मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वनको साधारण सभामा कुरा सुन्नभन्दा भत्ता बुझ्न र खीर खानमै भीँड भएपछि..

वनको साधारण सभामा कुरा सुन्नभन्दा भत्ता बुझ्न र खीर खानमै भीँड भएपछि..

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने

कपिलवस्तु । निर्वाचित वनकी सचिव तथा कार्यक्रम संचलक गंगा भट्टराईले बारम्बार भन्दै थिइन् ‘कृपया उताभन्दा यता ध्यान दिनुहोस् । यहाँ अतिथि आउनु भएको छ उहाँका कुरा सुन्नुपर्दछ आज ।’ भाषणको क्रम परेपछि वनका निवर्तमान अध्यक्ष अमित पौडेल आएर अतिथिलाई सम्बोधन नगरी भने ‘यो पटक्कै सुहाएन । सबै यातायात खर्च बुझ्नेतिर भीँड गर्नुभयो । कार्यक्रमको प्राथमिकता यो होइन । यो त घरघर पनि पुर्याउन सकिन्छ । यता अतिथिका कुरा सुन्नुहोस् उपभोक्ता महानुभावहरु ।’

त्यसपछि कार्यक्रमका विशिष्ट अतिथि जिल्ला वन कार्यालय कपिलवस्तुका कार्यालय प्रमुख विजयराज सुवेदीको मन्तव्यको पालो आयो । उनले सम्बोधन सकेर सुरुकै ५ मिनेट यहि विषयमा खर्च गरे ।

उनले भने, ”साधारण सभा वनको मुटु हो । यहाँका सबै नीति र कार्यक्रमबारे उपभोक्तामाझ छलफल गर्ने दिन आजै हो । एउटा वडाको भन्दा ६ गुणा बढी बजेट भएको यस वनको लगानी हुने कार्यक्रम र योजनाको बारेमा आवश्यक छलफल गरी त्यो बजेटको खचबारे आजै बुझेर जानुपर्दछ । कार्यक्रममा आएर यातायात खर्च भत्ता बुझ्ने ठाउँमा भीँड देख्छु, यहाँका कुरा सुन्ने कोही छैन । अनि भोलि भन्नुहुन्छ यतिका बजेट कहाँ खर्च भयो ? हामीले त बुझेनौँ । मनलाग्यो खर्च भयो । भ्रष्टाचार भयो भनेर आफै समितिलाई प्रश्न सोध्नुहुन्छ । साधारण सभामा आएर यसो गर्ने अनि प्रश्न सोध्ने सुहाउँदै कृपया यतातिर ध्यान दिनुहोला उपभोक्ता महानुभावहरु । उनले कडा शब्दमा भनेका थिए यो निकै महत्वपूर्ण कार्यक्रम हो भत्ता बुझ्ने काम महत्वपूर्ण होइन उपभोक्ता महानुभावहरु ।”

सोमबार कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर २ स्थित मनकामना सामुदायिक वन उपभोक्ता समितिको साधारण सभा थियो । ११ सय बढी उपभोक्ता रहेको वनको साधारण सभा भइरहँदा यस्तो भएको थियो । कार्यक्रममा २ वटा मञ्च थिए । एउटा ठुलो र अर्को सानो । सानो मंच गेटबाट भित्र छिरेपछि उपभोक्ताको नाकैमा ठोक्किन्थ्यो । सानो मञ्चमा कुर्चि थिएनन् । पाल मात्र टांगिएको थियो । त्यहाँ उपभोक्तालाई भत्ता बाँड्ने कार्यक्रम थियो ।

ठुलो मञ्च भने अलिक माथि । अतिथिको लागि अग्लो र अरु ब्यक्ति बस्न सानो गरी बनाइएको थियो । त्यहाँ सयौँ कुर्चि थिए । सजिएको थियो । औपचारिक कार्यक्रम भइरहेको थियो ।

ती दुई मञ्चमध्ये मान्छेको भीँड थियो सानो मञ्चमा भत्ता बुझ्न । आफू उपभोक्ता रहेको वनले बर्षभर के कस्ता कार्यक्रम गरेको छ ?, आर्थिक, प्रगति र लेखापरीक्षण प्रतिवेदन कस्तो बनायो ? यी विषयमा बुझ्न, छलफल गर्न, वनका बारेमा अतिथि र विज्ञका कुरा सुन्न कोहि तयार थिएनन् । मान्छेको भीँड भत्ता बुझ्नतिरै थियो । यसपछि बोल्ने अतिथिले यस्तो भनिरहेका थियो । सुन्ने मान्छेलाई त्यो अस्वभाविक लागेको देखिन्थ्यो । किनकि अतिथि अघकिा कुर्ची खाली थिए, भत्ता बुझ्नमा खुट्टो राख्न नसकिने भीँड । अतिथिले यसो भनिरहँदा कार्यक्रम प्रमुख अतिथि रहेका विष्णु पन्थी पनि बीचबीचमा मुसुमुसु हाँसिरहन्थे ।

प्रदेश सांसद विष्णु पन्थी, नगरपालिकाका नगरप्रमुख चक्र अर्याल, वन कार्यालयका प्रमुख, वडा अध्यक्ष संघसंस्थाका प्रमुख लगायतले पालैपालो भाषण गरेका थिए । भाषण सुन्न आएका उपभोक्ताहरुको ‘काम कुरो एकातिर कुम्लो बोक्नु ठिमीतिर’ भन्ने उखानको पाराले कार्यक्रम नै खल्लो भएको भान हुन्थ्यो । यो क्रम कार्यक्रम सुरु भएपछि लगभग् अन्त्यसम्मै देखियो । अतिथि अघिको मञ्च रहेका खाली कुर्सीमा अतिथिले कर गरेपछि उपभोक्ता बसेका थिए ।

यति मात्र कहाँ हो र उपभोक्ताहरु भत्ता बुझेर सिधै जाने गरेका थिए खीर खान । मंचको दायाँपट्टी केहि अघि खाजाको रुपमा खीर खाने कार्यक्रम थियो । यी दुवै कुरा हेर्दा लाग्दथ्यो कि मनकामना सामुदायिक वनका उपभोक्ताहरु साधारण सभामा होइन भत्ता बुझ्न र खरि खानमै गएका रहेछन् ।

कार्यक्रममा सहभागि भएकाहरुले यी क्रियाकलापलाई आयोजकको कमजोरी र उपभोक्तामा रहेको ज्ञानको अभावको रुपमा बुझेका छन् ।

वन कार्यालयका प्रमुख विजयराज सुवेदीले उपभोक्तामा वनप्रति अपनत्व र ज्ञानकी कमिले गर्दा यस्तो भएको बताए । भत्ता दिने लगायतका काम पछि गर्नुपर्ने भन्दै साधारण सभामा यस्ता कामको ब्यवस्थापन मिलाउनु पर्ने सुझाव दिए । केहि उपभोक्ताहरुले भने आयोजकले कमजोरी गर्दा यस्तो भएको बताए । वनकामना वनको साधारण सभामा मात्र नभएर अन्य संघसंस्थाको कार्यक्रममा पनि यस्तै हुने गरेको सरोकारवाला बताउँछन् । अर्काथरीले भने आजभोलि नेताका कुरा सुन्नु व्यर्थ रहनेभन्दै उपभोक्ताले सही नै गरेको बताए ।