मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वाणगंगाका सटरहरुमा धमाधम भोटेताल्चा, कारण कोरोना कि महंगो घरभाडा ?

वाणगंगाका सटरहरुमा धमाधम भोटेताल्चा, कारण कोरोना कि महंगो घरभाडा ?

अपि टाइम्स

तस्वीरः अर्जुन पोख्रेलको फेसबुक

कपिलवस्तु । करिब १ लाख जनसंख्या भएको वाणगंगा नगरपालिकाको सबैभन्दा व्यस्त बजारका रुपमा चिनिने चार नम्बरमा आजभोलि गएर हेर्ने हो भने धेरै सटरहरु बन्द रहेको अवस्थामा देखिन्छन् । धेरै सटरहरुमा भोटेताल्चा लगाएर सटरहरु भाडामा भन्दै सम्पर्क नम्बरसहित बोर्डहरु राखेको देखिन्छ । नेपालगंज रोडदेखि पश्चिमतिर बढी सटर खाली देखिन्छन् भने चानम्बरसहित ओदारी, वनगाई, बैरिया र पिपरामा पनि यसैगरी व्यवसायिक सटरहरुमा भोटेताल्चा लगाएको देखिन्छ ।

अरु स्थानको तुलनामा चार नम्बर नगरकै केन्द्र मात्र होइन जिल्लाकै महत्वपूर्ण सहर पनि हो । भौतिक पूर्वाधारको हिसाबले पनि चार नम्बर अरु स्थानभन्दा विकसित भएको बजार क्षेत्र हो । अधिकांस वित्तिय संस्था (बैङ्क, सहकारी, लघुवित्त) पनि चार नम्बर वरिपरि नै छन् । उद्योगी व्यवसायिका अधिकांस नेता र तिनीहरुको ब्यापार पनि यहि क्षेत्रमा छ । चार नम्बर यसरी विकास भइरहेको थियो कि कुनै समय बुटवल लगायतका ठाउँबाट ब्यापार गर्न यहि ठाउँ रोजाइमा पर्ने गर्दथ्यो ।

एक समय सटरहरु पाउनै मुस्किल थियो चार नम्बरमा । पाए पनि निकै महंगोमा सटरहरु जान्थे । चाडपर्व आउँदा पनि एक महिनाअघिदेखि नै यहाँ निकै भीँडभाड हुने गर्दथ्यो । चार नम्बरमा व्यवसाय गर्न पाउँदा व्यवसायी पनि उत्त्सहित हुन्थे । तर यहि महत्वपूर्ण स्थानमा नै धेरै सटर खाली हुँदै गइरहेका छन् । सटरमाथि ब्यवसायका बोर्ड मात्रै झुण्डिएका देखिन्छन् । व्यवसाय गरेर बसेकाहरु पनि अहिले चरम निरासा र समस्यामा छन् । चाडबाडमा पनि कुनै रौनक देखिन्न ।

बिभिन्न बजार क्षेत्रका सटरहरुमा धमाधम भोटेताल्चा लगाएर व्यवसायी पलायन भइरहेका छन् । वडा नम्बर ११ ओदारीका करिब १५ व्यवसायी विदेश पलायन भएका बताइएको छ भने चारनम्बर, बनगाई, गजेहडा लगायतका कतिपय ब्यापारी ब्यवसाय बन्द गरेर विदेश जाने सुरसारमा रहेको बताइएको छ ।

श्रोतका अनुसार वाणगंगामा ३० देखि ७५ प्रतिशतसम्म ब्यापार खस्केको छ । सुनचाँदी, मेडिकल, किराना पसलबाहेका अरु सबै व्यवसाय करिब धरासयी बनेको स्वयम् ब्यापारीहरु बताउँछन् । सबैभन्दा ब्यापार घट्नेमा इलेक्ट्रोनिक्स र हार्डवेयर छन् । अन्य स्थानको तुलनामा चार नम्बरमै यसरी सटर बन्द हुनुले राम्रो सन्देश नदिएको तिनै ब्यापारी बताउँछन् ।

यस्तो किन भयो त ?

