मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अहिलेसम्मकै धेरै ३५ हजार जनालाई डेङ्गी सङ्क्रमण, ३० जनाको ज्यान गयो

अहिलेसम्मकै धेरै ३५ हजार जनालाई डेङ्गी सङ्क्रमण, ३० जनाको ज्यान गयो

अपि टाइम्स

काठमाण्डौ । यसपालि अहिलेसम्म झण्डै ३५ हजार जनालाई डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ । गएको पुस १५ गतेदेखि अहिलेसम्म झण्डै ३५ हजार जनालाई सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाको किटजन्य रोग निवारण शाखाका प्रमुख डा। गोकर्ण दाहालका अनुसार यो अवधिमा डेङ्गी भएर ३० जनाको ज्यान गएको छ । पोहोर ८८ जनाको ज्यान गएको थियो भने ५५ हजारभन्दा धेरै सङ्क्रमित भएका थिए ।

अहिले डेङ्गीको सङ्क्रमण नियन्त्रणतर्फ उन्मुख भए पनि जोखिम भने कायमै रहेको डाक्टर दाहालले बताउनुभयो । उहाँका अनुसार आउँदो कात्तिक महिनासम्म नै डेङ्गीको जोखिम रहने भएकाले लामखुट्टेको टोकाइबाट जोगिन डाक्टरको सुझाव छ । लामखुट्टेको टोकाइबाट बच्नु नै डेङ्गी सङ्क्रमणबाट जोगिनु एकमात्र उपाय हो ।

लामखुट्टेले फुल पार्ने र लार्भा हुर्कने वातावरण नबनाउन उहाँको आग्रह छ । घर वरिपरि पानी जम्ने खाल्डाखुल्डी पुर्न, पूरा बाउला भएका लुगा लगाउन, बाल्टी, बाटा, ड्रमलगायत भाँडोमा लामो समयसम्म पानी जम्मा गरेर नराख्न उहाँको सुझाव छ ।

यसैबीच, ज्वरो आउनासाथ र जिउ दुख्नासाथ धेरैले जथाभाबी औषधि खाने गरेकाले त्यसो नगर्न पनि किटजन्य रोग निवारण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालको आग्रह छ । डेङ्गी भएका बेला दुखाइ कम गर्नका लागि खाइने बुफ्रिनलगायतका औषधिले स्वास्थ्यमा झनै असर पर्ने भएकाले स्वास्थ्यकर्मी र डाक्टरको सल्लाहमा मात्रै औषधि खान उहाँको सुझाव छ ।