मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वाणगंगाको शिक्षा शाखाभन्दा प्राधानाध्यापक र प्रिन्सिपल नै पावरफुल !

वाणगंगाको शिक्षा शाखाभन्दा प्राधानाध्यापक र प्रिन्सिपल नै पावरफुल !

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने

कपिलवस्तु । बाणगंगा नगरपालिकाको शिक्षा शाखाभन्दा यहाँका विद्यालयका प्राधानाध्यापक र प्रिन्सिपल पावरफुल देखिएका छन् । विद्यालय शिक्षामा एकरुपता कायम गर्ने गरी नगरले बनाएको बार्षिक शैक्षिक क्यालेण्डरको बर्खिलापमा विद्यालय संचालक लागेपछि यस्तो देखिएका हो । नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयका संचालकसंग सुरुमा सल्लाह गरेर निर्माण गरिएको वार्षिक क्यालेण्डरलाई अहिले आफूखुसी चलाउन थालिएको छ । यसको प्रमाण भर्खरैको प्राधानाध्यापकको फरक विचार र भर्खरैका परीक्षा हुन् ।

नगरपालिकाले निर्माण गरेको वार्षिक पात्रो अनुसार विद्यालय तहको दोस्रो त्रैमासिक परीक्षा असोज २४ गते देखि हुने उल्लेख थियो । तर यहाँका केहि विद्यालयहरुले असोज २१ गतेदेखि आफु अनुकुलको परीक्षा संचालन गरिसकेका छन् ।

केही विद्यालयमा असोज २५ देखि परीक्षा संचालन भइरहेको छ । त्यसमा अधिकांस नीजि र केहि सामुदायिक छन् ।

परीक्षा संचालन गर्ने सम्बन्धमा यसअघि पनि प्रधानाध्यापकहरु विभाजित बनेको विगत छ । यसपटक पनिअसोज २१ कि २४ मा परीक्षा गर्ने विषयमा पनि प्राधानाध्यापक र प्रिन्सिपल विभाजित थिए । यसमा नीजि र अंग्रेजी माध्यमको पठानपाठन लागु गरेका सामुदायिक विद्यालयहरु छन् ।

केहि सामुदायिक विद्यायलले भने नगरकै क्यालेण्डर अनुसार परीक्षा हुनुपर्ने बताए । उनीहरुको भनाई छ परीक्षा २४ असोजबाटै संचालन हुनुपर्दछ । कसैले २२, २३ गते पनि परीक्षा गर्नुपर्ने भन्दै मत राखेका बताइन्छ ।

प्रअहरुमा यसरी मत बाझाबाझ भए पनि नगरले भने कसिलो कसी लगाउन सकेन । त्यसपछि विद्यालयमा आफू अनुकुल परीक्षा भयो । यसबाट अनुमान गर्न सकिन्छ कि नगर शिक्षा शाखाभन्दा यहाँका विद्यालयहरुका प्रधानाध्यापक र प्रिन्सिपल नै बढी पावरफुल छन् ।

कसले के भने ?

नाम नभन्ने शर्तमा एक जना शिक्षकले अपिटाइम्सलाई भने, ‘मत बाझिएपछिको यो घटनाले बाणगंगाको नेतृत्व र शिक्षा नेतृत्व कति कमजोर छ भन्ने प्रष्ट हुन्छ ।’

