मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टोपबहादुरलाई पक्रन देशभर परिपत्र, आइजिपीको अमेरिका भ्रमण रद्द

टोपबहादुरलाई पक्रन देशभर परिपत्र, आइजिपीको अमेरिका भ्रमण रद्द

अपि टाइम्स


काठमाडौँ । भुटानी शरणार्थी ठगीमा आफ्नो संलग्नता नरहेको र प्रहरीलाई अनुसन्धानमा सघाउने बताएका एमाले सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी अझै फरार छन् । पाँच दिनसम्म पनि सम्पर्कमा नआएपछि प्रहरीले उनलाई पक्रन देशभर परिपत्र गरेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले यससम्बन्धी परिपत्र गरेको हो । साथै पक्राउका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लगायतका निकायबाट पनि प्रहरी परिचालन गरिएको छ ।

पक्राउ पुर्जी जारी भएको समाचार सार्वजनिक हुँदा गत बुधबार रायमाझी गृहजिल्ला अर्घाखाँचीको एक कार्यक्रममा सभामुख देवराज घिमिरेसँगै थिए । त्यही दिन उनी ‘काठमाडौं गएर प्रहरीलाई सघाउने’ भन्दै काठमाडौंका लागि हिँडेका थिए । तर, त्यही साँझ छोरा सन्दीप पक्राउ परेपछि उनी बिहीबार बिहानदेखि फरार भएका थिए ।

आइजिपीको अमेरिका भ्रमण रद्द

उता, सोही मुद्दाका कारण नेपाल प्रहरीका आइजिपी वसन्तबहादुर कुँवरले अमेरिका भ्रमण रद्द गरेका छन् । अमेरिकी सरकारले गर्ने ‘लिडरसिप एक्सचेन्ज’सम्बन्धी कार्यक्रमको निमन्त्रणमा उनी सोमबार त्यसतर्फ जाने कार्यक्रम तय भएको थियो ।

भुटानी शरणार्थीसम्बन्धी ठगी मुद्दामा उच्चपदस्थमाथि अनुसन्धान अघि बढेपछि आइजिपी कुँवरले भ्रमण रद्द गरेको स्रोत बताउँछ । प्रहरी सहप्रवक्ता एसएसपी दीपेन्द्र जिसीले आइजिपी कुँवरको भ्रमण रद्द भएको पुष्टि गरे, तर कारणबारे जानकारी नभएको बताए ।

मन्त्रिपरिषद्ले भ्रमण स्वीकृत गरे पनि सरकारकै सल्लाहमा उनले नजाने निर्णय गरेका हुन् । सो कार्यक्रममा सहभागी हुन एआइजीद्वय किरण बज्राचार्य र सुदीप गिरी तथा डिआइजी रामदत्त जोशीलगायत गएका छन् ।