मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वाणगंगाको एक नीजि विद्यालयको शुल्कमा विद्यूत पनि समावेश

वाणगंगाको एक नीजि विद्यालयको शुल्कमा विद्यूत पनि समावेश

अपि टाइम्स

काठमाण्डौँ । कपिलवस्तुको एक नीजि विद्यालयले जथाभावी शुल्क उठाएर अभिभावकको ढाड सेक्न गरेको पाइएको छ । वाणगंगा नगरपालिका वडा नम्बर ५ स्थित अन्नपूर्ण विद्यामन्दिर कोपवाले मनोमानी शुल्क असुल्ने गरेको पाइएको हो ।
अपि टाइम्सले प्राप्त गरेको बिलमा विद्यूतको समेत शुल्क समावेश भएको देखिन्छ ।

युकेजीमा अध्ययनरत विद्यार्थीको विलमा मासिक शुल्कमा विद्यूत शुल्क दुई सय रुपैयाँ समावेश छ । यस्तै अन्य कक्षाका विद्यार्थीको शुल्कमा पनि विद्यूत शुल्क समावेश गरेको अभिभावकले गुनासो गरेका छन् ।

नाम नबताउने भन्दै एक जना अभिभावकले अपिटाइम्ससंग भने, ‘बोर्डिङ स्कुलमा यसरी विद्यूत र पेन्सिलको फिस लिने चलन कहिलेदेखि सुरु भएको रहेछ ? हामीले कुनकुन शीर्षकमा पैसा तिर्ने ? के अब स्कुलको विद्यूत खर्च अब हामीले छुट्टै तिरिदिनु पर्ने हो ? यो त अति भएन र ?’

उनका अनुसार उक्त शीर्षकमा चित्त नबुझेपछि फिस नतिर्दा विद्यार्थीलाई नै परीक्षा दिनबाट बञ्चित गरिएको छ ।

यस विषयमा प्रिन्सिपल मदन मल्लले आफू जवाफदेखि नरहेको बताए । आफू २०७८ असारदेखि हाजिर भएको बताउँदै उनले विद्यालयका प्रबन्ध निर्देशक र लेखा शाखाले यसको जवाफ दिने बताए ।

उनले भने, ‘विद्यालयको शैक्षिक गुणस्तर, पठनपाठन सबैको विषयमा म जवाफदेही हुन्छु । तर आर्थिक र अरु ब्यवस्थापनबारे प्रबन्ध निर्देशक र लेखा शाखा जिम्मेवार छ । मलाई केहि पनि थाहा छैन । यो विषयमा अभिभावकबाट गुनासो आएको छ, मिनाहा गर्नुपर्छ कि भनेर छलफल पनि भइरहेको छ ।’

बिलमा पेन्सिलको शुल्क पनि समावेश छ । पेन्सिलको सवालमा भने फिस लिनु परेको कारण उनले बताए । ‘सानो कक्षामा हामीले घरबाट पेन्सिल ल्याउन नपर्ने गराएका छौँ । अभिभावकलाई पनि यो जानकारी गराएका छौँ । साना विद्यार्थीले घरबाट पेन्सिल ल्याउँदैनन् । यसकारण पेन्सिल फिसमा अचम्म मान्नु र विद्यालयले नराम्रो गर्यो भन्न मिल्दैन तर विद्यूतको फिसमा के कसो भएको हो आर्थिक प्रशासनलाई थाहा होला’, उनले प्रष्ट्याए।

अपिटाइम्सले यो चित्त बुझ्दो जवाफ भएन प्रिन्सिपलजस्तो मान्छेलाई यो थाहा हुँदैन भनेर बुझ्दा ‘ केहि भनेनन् । यहाँ यस्तै छ उनले भने ।’ उनले पेन्सिलको शुल्क अरु विद्यालयले पनि लिने गरेको बताए । अरु स्कुलसंचालकसंग बुझ्दा पनि पेनिसलको शुल्क भने लिने गरेका छन् ।

यता विद्यालयका प्रबन्ध निर्देशक कपिल घिमिरेले विगत ५ बर्षदेखि नै विद्यूत शुल्क लिइरहेको स्विकार गरे । उनले बाह्रै महिना विद्यूत शुल्क नलिएर कहिलेकाहिँ मात्र लिने गरेको बताए । उनी भन्छन् ‘असार महिनामा १ पटक २ सय, असोजमा एक पटक २ सय लिने गरेका छौँ । जाडोमा लिँदैनौँ । यसमा अभिभावकले पनि सहयोग गरिरहनु भएको छ ।’

अरु विद्यालय संचालकले अभिभावकको गुनासोको आधारमा पेन्सिलको शुल्क लिएको बताउँछन् । साना बच्चाले पेन्सिल, इरेजर, टोक्ने, फाल्ने, नाश गर्ने र मासिक धेरै खर्च हुने गरेका कारण गार्जेनकै सहमतिमा पेन्सिल शुल्क राखिएको विद्यालका प्रिन्सिपलहरु बताउँछन् । पेन्सिलको शुल्कलाई इस्यू बनाउन नहुने उनीहरुको भनाई छ । तर विद्यूतको शुल्क भने नलिएको नगरका अरु विद्यालयले बताए ।

मुलकभरको अर्थतन्त्रमा संकुचन आउँदा अभिभावक पनि त्यसको मारमा रहेको भन्दै सहुलियत दिने बेलामा बिभिन्न शीर्षक थपेर शुल्क असुल्नु राम्रो नभएको अभिभावकको भनाई छ ।

यो विषयलाई सामाजिक सञ्जालबाट पनि केहिले सार्वजनिक गरिसकेका छन् । त्यस क्षेत्रका युवा समाजसेवी मधुसुदन भुसालले पनि सामाजिक संजाल फेसबुकमा लेखेका छन् ”शिक्षाको नाममा लुट्तन्त्र ! विद्यालयले बिजुलीको बिल असुलेको अहिलेसम्म न कतै सुनेको न देखेको। येस्तै सानो सानो विषयमा के तपाइँ ठगिनु भएको त छैनरु हामी बोल्नुपर्छ ,यस बारे तपाइँहरुको राय राख्नुहुन अनुरोध गर्दछु।”

प्राप्त बिल