मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अभिभावकले सधैँ गाली गरेपछि उनीहरु भागेका थिए, बुटवलमा कोठा बुक गरिसकेका रहेछन्

अभिभावकले सधैँ गाली गरेपछि उनीहरु भागेका थिए, बुटवलमा कोठा बुक गरिसकेका रहेछन्

अपि टाइम्स

चन्द्रकान्त न्यौँपाने, कपिलवस्तु । गत भदौ २९ गते शुक्रबार साँझदेखि वाणगंगा नगरपालिकाबाट २ बालिका हराए । वडा नम्बर १ को उत्तमनगर घर भएकी कक्षा १० मा अध्यनरत १५ वर्षीया विष्णु छहारी र वडा नः २ को राजपुर स्थायी घर भएकी १५ वर्षीय सिर्जना ठकुरी हराएका थिए । स्कुल जान्छौँ भनेर घरबाट हिँडेका उनीहरु लामोसमय परिवारको सम्पर्कमा आएका थिएनन् ।

१८ १९ दिनसम्म पनि उनीहरु घर नआएपछि परिवार पीडामा रह्यो । सुरुवाती चरणमा आफै खोजमा लागेका परिवारले केहि उपाय नलागेपछि अन्तिममा प्रहरी र मिडिया गुहारे । प्रहरी गुहारे लगत्तै हराएका ती बालिकालाई निरन्तरको खोज र सक्रियतापछि प्रहरीले २ दिनभित्रै फेला पार्न सफल भयो ।

ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी नीरक्षक गोपाल रायमाझीको कमाण्डमा खटिएको टोलीले रुपन्देहीको बुटवलस्थित मझवा गाउँबाट उनीहरुलाई सकुशल उद्धार गर्यो र परिवारको जिम्मा लगायो । बालिका उद्धारमा प्रहरी नीरिक्षक रायमाझीले प्रसंसनीय काम गरेका छन् ।

खोजी र उद्धारमा स्वयम् परिवारका सदस्य पनि सहभागि थिए । भेटिएकै दिन प्रहरीले ती बालिकालाई प्रहरीको जिम्मा लगाएको थियो । अहिले बालिका आआफ्नो घरमा छन् ।

ती बालिकाको सकुशल उद्धार भएपछि पनि आम समुदायमा भने बिभिन्न प्रश्न उब्जिएका छन् । अहिले पनि यी प्रश्नहरुको सामना अभिभावकले गरिरहेका छन् ।
ती प्रश्न भनेका यतिका दिनसम्म ती बालिका कसरी हराए ?, किन घर आएनन् ? यो वीचमा के खाए ? कोसंग बसे, के खाए ? कसले बन्धक बनाएर राखेको थियो या कतै बेचिन आँटेका थिए कि ?

बालिकाको उद्धारपछिको समाचार सम्प्रेषण गरेपछि पनि अपिटाइमसले यस्तै धेरै प्रश्नको सामना गर्नुपर्यो । त्यसपछि प्रहरीसंग यसबारे सोधपुछ गरिएको छ ।
इलाका प्रहरी कार्यालय पिपराका इन्स्पेक्टर गोपाल रायमाझीका अनुसार ती बालिका पारिवारिक समस्याका कारण जानिबुझिकन हराएका हुन् । बालिका भएका हुनाले धेरै सोधपुछ गरेनौँ इन्स्पेक्टर रायमाझीले भने, ‘सामान्य सोधपुछ गर्दा उनीहरुले मसंग सुटुक्क भनेका छन् ‘परिवारले गाली गरेपछि सहन नसकेर भागेका हौँ । धेरै गाली गरेपछि अति भएर भागेका हौँ । हामीलाई अहिलेसम्म कसैले केहि गरेको छैन । कुनै अफ्ट्यारो पनि भएको छैन । कसैले अपहरण पनि गरेको होइन । हामी सुरक्षित नै थियौँ । हामी सल्लाहा गरेर घरबाट भागेका हौँ ।’

