मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अघिललो चुनावमाभन्दा कसरी बढि मत पाए रवि लामिछानेले ?

अघिललो चुनावमाभन्दा कसरी बढि मत पाए रवि लामिछानेले ?

अपि टाइम्स

चितवन । चितवन–२ मा भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् ।

४ मंसिरको चुनावमा सबभन्दा धेरै मतान्तरले सांसद चुनिएका लामिछाने अमेरिकी नागरिकता त्यागेपनि नेपाली नागरिकता लिने प्रकृया पूरा नगरी चुनाव लडेका कारण १३ माघमा पदमुक्त भएका थिए । तर पुनः नेपाली नागरिकता लिएपछि १० वैशाखको उपनिर्वाचनमा उम्मेदवार बनेका लामिछाने अघिल्लो पटकभन्दा बढी अर्थात कुल खसेको मतको ६८ प्रतिशतभन्दा बढी मतका साथ फेरि अनुमोदित भए ।

जबकी यो क्षेत्रमा ४ मंसिरको चुनावमा भन्दा उपनिर्वाचनमा कम मत खसेको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका अनुसार ७८ हजार ६६४ मत खसेकामा लामिछानेले ५४ हजार १७६ का साथ निर्वाचित भए । पाँचदलीय गठवन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले जम्मा ११ हजार २१४ मत ल्याउन सके । लामिछाने र श्रेष्ठ बीचको मतान्तर ४२ हजार ९६२ छ ।

एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत ल्याए । अन्य १९ जना उम्मेदवारको जमानत जफत भयो । अघिल्लो निर्वाचनको भन्दा झण्डै ६ हजार मत कम खस्दा पनि अरु दलको मत घटेको छ भने रविको बढेको छ ।

रोकिएन कांग्रेस एमालेको खुम्चिने क्रम

४ मंसिरको निर्वाचनमा ३४ हजार मतान्तरले पराजित भएका कांग्रेस र एमालेले यसपटक मतान्तर घटाउने रणनीति लिएका थिए । दुबै दलको दौडधुप पनि सोही अनुसार थियो । कार्यकर्ताको परिचालन पहिलाभन्दा प्रभावकारी भएको दलहरुको दाबी थियो । कांग्रेसले ४ मंसिरको चुनावका बेलामा देखिएको आन्तरिक समस्या हल भएको दाबी गरेको थियो ।

एमालेले जिल्ला सभापति समेत रहेका क्षेत्र नम्बर ३ का रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाएको थियो । एमालेले मिसन ग्रासरुट अभियान चलाएर पार्टी र संगठनलाई चलायमान बनाएकाले विगतमा भन्दा राम्रो नतिजा आउने अपेक्षा गरेको थियो । निर्वाचनपछि सरकारमा जानुका साथै नागरिकता र राहदानी विवादमा मुछिएका कारण स्वयं रवि लामिछानेको लोकप्रियता घटेको उनीहरुको बुझाइ थियो । नतिजा त्यस्तो आएन । बरु लामिछाने र उनको दलमाथि जनताले अझ विश्वास गरेको देखाएको छ ।

४ मंसिरमा गठवन्धनका कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८८ मत ल्याएका थिए, तर यसपटक पूर्व जिल्ला सभापतिसमेत रहेका जीतनारायण श्रेष्ठले ११ हजार २१४ मत मात्र ल्याए । कांग्रेसले अघिल्लो निर्वाचनमा भन्दा यसपटक ३ हजार ७७४ मत गुमाएको छ । कांग्रेसको जस्तै हालत छ एमालेको पनि ।

अघिल्लो निर्वाचनमा एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याएकोमा यसपटक रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत मात्र पाउन सके । एमाले पनि कांग्रेसकै हाराहारीमा ३ हजार ७१६ मत गुमाएको देखिन्छ ।

२ वडामा एमाले अगाडि, सबैमा लामिछानेको आक्रामक मत

चितवनको इच्छाकामना गाउँपालिकाका ७ वटा वडा, भरतपुर महानगरपालिकाको वडा १० र कालिका नगरपालिकाको ११ वटा वडा यो निर्वाचन क्षेत्रमा पर्दछ ।

२८ मध्ये २ वटा बाहेक सबै वडामा रास्वपा उम्मेदवार लामिछानेले अरु उम्मेदवार बन्दा बढी मत ल्याएका छन् । इच्छाकामना गाउँपालिका वडा नंं १ मा एमाले उम्मेदवार न्यौपानेले ३६७ मत ल्याउँदा रास्वपाका लामिछानेले ३१९ मत ल्याएका थिए । तर एमाले अगाडि रहेपनि मंसिरको तुलनामा उपनिर्वाचनमा मत गुमाएको छ । वडामा मंसिरमा एमालेले ५५४ र रास्वपाले ८७ मत पाएको थियो ।

इच्छाकामनाका बाँकी सबै वडामा लामिछाने अगाडि रहे । कालिका नगरपालिका वडा नं। ११ मा एमालेले ४२३ मत ल्याउँदा रास्वपाले २७ मत पाएको छ । यद्यपि यहाँ पनि रविले अघिल्लो पटकभन्दा मत बढाएका छन् । उनले मंसिरमा यो वडामा जम्मा ६ मत पाएका थिए । अरु सबै वडामा रवि अगाडि रहे ।

अर्थात मंसिरमा सहरी क्षेत्रमा रहेको रविको प्रभाव यसपटक ग्रामिण भेगसम्म फैलिएको मतले देखाउँछ ।

दुई वडामा रास्वपाको मत घट्यो

लामिछानेको मत यसपटक भरतपुर महानगरपालिका वडा नं। ३ र वडा नं। १० मा केही घटेको देखिएको छ । भरतपुरको मुटु मानिने भरतपुर १० मा गत निर्वाचनमा लामिछानेले ४ हजार ३१८ ल्याएकोमा यसपटक १४४ मत कम ल्याएका छन् । उनले ४ हजार १७४ मत ल्याए ।

यो वडामा अघिल्लो निर्वाचनमा एमालेले ५३१ ल्याएकोमा यसपटक २०० मत बढाएर ७३१ ल्यायो भने कांग्रेसको यसपटक कम आयो । कांग्रेसले अघिल्लोपटक ७८० ल्याएकोमा यसपटक ६२१ मत ल्यायो ।

वडा नं। ३ मा मंसिरमा लामिछानेले २ हजार ४३८ मत ल्याएकोमा यसपटक २४ हजार १० मत पाए । तर कांग्रेस एमाले दुबैको मत पनि घटेको छ ।