‘एउटै पालिकाभित्र संचालन भइरहेको परीक्षामा यसरी विद्यालयहरु विभाजित हुँदा नगरपालिकाले कुनै निर्देशन गर्न नसकेका कारण नै फरकफरक मितिमा परीक्षा भए, यो भनेको त्यहाँको लाचारी र नीरिहपन हो’, वडा नम्बर ४ को एक विद्यालयका प्राधानाध्यापकले अपि टाइम्ससंग भने, ‘छिटो परीक्षा गर्नेमा नीजि विद्यालय बढी छन् । नगरको नेतृत्वको चाहाना नै छैन शिक्षामा एकरुपता कायम गर्ने । नीजिले नगरको नियम मानेनन् । हामीले नगरको क्यालेण्डर अनुसार गर्यौँ । केहि साथीहरुले मानेनन् । नीजि विद्यालयको नेतृत्वसंग नगर भुलेको छ । उनैहरुको बहकाउमा यहाँका ठुला भनिने सामुदायिक विद्यालय लाग्दा परीक्षामा एक रुपता भएन । यसको मारमा विद्यार्थी र अभिभावक परे । हामीले मात्र गरेर के हुन्छ ?’

वडा नम्बर ८ को एक विद्यालयका प्राधानाध्यापकले भने, ‘नगरमा शैक्षिक शुषासन भएन । कुन स्कुल कतिखेर चल्ने ? परीक्षा कुनकुन मितिमा चल्ने ? विदाको पनि नियम भएन । संस्थागतको आफ्नै पारा छ । नगरलाई कसैले मान्दैनन् । शिक्षा कार्यालयमा फोन गरेर परीक्षा चलाउँछन् ।’

यता नगरका निवर्तमान शिक्षा शाखा प्रमुख बाबुराम भट्टराईले नगरको नियम सबैले मान्नु पर्ने बताउँछन् । यो नभए शैक्षिक शुषासन कायम नहुने र यसले विद्यालयलाई विभाजन गर्ने उनको भनाई छ । यस विषयमा नगर गम्भिर बन्नुपर्ने उनी बताउँछन् ।

अधिकांस सामुदायिक विद्यालयको भावनाभन्दा पनि केहि अंग्रेजी माध्यम चलाएका र नीजि विद्यालयका प्रिन्सिपलको भावनामा नगरको नेतृत्व चल्ने गरेको आरोप छ । शिक्षा शाखा पनि उनैहरुको प्रभावमा रहदा अनियमितता झाँगिदै गएको जानकारहरु बताउँछन् ।

यस विषयमा नगरको शिक्षा शाखा प्रमुख खिम बहादुर जिसीसंग बुझ्न खोज्दा उनको फोन धेरै समय ब्यस्त रह्यो । जिसीसंग सम्पर्क नभए पनि श्रोत भन्छ ‘स्थानीय तहकाको कर्मचारी आन्दोलनले अहिले यस्तो भए पनि भोलिका परीक्षाहरु नगरकै क्यालेण्डर अनुसार हुने छ ।’

नगरको शैक्षिक गुणस्तर र विकासमा चासो राख्नेहरुले नगरको शिक्षा शाखा प्रमुख खिम बहादुर जिसी शैक्षिक सुधारमा भन्दा राजनीतिमा लागेको आरोप लगाउँछन् । उनीहरु भन्छन् ‘जिसीको हलुङ्गो पाराका कारण सबैले टेर्न छोडे । विद्यालय सुधारमा भन्दा पनि औपचारिक कार्यक्रममा सारिक हुने र भाषण गर्ने काममा जिसी सर धेरै भुल्ने गरिरहनुभएको हुन्छ ।’ जिसीका गतिविधिले पनि यस्तै देखाउँछ ।

नगरका विद्यालयलाई कस्तो बनाउने ? विदा, परीक्षाका मिति के रहने, नियमन, अनुगमन, मुल्याङ्कन लगायतका सबै विषयमा माध्यमिक तहसम्म स्वतन्त्र रहेर चलाउने अधिकार स्थानीय तहको सरकारलाई छ । स्थानीय तहको शिक्षा निर्देशिकाले पनि त्यहि भन्दछ । काम गर्ने यस्तो स्वतन्त्र अधिकार हुँदा हुँदै नगरको नेतृत्वले काम गर्न नसक्नुमा नगरको शिक्षा नेतृत्वभन्दा पनि नगर प्रमुखकै नेतृत्वको कमजोरी रहेको बुद्धिजिवीहरु बताउँछन् ।