मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अवस्था यति भयानक छ कि मान्छेहरु घरसंगै डराइरहेका छन्

अवस्था यति भयानक छ कि मान्छेहरु घरसंगै डराइरहेका छन्

अपि टाइम्स

जाजरकोट । भूकम्पले जाजरकोटको बारेकोट गाउँपालिकाका अधिकांश घरहरू क्षतविक्षत छन्।

मध्यरातमा ६।४ म्याग्नेच्युडको शक्तिशाली भूकम्पले बारेकोट(१ लाई केन्द्रबिन्दु बनाएपनि त्यहाँ कुनै मानवीय क्षति भने भएन।

तर गाउँपालिकामा रहेका झन्डै ३५ सय घरहरूमध्ये कुनैपनि घर बस्नयोग्य रहेन।

बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले ८० प्रतिशत घरहरू पुननिर्माण गर्नुपर्ने अवस्थामा रहेको जानकारी दिए।

अन्य घरहरूमा पनि उच्च जोखिममा रहेको उनले बताए।

शुक्रबार मध्यरातिको भूकम्पले तर्सिएका स्थानीय अहिले घरको वरिपरि समेत जान डराएका छन्।

दिनभर जसोतसो बसे पनि साँझ पर्दै गएपछि भूकम्प प्रभावितहरू हतास देखिएको अध्यक्ष गिरी बताउँछन्।

‘अवस्था अत्यन्त भयानक बनेको छ, मानिसहरू बारीका पाटामा र रूखका फेदमा आश्रय लिएर बसेका छन्,’ अध्यक्ष गिरीले भने।

चिसो बढेका कारण भूकम्प प्रभावितहरूको व्यवस्थापनमा कठिनाइ भइरहेको उनले बताए।

भूकम्प प्रभावितका लागि भनेर कर्णाली प्रदेश सरकारले राहत पठाएको भने पनि आफ्नो गाउँपालिकामा नपुगेको उनले बताए।

‘दिउँसो प्रमुख जिल्ला अधिकारीज्यू र प्रदेश सरकारका मन्त्रीहरुसँगको कुराकानीमा राहत सामग्री पठाइएको भनिएको थियो,’ उनले भने, ‘तर अहिलेसम्म आइपुगेको छैन।’

अध्यक्ष गिरीले भूकम्प प्रभावितका लागि तत्काल ३ हजार त्रिपाल र कम्बल तत्काल आवश्यक रहेको बताए।

ओड्ने र लत्ताकपडाको अभाव हुँदा प्रभावितहरू दाउरा बालेर आगो तापेर बस्नुको विकल्प नरहेको उनले बताए।

भूकम्प प्रभावितहरूमा बालबालिका, वृद्धवृद्धा र नवजात शिशुहरू पनि छन्।

उनीहरूको स्वास्थ्य र सुरक्षाका लागि गाउँपालिका र सम्बन्धित वडाका वडाध्यक्ष, स्थानीय जनप्रतिनिधि र युवा स्वयंसेवक खटिएको उनले बताए।

प्रभावितहरूले खानपिनका लागि केहीले आफैंले र केही स्थानीय सरकारले व्यवस्था गरेको छ।

प्रदेश सरकार र जिल्ला प्रशासनले भोलिसम्म राहत सामग्री पुग्ने भनेको उनले बताए।

राहतसँगै गाउँपालिकामा औषधी र स्वास्थ्यकर्मीको पनि अभाव भएको अध्यक्ष गिरीको भनाइ छ।

‘भूकम्प प्रभावितहरू अत्यन्तै अत्तालिएका छन्, उहाँहरूमा मनोवैज्ञानिक असर पनि पर्ने जोखिम छ,’ अध्यक्ष गिरीले भने, ‘मनोचिकित्सकहरूको पनि आवश्यक रहन सक्छ।

गाउँपालिकाका स्वास्थ्य प्रमुखलाई नलगाड नगरपालिकामा खटाइएको छ।

मध्यरातमा आएको भूकम्पमा परी जाजरकोटका १०५ जनाले ज्यान गुमाएका छन् भने रूकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ।

भूकम्पका कारण दुई जिल्लाका हजारौं नागरिक सडकमा आश्रय लिन बाध्य छन्। सेतोपाटी