मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल घुमघाममा व्यस्त यूएन महासचिव गुटेरेस, आज पोखरा जाने

नेपाल घुमघाममा व्यस्त यूएन महासचिव गुटेरेस, आज पोखरा जाने

अपि टाइम्स

काठमाडौं । नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घ ९यूएन०का महासचिव एन्टोनियो गुटेरेस आज सगरमाथा क्षेत्रको अवलोकन भ्रमण गर्दै दिउँसो पोखरा जाने भएका छन् ।

मौसम अनुकूलताअनुसार उनी बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत सगरमाथा क्षेत्रमा जाने र त्यहाँ जलवायु परिवर्तनले दैनिक जीवनमा असर पारेका विषयमा स्थानीय बासिन्दासँग कुराकानी गर्ने जनाइएको छ ।

त्यसपछि ललितपुर पुल्चोकस्थित संयुक्त राष्ट्र सङ्घको कार्यालयमा यहाँको टोलीसँग बैठक गर्नुहुने तालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । महासचिव गुटेरेस दिउँसो पोखरा भ्रमणका लागि प्रस्थान गर्नेछन् ।

महासचिव गुटेरेस नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्र सङ्घका शान्ति कार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिंगर(हाम्दी र संयुक्त राष्ट्र सङ्घका अन्य अधिकारीहरू सहभागी हुनेछन् ।

महासचिव गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आइतबार बिहान १ बजे यहाँ आइपुगेका हुन् ।
भ्रमणका क्रममा उनी सगरमाथा क्षेत्र र पोखराका साथै अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानेछन् ।

यही कात्तिक १४ गते मङ्गलबार अपराह्न ४ बजे उनले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपालको औपचारिक भ्रमणमा आएका हुन् । महासचिव गुटेरेस नेपाल भ्रमण सम्पन्न गरी कात्तिक १५ गते १ नोभेम्बर काठमाडौंबाट प्रस्थान गर्ने कार्यतालिका रहेको छ ।