मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वाणगंगाकी गंगाः शिक्षक सेवा आयोगमा ह्याट्रिक, प्रास पनि पास

वाणगंगाकी गंगाः शिक्षक सेवा आयोगमा ह्याट्रिक, प्रास पनि पास

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने,

काठमाडौँ । जीवनकालमा सरकारी जागिर नखाऊँ भन्ने सायदै हुन्छन् । कतिपयको त सरकारी जागिर खाने सपना केवल सपनामै सिमित हुने गर्दछ । कतिपयले अथहक मिहिनेत गरी नाम निकाल्दछन् ।

कतिपयको भाग्यमा पनि लेखिनुपर्दछ । कतिपयले पटकपटक बिभिन्न परीक्षा दिए पनि नाम निकाल्न नसकेर हरेश खाएका हुन्छन्, निराश हुन्छन् भने कतिपयलाई एकैपटक बिभिन्न परीक्षामा सफलता मिलेर सरकारीमध्ये कुन जागिर रोजौँ भन्ने चिन्ता हुन्छ । यस्तै बिभिन्न परीक्षामा एकैपटक सफलता हासिल गरी सरकारी जागिर खान सफल भएकी व्यक्तिमा परेकी छन् कपिलवस्तुकि गंगा पौडेल ।

लोक सेवा आयोग र शिक्षक सेवा आयोगमा नाम निकाल्नमा निकै पछि परेको कपिलवस्तुबाट यसरी नाम निकालेपछि वाणगंगा नगरपालिका वडा नम्बर ८ निवासी गंगाको अहिलेसर्वत्र चर्चा र प्रसंसा छ । लोक सेवा र शिक्षक सेवा आयोगमा कपिलवस्तुबाट धेरैले नाम निकाल्न नसकिरहेको अवस्थामा गंगाले शिक्षक सेवाका बिभिन्न तहका परीक्षामा लगातार नाम निकालेर ह्याट्रिक गर्न सफल भएकी छन् भने प्रदेश लोक सेवा आयोग पनि उनले एकै समयमा उत्तीर्ण गरेकी छन् । उनको यो सफलता आज जिल्लाबासीको लागि प्रेरणा नै बनेको छ ।

गंगाले वि सं २०७६ मा शिक्षक सेवा आयोगको परीक्षा दिएकोमा प्राथमिक तहमा सिफारिस भइन् । त्यसपछि उनले ७९ सालमा शिक्षक सेवाकै निम्न माध्यमिक तहको परीक्षा दिइन् । लिखित र अन्तरवार्ता दुवै उत्तीर्ण गरी गंगा स्थायी शिक्षकमा सिफारिस भइन् ।
जागिर खाइसकेर पनि उनको यत्तिमा धीत मरेन, उनले फेरि २०८० मा दिएको शिक्षक सेवा आयोगको परीक्षा दिइन् । त्यहाँ पनि सबै परीक्षामा उत्तीर्ण भएर अहिले माध्यमिक तहको शिक्षकमा सिफारिस भएकी छन् । यसरी उनले जतिपटक परीक्षा दिएकी छन् सबैमा लगातार सफलता हासिल गरेकी छन् । यत्ति मात्र होइन उनले सोही समयमा प्रदेश लोक सेवा आयोगले लिने परीक्षा पनि उत्तीर्ण गरेर उदाहरण बनेपछि अहिले गंगाको चर्चा छ ।

माध्यमिक तहमा सिफारिस भएको खुसीयाली सेलाउन नपाउँदै उनले फेरि प्रदेश लोक सेवा आयोग लुम्बिनीको प्राविधिक सहायक पदमा पनि नाम निकाल्न सफल भएको नतिजा आयो । अब उनलाई प्रास रोज्ने कि प्राध्यापन रोज्ने द्धिविधा छ ।
भविष्यको बारेमा बताउँदा उनले ठुलै सपना रहेको सुनाइन् । माध्यमिक तहमा पनि सिफारिस, अर्कोतर्फ प्रासको लिखित परीक्षा पनि उत्तीर्ण भएको हुनाले प्रासको अन्तर्वातापछि मात्र के रोज्ने भन्ने फाइनल गंगाको भनाई छ । जता गए पनि राम्रो गर्ने सोँच रहेको उनले सुनाइन् ।


सानैमा प्रथम, द्धितीय र तृतीय स्थान हासिल नगर्ने उनले उच्च र विश्वविद्यालयीय शिक्षामा भने निकै मिहिनेत गरेको अपि टाइम्सलाई सुनाइन् । सानैदेखि सरकारी जागिर खाने सोँच रहेकोमा अथहक मिहिनेतबाट नै सफलता मिलेको उनको अनुभव छ । उनले भनिन् ‘कपिलवस्तुका विद्यार्थी कमजोर होइनन् सरकारी जागिर खानुपर्दछ भन्ने स्कुलिङको कमी हो । त्यो खालको प्यासन हुने हो भने धेरैले नाम निकाल्न सक्नुहुन्छ । पहिलो कुरा हामी रेगुलर पढ्दैनौँ । परीक्षा आएपछि मात्र पढेर लोक सेवा, शिक्षक सेवामा नाम निकाल्न गारो हुन्छ । मिहिनेत गरेपछि नहुने केहि छैन । कपिलवस्तु लोक सेवामा पछि परेको भुगोलका कारण होइन हामीमा मिहिनेत नभएर हो ।’

आफ्नो सफलतामा श्रीमान र परिवारको ठुलो सहयोग भएको उनले बताइन् । गंगा अहिले वडा नम्बर ८ वण्डौली घर भएकी पौडेल अहिले त्यहाँकै जनसेवा आधारभुत विद्यालय उदयपुरमा अध्यापनरत छन् । माविमा सरुवा हुने ठाउँको अझै टुङ्गो छैन । उनले दोहोर्याउँदै भनिन् ‘निरन्तर मिहिनेता गर्ने हो भने सफलता टाढा छैन ।’

एकपटक परीक्षा दिएर भयो भनेर बस्न नहुने र नाम ननिस्किँदासम्म परीक्षा दिइरहन सके मात्र सरकारी जागिरको सपना साकार हुने उनको सन्देश छ ।
गंगाको यो सफलतापछि स्कुल, कलेजका शिक्षक, प्राध्यापक र अरु ब्यक्तिले पनि बधाई र शुभकामना दिइरहेका छन् । गंगाको यो निरन्तरको सफलता सिंगो जिल्लाबासीको लागि राम्रो उदाहरण भएको सिद्धार्थ क्याम्पसका सहायक क्याम्पस प्रमुख गोविन्द खनाल बताउँछन् ।