काठमाडौँ । राजधानीको कान्तिपथमा व्यवसायी दुर्गा प्रसाईँमाथि दुर्व्यवहार भएको छ । कार्यक्रममा सहभागी हुन होटल एल्लो प्यागोडाभित्र प्रवेश गर्ने क्रममा उनीमाथि दुर्व्यवहार भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी कुमोध ढुंगेलले प्रसाईमाथि दुर्व्यवहार भएको पुष्टि गरे । सार्वजनिक एक भिडियोमा उनीमाथि कालोमोसो दलिएको देखिएको छ भने शरीरको कपडा पनि च्यातिएको देखिएको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक अभियानको संयोजक रहेका प्रसाईँले बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर धम्की दिँदै आएका थिए । प्रसाईंले बैंक तथा वित्तीय संस्थाका प्रमुखहरूलाई कालोमोसो दल्ने भन्दै कालोमोसो दस्ता नै बनाएका थिए । गत फागुन १३ गते चितवनमा कालोमोसो दस्ताको केन्द्रीय संयोजकको रूपमा शम्भु थापालाई घोषणा गरेका थिए ।
नेकपा एमालेका युवाहरुले उनलाई कालोमोसो दलेको समाचारहरुमा आइरहेको छ । सो क्रममा सहभागीहरुले एमालेको पक्षमा नाराबाजी गरेको थियो ।
युवा संघका अध्यक्ष क्षितिज थेवेले दुर्गा प्रसाईलाई कालोमोसो दल्ने कार्यमा युवा संघको संलग्नता रहेको स्वीकार गरे । ‘स्वतन्त्र युवाहरु दुर्गा प्रसाईको भड्काउपूर्ण अभिव्यक्ति, संविधानको मर्मविपरीत, संविधानलाई नै कुल्चेर, गणतन्त्रकै खिलापमा दिएको अभिव्यक्तिविरुद्ध उत्रिएका रहेछन् । हाम्रा साथीहरु पनि त्यही हुनुहुँदो रहेछ, स्वतन्त्र युवाहरुको अभियानलाई राम्रो लागेर हाम्रो साथीहरुले पनि सहयोग गर्नुभएको हो’, उनले भने । स्वतन्त्र युवाहरुको अभियानलाई मन परेपछि युवा संघका कार्यकर्ताहरुले कार्यमा सहयोग गरेको उनको कतिपयले यो उनको चर्चित हुने डिजाइन रहेको बताएका छन् ।
प्रतिक्रिया