मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भरोसा गुमाउँदै आशा गरिएका वडाअध्यक्ष अर्याल, भन्छन् ‘गर्दैछु’

भरोसा गुमाउँदै आशा गरिएका वडाअध्यक्ष अर्याल, भन्छन् ‘गर्दैछु’

अपि टाइम्स

चन्द्रकान्त न्यौँपाने, काठमाडौँ । २ बर्षअघि भएको स्थानीय तहको निर्वाचनबाट कपिलवस्तुको वाणगंगा नगरपालिकाले ११ मध्ये ९ वटा वडामा नयाँ नेतृत्व पायो । वडा नम्बर २ का वडा अध्यक्ष विष्णु पौडेल र वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु गिरीबाहेक अरु वडामा नयाँ अनुहार आए ।

तीमध्ये वडा नम्बर ८ मा नयाँ अनुहारको रुपमा निर्वाचित वडा अध्यक्ष हुन् बाबुराम अर्याल । नेकपा एमालेमा विद्यार्थी कालदेखि राजनीति गरेका उनी युवा उम्मेदवार थिए । गठबन्धनबाट उठेका वडाकै पाका मानिने हुमनाथ पौडेलमाथि सानदार जित हासिल गरेका अर्याल नगरले आशा गरेका वडा अध्यक्ष हुन् । कृषि अध्ययन र कृषि कर्ममा हात हालेका अनि पढेलेखेका मानिने अर्यालले चुनाव जितेपछि केहि गर्छन् भन्ने सबैले आशा गरेका थिए ।

तर तिनै पढेलेखेका मानिने युवा वडा अध्यक्ष अर्याल भने पहिलो दुई बर्षमै आलोचनाको अचानोमा अचेटिन थालेका छन् । युवा भएर पनि आशा र भरोसा दिलाउने कुनै सुरुवात गर्न नसकेको भनेर जनइतरबाट गुनासो आउन थालेको छ ।स्थानीय तहमा उनी नयाँ अनुहार भएकाले अलमलमा परेका हुन् कि भनेर मुल्यांकनका लागि अझै पर्खनु पर्ने भनेर अर्कोथरीको मुल्यांकन छ ।

मधुवनधाम, सेनाले बनाएको बोटानिकल गार्डेन, मायादेवी रंगशाला, ओशोधाम, शिक्षितहरुको बसोबास क्षेत्र, कृषिको लागि उर्वरभुमि, सामुदायिक वनहरु भएको ठाउँ भए पनि वडाबासीहरु भन्छन् ‘प्रशस्त सम्भावना भए पनि नयाँ पुराना कुनै जनप्रतिनिधिले राम्रोसंग काम गर्न सकेनन् ।’

युवा वडा अध्यक्ष अर्याल आएर अब गर्छन् कि भन्ने आशा गरेका वडाबासीले अर्यालले पनि समानुपातिक ढंगले काम गर्न नसकेको बताउँछन् । उसो त २०७४ सालमा वडा अध्यक्षमा चुनाव जितेका गुणनिधि भुसालले जनचाहाना अनुसार गर्न नसकेको आरोप खेपेका थिए । ठुलो वडा भएको कारण अरु वडामा भन्दा काम गर्न कठिन रहेको भुसाल बताउँथे ।

आवादीको हिसावले बढी जनसंख्या र भौगोलिक हिसावले तेश्रो ठुलो ठुलो ( झण्डै ३५ सय हाराहारीमा जनसंख्या, ३५ वर्गकिलोमिटर क्षेत्रफल ) भएको वडामा पर्दछ वडा नम्बर ८ ।

यस विषयमा स्वयम् वडाअध्यक्षसंग बुझ्दा अर्यालले आफूले चुनावी बाचा अनुसार नै काम गरिरहेको बताए । उनले पनि ठुलो वडा भएका कारण काम गर्न कठिन रहेको बताए । सेवा प्रवाह र विकासमा निर्माणलाई प्राथमिकतामा राखेर काम गरेको दावी गरेका छन् ।