यसो हुनुको पछाडी धेरै कारण छन् । कोरोना कहर, महंगो सटरभाडा, व्यवसायिप्रति अनुदार स्थानीय सरकार र वाणिज्य संघहरु, अनावश्यक कर, व्यवसायिमा भएको अस्वस्थ प्रतिस्पर्धा, खुलासिमाना, झोलेपोके ब्यापारीको विगविगी, लगायतका कारण चार नम्बरमा सटरहरु खाली हुन थालेको सरोकारवाला बताउँछन् ।

चार नम्बरमा लामोसमयदेखि साइकलको ब्यापार गर्दै आएका सरु साइकलका प्रोपाइटर विष्णु घिमिरे कोरोनाभन्दा पनि सटर भाडामा सहुलियत नदिँदा यस्तो अवस्था सिर्जना भएको बताउँछन् । उनी भन्छन् ‘बाहिरबाट आएर ब्यवसायिक मित्रहरुले लगानी गर्नु निकै राम्रो कुरा हो । तर यहाँका घरधनीहरु व्यवसायीप्रति अनुदार हुनुभयो । उहाँहरुबाट सपोर्ट मिलेन । समयअनुसार घरभाडा बढी नै छ । केहि समिति घरमालिकहरुले भाडा घटाए पनि धेरैले भाडा घरमुलीहरु भाडा बढाउनै उद्धत छन् । उद्योग वाणिज्य र ब्यापारसंघले पनि यस विषयमा पहल नगर्दा यस्तो समस्या आएको छ । यो वाणगंगाकै लागि राम्रो होइन । यसका साथै कोरोना लगायतका अरु कारण पनि छन् ।’

अर्का ब्यवसायी विष्णु गैरे पनि घरभाडामा भएको महंगी र कोरोनापछिको अवस्थाका कारण यस्तो अवस्था सिर्जना भएको बताउँछन् । उनका अनुसार खुला सिमानाका कारण झोलेपोके ब्यापारीको विगविगी बढ्नु पनि यहाँका पसल धरासयी हुनुको कारण रहेको छ ।

नेपाल मौरी पालक किसान संघका पूर्व अध्यक्ष तथा चार नम्बरमै मौरी पालन गरिरहेका व्यवसायी अर्जुन पोख्रेले चार नम्बरको अवस्था नाजुक रहेको बताउँदै यसभित्र धेरै कारण रहेको बताउँछन् । व्यवसायी र जनताप्रति सरकारको नीरिहता, युवाको विदेश मोह, नेपालमा गर्न नखोज्ने बानी, बैङ्क र सहकारीमा भएको क्रणचर्को ब्याज लगायतका कारण यस्तो अवस्था सिर्जना भएको पोख्रेलको विश्लेषण छ ।

उद्योगधन्दामा ठुलो लगानी गरेका ब्यवसायी पनि आफूहरु खतराको स्थितिमा रहेको बताउँछन् । बिभिन्न खाद्यान्ह उद्योगहरु, फर्निचर लगायतका उद्योगमा लगानी गरेकाहरुले पनि स्थिति नाजुक रहेको बताउँछन् ।

कपिलवस्तु उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष उमानाथ पौडेल पनि मुलुकको आर्थिक मन्दी, क्रण लिएका व्यवसायीलाई बैङ्को सहजिकरण नहुनु, युवाको पलायन, बढ्दो बेरोजगार, सामान किन्ने मान्छे नै नहुनु लगायतका कारण चार नम्बरका ब्यवसायी धरासयी भएको बताउँछन् । ब्यापार र ब्यवसाय मात्र नरहेर अब स्कुल र कलेज पनि खाली हुने स्थिति सिर्जना भएको उनको ठम्याइ छ ।

उद्योग ब्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) ले पनि कोरोनापछि यस्तो अवस्था आएको बताउँछन् । उनले ८० प्रतिशतसम्म ब्यापारमा गिरावट आएको आफूले पाएको भन्दै विकल्प नभएपछि ब्यवसायी पसल बन्द गर्न बाध्य रहेको बताउँछन् ।

