मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लगातार घटेको नेप्सेमा सुधार, तर कारोबार न्यून

लगातार घटेको नेप्सेमा सुधार, तर कारोबार न्यून

अपि टाइम्स

काठमाडौँ । अघिल्ला तीन कारोबार दिन लगातार घटेको नेप्सेमा बुधबार झिनो सुधार देखिएको छ । तीन दिनमा गरेर करिब ६८ अंकले घटेको नेप्सेमा केही खरिद माग बढेकाले बुधबार बजारमा सामान्य सुधार देखिएको हो ।

जानकारहरुले यसलाई सुधार भन्दा पनि ‘करेक्सन’ भएको रुपमा विश्लेषण गरेका छन् । बुधबार ५.१६ अंकले बढेपछि नेप्से परिसूचक १ हजार ८ सय ९४।७६ अंकमा बन्द भएको छ ।

गत आइतबार करिब साढे ३६ अंक, सोमबार साढे १२ अंक र मंगलबार करिब १९ अंकले नेप्से घटेको थियो । नेपाल राष्ट्र बैंकले सेयर कर्जाको सीमा बढाएपछिको पहिलो कारोबार दिन आइतबार देखि मंगलबारससम्म नेप्सेमा गिरावट आएको थियो ।

यसलाई राष्ट्र बैंकको पछिल्लो नीतिगत संशोधनलाई लगानीकर्ताले सकारात्मक रूपमा नलिएको रूपमा विश्लेषण गरिएको छ । पछिल्ला महिनामा सेयर बजार बढ्न नसक्नुको प्रमुख कारकका रुपमा हेरिएको सेयर कर्जाको सीमा नेपाल राष्ट्र बैंकले गत बिहीबार बढाएर व्यक्तिका लागि १५ करोड र संस्थाका लागि २० करोड बनाएको छ । यसअघि यस्तो सीमा व्यक्ति र संस्था सबैका लागि १२ करोड रुपैयाँ थियो ।

बुधबार ५५ हजार १९७ वटा कारोबारबाट ३७ लाख ३३ हजार ५२४ कित्ता सेयर किनबेच भएको छ । उक्त किनबेचबाट १ अर्ब ८ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम कम हो ।
गत मंगलबार सेयर बजारमा १ अर्ब २८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । बुधबार कारोबारमा आएकामध्ये १३७ वटा कम्पनीको सेयर मूल्य बढेको छ । ८५ वटा कम्पनीको घट्यो भने १२ वटाको सेयर मूल्य स्थिर छ ।