इन्सपेक्टर रायमाझी भन्छन् ‘उनीहरुले मझवामा कोठा नै भाडामा लिएर बसिसकेका रहेछन् । उनीहरुको कोठामा ग्याँस र केहि खाना पकाउने भाँडाकुँडा पनि थिए । खोज्न नगएको भए त्यहि बस्नेरहेछन्, इन्स्पेक्टर रायमाझीले प्रस्ट्याए ‘कसैले बेच्न लगेको, कसैले बन्धक गराएको भन्ने केहि पनि पाएनौँ । सकुशल उद्धार गर्यौँ । उनीहरु खुसी नै देखिन्थे, यो बीचमा उनीहरुलाई कुनै अफ्ट्यारो पनि भएको रहेनछ । हामी नपुगेको भए त्यतै बस्ने रहेछन् ।

आफूहरु पुग्नासाथ बालिका झस्किएका इन्सपेक्टर रायमाझीले अपिटाइम्ससंग बताए । बालबालिकाले भनेको कुरा अभिभावकले पनि स्विकारेका रायमाझीको भनाई छ । उनले भने, ‘यो त एउटा प्रतिनिधि घटना भयो । यस्ता धेरै घटना हुनसक्छन् । बालबालिकाको यस्तो अवस्था बुझेपछि बच्चा र अभिभावक दुवैलाई सम्झाइबुझाई गरेर पठायौँ ।’

सामाजिक संजालको बढ्दो प्रयोग र संगतको कारण बालबालिकामा अर्कै खालका भावनाहरु उत्पन्न हुन थालेकाले अभिभावक पनि सचेत हुनुपर्ने उनले बताए । आमाबुबाका सामान्य गालीगलौजलाई लिएर यस्ता खालका निर्णय नगर्न पनि रायमाझीको सबैमा अनुरोध छ ।

सामाजिक संजाल, कुलत, मोबाइलको बढ्दो प्रयोग लगायतले बालबालिकालाई अहिले बिगारिरहेकाले मनोपरामर्श जरुरी रहेको उनी बताउाछन् । उनीहरुको भावना बुझेर काम गर्न नसक्दा समाजले आत्महत्याजस्ता घटनाको सामाना गर्नु परेको तथ्यांक प्रहरीसंग छ, उनले थपे, ‘बालबालिकाको साथी भएर अभिभावक बस्नुपर्छ । सधैँभरी धम्काएर, थर्काएर बालबालिकालाई राम्रो बाटोमा ल्याउन सकिँदैन ।’

हरेक अभिभावक र पढाउने शिक्षकलाई मेरो अनुरोध छ कि बालबालिकाको मनोभावना बुझेर काम गर्नुपर्दछ । बालबालिका र अभिभावकमा कुनै समस्या आए प्रहरी चौकीमा आएर सुझाव सल्लाह लिन उनले अभिभावकलाई आग्रह गरे । समयमै यस्ता समस्या बुझ्न नसके झन् विकराल स्थिति सिर्जना हुने इन्स्पेक्टर रायमाझीको बुझाई छ ।

अब सचेत रहेको भन्दै अभिभावकले अब त्यसरी गाली नगर्ने बताएका छन् । उनीहरुले भनेका छन् ‘छोराछोरीलाई अलिअलि गाली जसले पनि गर्छ । यस्तो होला भनेर सोचिएको पनि थिएन । १५२० दिन निकै तनाव भयो । अब सचेत भयौँ ।’

मनोविमर्शकर्ता पनि बालबालिकाको मनोविज्ञान बुझेर व्यवहार गर्नुपर्ने सुझाउँछन् । मनोविमर्शकर्ता मधुसुदन घिमिरे भन्छन् ‘ बालबालिकाले गरेको गल्तीमा गालीगलौज गर्ने परिपाटीले जघन्य समस्या निम्तिएका छन् । उनीहरुको मनोविज्ञान बुझ्न जरुरी छ । अहिलेका अभिभावकले मनोविमर्श अध्ययनको तालिम लिनुपर्दछ । पढाउने शिक्षकलाई पनि यो अपरिहार्य भइसक्यो ।’