कोरोनापछि राज्यले व्यवसायी संरक्षण गर्न नसक्नु, कोरोनापछि आएका काम गर्ने वातावरण गर्न नसक्नु, युवाको विदेश पलायन, उत्पादन नहुनु र आयात नहुनु, सटरमा भएको अचाक्ली महंगोपनिले धमाधम सटर खाली हुनुपरेको अध्यक्ष पौडेलले बताए । मुलुकको व्यवसायीप्रतिको अनुदार मौद्रिक नीति पनि यसको एक कारक रहेको उनले बताए । उनका अनुसार ओदारीका १० जनाभन्दा बढी व्यवसायी विदेश पलायन भएको र चार नम्बरका पनि तयारीमा रहेको बताए ।

कपिलवस्तु उद्योग वाणिज्य संघका महासचिव मनोज पौडेलले पनि कोरोनापछि मुलुकमा निम्तिएको अर्थतन्त्रको संकुचन र मुलुक अब बिग्रियो, सिद्धियो भन्ने खालको सन्त्रासले यस्तो अवस्था सिर्जना भएको बताउँछन् । ‘वाणगंगामा ६० प्रतिशतसम्म कारोबार घटेको छ । यसको अरु कारणमा बजार चलायमान नहुनु, मुलुकका सिमिति घरानाको हातमा राज्य घुम्न, साना ब्यवसायीप्रति राज्य र वाणिज्यसंघहरु अनुदार हुनु आदि छन् । यसको असर स्थानीयस्तरसम्म परेको छ ।’

महासचिव पौडेलले महंगो घरभाडा पनि पसल बन्द हुनुको कारण रहेको बताउँछन् । ह्वात्तै मुनाफा गर्ने व्यवसायीले घरबेटीसंग आफूखुसीको सम्झ्यौता गर्ने गरेका कारण पनि भाडामा एकरुपता आउन नसकेको उनले बताए । यस्तो गर्नेमा सुनचाँदि ब्यवसायी रहेको उनी बताउँछन् । उनले थपे, ‘सुनचाँदि ब्यवसायी साथीहरुले धेरै मुनाफा हुने सोँचेर घरबेटीसंग महंगोमा सम्झ्यौता गर्नुहुन्छ अनि पछि यस्तो भयो उस्तो भयो भन्दै आउनुहुन्छ । त्यसको असर छेउछाउका घरघनीलाई पनि पर्दछ अनि सटरभाडा बढेको छ ।’

भाडा एकरुपताको विषयमा उद्योग वाणिज्यसंघले पटकपटक पहल गरे पनि सफल हुन नसकिएको पौडेलको भनाई छ । स्थानीय सरकार पनि केहि अधिकार पाएकोजस्तो नगर्ने, हातखुट्टा बाँधेकोजस्तो स्थितिमा रहने लगायतका कारण स्थानीय ब्यवसायी माथि उठ्न नसकेको पौडलेको विश्लेषण छ ।

यता नगरपालिकाले भने व्यवसायीप्रति आफूहरु अनुदार नरहेको बताउँछ । नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएका भक्तिराम मरासिनीले उद्योग वाणिव्य संघको स्वागत कार्यक्रममा नगरका नीतिहरु व्यवसायीमैत्री रहेका बताएका थिए । नगरप्रमुख चक्र अर्यालले पनि आफूहरु सधैँ व्यवसायीको पक्षमा रहेको पटकपटक बताउँदै आएका छन् ।

अरु व्यवसायी र ब्यापारीले पनि नेपाल सरकार, स्थानीय सरकार पनि अनुदार हुने, वित्तिय संस्थाले पनि आफूहरुलाई नै च्याँपने र दुख दिने, घरभाडा पनि यस्तै महंगो भइरहने हो भने अब सबै सटरमा भोटेताल्चा लगाएर पलायन हुनुको विकल्प नरहेको गुनासो गर्दछन् । बजारमा ब्यापारी ब्यापारीमा रहेको अस्वस्थ प्रतिस्पर्धा र एकले अर्काको प्रगति सहनदेख्न नसक्ने कारण पनि व्यवसाय माथि उठ्न नसक्नुको एउटा कारण रहेको उनीहरुको भनाई छ ।