उनका अनुसार प्रशासनिक कार्यमा प्रविधिको प्रयोग, अनलाइन सफ्टेवेरमार्फत् अन्य वडामाभन्दा छिटोछरितो सेवा, सिंचाइलार्ई विशेष प्राथमिकता, वडाको स्वास्थ्य चौकीबाट प्रवाह हुने सेवा नगरमै उत्कृष्ट रहेको छ । यस्तै शिक्षामा पनि राम्रो काम भएको उनले बताए । शिक्षाको गुणस्तर सुधारमा बालविकासका शिक्षकलाई सिप विकास तालिम प्रतिष्ठान र , सिप विकास वोर्डबाटबाट निरन्तर तालिम प्रदान गरेपछि शिक्षामा गुणस्तर बढेको वडाअधयक्ष अर्यालको दावी छ ।

वडामा रहेको एउटा क्याम्पस, आधारभुत विद्यालय, र ८ वटा बालविकासलाई प्राथमिकतामा राखेर काम गरेको उनले बताए ।
वडा अध्यक्ष अर्यालको दावी अनुसार नगरमै वडाको विकासमा सबैभन्दा बढी बजेट आफूले पारेका छन् । उनी भन्छन् ‘१३ दिन काठमाण्डौँमै बसेर संघका हरेक मन्त्रालयमा पुगेर बजेट मागेको छु । नगरको लागि बजेट माग्न धेरै धाएको भनेर नगर प्रमुखले पनि प्रसंसा गर्नुभयो । बिभिन्न शीर्षकमा बढी बजेट पारेको छु । तर सोँचेजति भने पाइएन । अरु वडामाभन्दा मेरो वडामा बजेट बढी नै छ ।’

बजेट पारे पनि काम गर्न भने समस्या रहेको उनी सुनाउँछन् । नागरिकको आशा अनुसार काम गर्न नसकेको स्विकार गर्दै वडा अध्यक्ष अर्यालले आगामी ३ बर्षसम्म जनताको अपेक्षा पुरा गर्ने बताए ।

नेपालको प्रशासनिक र कागजी प्रकृया र ठेक्कापट्टा, भुक्तानीमा रहेको समस्याका कारण एक्सनमा काम गर्न नसकिएको उनको अनुभव छ । ‘कल्भट भत्कियो भने तुरुन्त बनाउन नसकिने रहेछ । सामुदायिक वनले गरेजस्तो तुरुन्त काम गर्न सहिँदैन । यहाँको प्रणाली यस्तै छ । भन्नुहुन्छ भने कहिँ बाटो भत्कियो या कल्भट भत्कियो भने बन्न १ बर्ष लाग्छ । आफूले चाहेर बनाउन सकिन्न’, उनले थपे ।

उनले वडामा ढोँडेकोल, मुर्मी, वण्डौली, मधुवनजस्ता क्षेत्रमा अझै पनि धेरै गर्न बाँकी रहेको बताए । वडामा रहेको मायादेवी रंगशालालाई प्याराफिटसहितको बनाउने, सिटिइभिटी सम्बन्धन प्राप्त गरी प्राविधिक शिक्षा चलाउने, मधुवन धाम केन्द्र, ओशो आश्रम, जलेश्वर धाम लगायतलाई आकर्षक पर्यटकीय गन्तव्य बनाउने सपना आफ्नो रहेको उनको भनाई छ ।

यसैगरी पशु प्राविधिकको व्यवस्था गरी वडामा कृत्रिम गर्भाधान निशुल्क संचालन गर्ने तयारीमा रहेको पनि उनले बताए । विकासनिर्माणतर्फ बाटाघाटा, पुलपुलेसा लगायतका संरचना बनाउन पनि उत्तिकै ध्यान रहेको उनको दावी छ । उनले अरु वडासदस्य पनि विकासमा निकै सचेत रहेको बताए । सार्वजनिक जग्गा अतिक्रिमण गरी नीजि संरचना बनाउने समस्या नगरकै समस्या रहेका कारण आफ्नो वडामा पनि त्यस्तो समस्या रहेको उनको स्विकारोक्ति छ ।

