मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा मूल्यवृद्धि साढे ७ प्रतिशतसम्म पुग्ने अनुमान

नेपालमा मूल्यवृद्धि साढे ७ प्रतिशतसम्म पुग्ने अनुमान

अपि टाइम्स

काठमाण्डौ । विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि तीन दशमलव नौ प्रतिशत हुने प्रक्षेपण गरेको छ । अर्धवार्षिक रूपमा सार्वजनिक गर्ने विश्व बैंकको प्रतिवेदनले आयात प्रतिबन्ध हट्नु, पर्यटन क्षेत्रको पुनरुत्थानतर्फ जानु तथा मौद्रिक नीति बिस्तारै खुकुलो बन्दै गएकाले चालु आर्थिक वर्षमा सन्तोषजनक आर्थिक वृद्धि हुने जनाएको हो ।सरकारले भने यो आर्थिक वर्षमा छ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको छ । गएको आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि एक दशमलव नौ प्रतिशत मात्रै भएको थियो । विश्व बैंकले आउँदो वर्ष भने नेपालको आर्थिक वृद्धि पाँच प्रतिशतमा पुग्ने अनुमान गरेको छ । तर नेपालमा मनसुनका कारण कृषि उत्पादन घट्नसक्ने, वस्तुको मूल्यवृद्धि उच्च हुनसक्ने तथा भारतले केही सामानमा निर्यात प्रतिबन्ध गरेकाले त्यसको असर आर्थिक वृद्धिमा देखिनसक्ने जोखिम पनि रहेको विश्व बैंकले जनाएको छ ।

यस्तै यस वर्ष मूल्यवृद्धि बढ्ने विश्व बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा छ दशमलव पाँच प्रतिशत मूल्यवृद्धि हुने जनाए पनि विश्व बैंकले भने साढे सात प्रतिशत मूल्यवृद्धिको प्रक्षेपण गरेको छ ।

यो वर्षको दक्षिण एसियाको आर्थिक वृद्धि पाँच दशमलव आठ प्रतिशत हुने र विश्वका अरू क्षेत्रको तुलनामा दक्षिण एसिया केही सहज अवस्थामा रहेको रिपोर्टमा उल्लेख छ । दक्षिण एसियामा सबैभन्दा उच्च आर्थिक वृद्धि भारतको छ दशमलव तीन प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण छ ।