसेपासे व्यक्तिहरु जनताकै करमा मोजमस्ती गर्ने, आपराधिक गिरोहसंग साँठगाँठ र मिलेमतोमा समाजको श्रोत सम्पदा दोहन गरिरहने त्यसले निश्चित व्यक्तिलाई त्यसको प्रत्यक्ष लाभ हुने तर जनतालाई शिक्षा, स्वास्थ्य, यातायात, भौतिक पुर्वाधार सडक, ढल जस्ता आधारभुत आवश्यकताको कुराहरुमा सधैं ओझेलमा राखेर खस्किंदो जन जीवन भोग गर्नुपर्ने, साथै विकास निर्माण र सु–शासन, समृद्धिको परिवर्तन र अनुभव गर्न कहिल्यै नपाउन सक्ने अवस्था सृजना हुन सक्दछ ।
सही कामको समर्थन गरौं गलत कामको खुलेर बिरोध गरौं । अहिलेको केही युवा पुस्ता कुनै जनप्रतिनिधि संगको मिलेमतोमा अभिप्रेरित भएर आर्थिक र पदिय लोभको कारण २, ४ जना व्यक्तिको हितमा गलत सुचना सम्प्रेषण गर्दा लाखौं, करोडौं जनतामा त्यसको प्रत्यक्ष नकारात्मक असर हुने भन्ने कुरामा बुद्धिजीवि बर्ग सचेत र सजग हुन जरुरी छ ।
देशमा बढ्दो भ्रष्टाचार, अनियमितता व्यथितिले समग्र देशको आर्थिक, राजनीतिक र प्रशासनिक काम कार्वाहीमा प्रश्न चिन्ह खडा गरिरहेको अवस्थामा यसैको सिकोको रुपमा स्थानीय तहमा बढ्दो रुपमा व्यथिति मौलाईरहेको अनुभव हामी गर्न सक्दछौँ । स्थानीय तहलाई पुर्णरुमा गुणस्तरिय र प्रभाकारी सेवा प्रवाह गर्ने सम्बन्धमा कहिंकतैबाट पनि हस्तक्षेप नभएको वर्तमान अवस्थामा साथै संविधानले स्वतन्त्र ढंगले पुर्ण अधिकार प्रदान गरेको अवस्थामापनि खर्चिलो चुनाव, गलत सल्लाहाकार को प्रभाव र जन प्रतिनिधिमा प्रशासनिक क्षमता, कुशलता र दक्षता नहुनु ले जनप्रतिनिधिको काम कार्वाहीको प्रभावकारितामा पुर्णरुपमा प्रश्न चिन्ह खडा गरेको वर्तमान अवस्था रहेको छ । कसैको दबाब र प्रभावमा नरही स्वतन्त्र ढंगले जनता संग प्रत्यक्ष सरोकोर रहेको बिषयमा सेवा प्रवाह गर्न चुकिरहेको वर्तमान अवस्था छ । तसर्थ यस्तो अवस्थालाई अन्त्य गर्नको लागि सरकार, स्थानीय तह सार्वजनिक पद धारण गरेको व्यक्ति, जनप्रतिनिधि र प्रशासनलाई दबाब दिनु र सत्य तथ्य जानकारी जनतासामु पुर्याउनु पत्रकारको धर्म हो ।
प्रतिक्रिया