वडा अध्यक्षको दावी अनुसार वडाबासीसंग बुझ्दा भने त्यहाँको अवस्था टिठलाग्दो छ । आशा गरिएका वडा अध्यक्ष अर्याल अहिले संगतले बिग्रिएका वडावाबासीको अनुमान छ । वोडगाउँ चोकका एक जना बुद्धिजिवीले भने ‘अर्याले यो हदसम्म पुग्लान् भन्ने सोँचेका थिएनौँ । प्रतिदिन स्खलित भइरहनुभएको छ । उहाँको संगत पनि राम्रो छैन । अनुकरणीय चरित्रमाथि प्रश्न खडा गर्ने काम आफै गरिरहनु भएको छ । वडाको विकास पनि युवाले गर्ने अनुसार भएको छैन । खै केमा रमाइरहनुभएको छ या अलमल्ल परिरहनुभएको छ थाहा छैन ।’

ती वडाबासीले भने, ‘बिग्रेका बाटाघाट बनेनन्, बोडगाउँको मायादेवी रंगशालाको लागि आएको बजेट खै कता गयो ? त्यो बजेट आफ्नै टोलमा लगेको भनेर जनताले भन्छन् । हिलोबाटोको मतलब छैन । बिग्रेका बाटामा मर्मतको सुरसार छैन । जिर्ण भएका बाटाघाटा बनाउन न वडा अध्यक्षको वास्ता देखिन्छ न वडासदस्यको । कसैलाई वास्तै छैन ।’

‘वडा अध्यक्ष अर्याल आफै पशु प्राविधिक हुन् । आफ्नो भेटनेरी भएका कारण सिचाई र कृषिका काममा उहाँको प्राथमिकता देखिन्छ’, एकजनाले भने ‘आफ्नै सिंचाई र कृषि भनेर उहाँले आफैलाई बजेट हाल्नुहुन्छ जस्तो लाग्छ । टोल विकास संस्थामा भएको पैसाले दर खाने कार्यक्रम गर्दा पनि उहाँलाई मतलब छैन ।’

वडामा शुुद्ध खानेपानी वितरणमा पनि समस्या रहेको वडाबासीको गुनासो छ । खानेपानीमा शुल्क बढेर जनता मारमा पर्दा पनि वडा अध्यक्षको वास्ता छैन, वडाका एक जना पुरुषले भने ‘खानेपानीको न्युनतम रुपैयाँ ५० बाट एकैपटक १०० रुपैयाँ पुगेको छ । जनताले खानेपानीमा ताला लगाउनुपर्ने स्थिति आयो ।’

मधुवन धामको संरक्षण र गौशालाको व्यवस्थापनमा पनि वडा अध्यक्ष अर्यालको चासो नरहेको बताइन्छ । ‘मधुवनमा नेपाली सेनाले बोटानिकल गार्डेन बनाएको छ । अहिले त्यसको संरक्षण, सरसफाइ छैन । जताततै झार उम्रिएर नराम्रो भएको छ । त्यति महत्वको गार्डेन काम नलाग्ने हुन आँटेको छ । हेर्ने कसको काम हो खै थाहा छैन, चप्परगाउँका अर्का एक जनाले भने ।

यस्तै लागु औषध नियन्त्रणमा काम नभएको, त्यसको लागि कार्यक्रम पनि नगरेको, वडाभित्रका संघसंस्थामा राजनीतिकरण हावी भएको, मोर्मी खानेपानीको अवस्था विजोग् भएर हिसाब किताब अस्तब्यस्त रहँदा पनि व्यवस्थापनमा वडा अध्यक्षले चासो नदिएको वडाबासीको आरोप छ ।

खोलाबाट ब्यापक चोरी निकासी हुँदा पनि वडा अध्यक्षले देखेको नदेखेकै गौशाला त्यहि छ तर संरक्षण भएन, चोरी निकासी ब्यापक छ, जनप्रतिनिधिको मतलब नभएको वडाको विकासमा चासो राख्ने ब्यक्तिहरु बताउँछन् ।

अर्यालसंग चुनाव लडेर पराजित भएका हुमनाथ पौडेलले पनि वडा अध्यक्षको कामबाट आफू र जनता खुसी नभएको दावी गरे । उनले सच्चिएर जनचाहना अनुसार काम गर्न वडा अध्यक्ष अर्याललाई सुझाव दिए ।

विद्यार्थी राजनीतिबाट जनप्रतिनिधि बनेका पढेलेखेका उर्जावान् वडा अध्यक्षले चुनाव जितेर केहि गर्न नसक्नुले राम्रो न्देश नदिने सरोकारवाला बताउँछन् ।