चन्द्रकान्त न्यौपाने , काठमाडौँ ।
‘कविता’
डियर क्रिकेट
हिजो तिमीलाई चिन्दैनथेँ
जान्दैनथेँ
बुझ्दैनथेँ
तिमी जवर्जस्त नजिक आएका थियौ मेरो
त्यो बेला
हो, त्यो बेलाको स्मरण छ मलाई
तिमीलाई वास्तै नगरेको
देखेर पनि देखेजस्तो नगरेको
बुझ्दै नबुझेको
तथापि
तिमी नआइरहन छोडेनौ
नेपाली ठिटाहरुलाई बोकेर
मेरो समिपमा
मनमा
मस्तिष्कमा
त्यसपछि
विस्तारै तिमीतिर सर्न थालेको हुँ
तिमीतिर पुलकित हुन थालेको हुँ
हेर्न थालेँको हुँ
बुझ्न थालेँको हुँ
डियर क्रिकेट तिमीलाई
जबजब तिम्रो आलिंघनमा बेरिन थालेँ
अर्कै अर्कै आभास दिन थाल्यौ
अनि भान हुन थाल्यो
साँच्चिकै तिमी त कति प्रिय रहेछौ
क्रमिक रुपमा तिमीसंग
गहिरिँदो प्रेम उम्लन थाल्यो
झाँगिन थाल्यो
जसरी लक्ष्मीप्रसाद देवकोटा र सिगरेटको
प्रेम झाँगिएको थियो
त्यसैले अचेल
तिमीलाई एकछिन पनि नहेरि
एकछिन पनि स्पर्श नगरी
यो मन धीर हुनै सक्दैन
अचेल तिम्रा प्रत्येक पदचापमा
च्यापिन मन लाग्छ
यतिसम्म कि
दापमा खुकुरी पो कति च्यापिएर बसेको होला र ?
डियर क्रिकेट
अब तिमी बिना बाँच्न नसक्ने भइसकेको छु
हाँस्न नसक्ने भइसकेको छु
किनकि तिमी भित्रै आशा भेटेको छु
उत्साह भेटेको छु
खुसी भेटेको छु
विश्व मञ्चमा सहभागिता भेटेको छु
अनि भेटेको छु
नेपाल
नेपाल
नेपाल
अनि सारा नेपाली !!
लेखनःमिति २०८० । ०७ गते समय शुक्रबार साँझ ८ ३० बजे
प्रतिक्रिया