मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वाणगंगा माविमा अध्यक्ष चयनको प्रकृया वैध कि अवैध ? पढ्नुहोस् कायाकैरन

वाणगंगा माविमा अध्यक्ष चयनको प्रकृया वैध कि अवैध ? पढ्नुहोस् कायाकैरन

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने

काठमाडौँ । कपिलवस्तुको बाणगंगा उच्च मावि गजेहडाले ८ बर्षपछि विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष पाएको छ । वडा नम्बर ४ निवासी समाजसेवी कृष्ण कुँवरलाई विद्यालय व्यवस्थापन समितिका उपस्थित सदस्यको बहुमतले सोमबार अध्यक्ष चयन गरेको हो । यद्यपी कुँवरलाई अध्यक्ष चयन गरिएसंगै बिभिन्न प्रश्नहरु बाहिर आएका छन् । अध्यक्ष चयनमा असन्तुष्ट रहेको एमालेका प्रतिनिधिले विद्यालय व्यस्थापन समितिका सदस्य सचिव एवम् विद्यालयका प्रधानाध्यापक राम प्रसाद भण्डारीलाई प्रकृया मिचेर आफूहरुको सहभागिताबिना वैठक डाकेर जवर्जजस्त अध्यक्ष चयनमा भूमिका खेलेको आरोप लगाएका छन् भने प्रअ भण्डारीले आफुले कुनै प्रकृया नमिचेको दावी गरेका छन् ।

खासमा के भएको थियो ?
विद्यालयमा लामो समय ब्यवस्थापन समितिको अध्यक्ष चयन नभएको विषय अरु बेला पनि बाहिर आएको थियो । आजभन्दा ७ बर्ष पहिले गणेश चौधरी अध्यक्ष भए पनि उनी भूमिगत भएपछि विद्यालयमा अध्यक्ष थिएनन् । अध्यक्ष नहुँदासम्म स्थानीय सरकार संचालन ऐन अनुसार वडा अध्यक्ष छविलाल रेश्मी अध्यक्ष थिए ।

नगरशिक्षा नियमावली २०७४को परिच्छेद ५ को विद्यालय ब्यवस्थापन समिती सम्वन्धि ब्यवस्था अन्तर्गत नियम २७ (१)को ३ मा विद्यालय ब्यवस्थापन समितीको अध्यक्ष छनौट नभए सम्मका लागि वा अध्यक्षको अनुपस्थितीमा सम्वन्धित वडाध्यक्षको अध्यक्षतामा बैठकवसी निर्णय गर्ने प्रावधान छ । त्यसै अनुसार प्रकृया अघि बढेको थियो ।

नियमअनुसार प्रतिनिधि चयनको काम पनि अघि बढ्यो । सबैको सहमतिमा प्रतिनिधि चयनको कुरा पनि सकियो । प्रतिनिधि चयन भएपछि वडा अध्यक्ष रेश्मी स्वतहः पदेन सदस्य रहे । त्यसपछि सदस्य सचिव भण्डारीले विद्यालयमा १५ कार्तिकमा समितिको वैठक डाके । त्यो १५ कार्तिकको वैठक वडा अध्यक्ष रेश्मीकै आग्रहमा राखिएको थियो । वडा अध्यक्ष रेश्मीलाई पटकपटक वैठकमा अध्यक्षता गर्न आह्वान गरिए पनि नआएपछि भण्डारीले जेष्ठ सदस्य हरि पौडेलको अध्यक्षतमा बैठक बसाले ।

त्यतिखेर समितिका सदस्यको बहुमत पनि थियो । गणपुरक संख्या पनि पुगेको थियो, सदस्य सचिव भण्डारीले भने ‘वडा अध्यक्ष वैठकको अध्यक्षता गर्न आउनुभएन त्यसपछि जेष्ठ सदस्य हरि पौडेलको अध्यक्षतामा समितिको वैठक बस्यौँ । नगरलाई पनि जानकारी गरायौँ ।’

तर १५ कार्तिकको वैठक एमालेका प्रतिनिधिले भने वहिष्कार गरे । त्यसपछि उनीहरुले पनि नगरलाई गुहारे । यता नगर शिक्षा समितिको वैठकले भने भण्डारीले डाकेको वैठकलाई बदर गरी पुनः कार्तिक २० मा वैठक राख्न भनेको थियो । शिक्षा समितिका सदस्य सचिव खिम वाहादुर जिसीले १५ गतेको वैठक बदर भएको भन्दै अव आइन्दा नियमावली अनुसार नै बैठक ब्यवस्थापन गर्न निर्देशन दिएका थिए ।

यतिबेलासम्म एमालेका प्रतिनिधि अध्यक्ष चयन हुने पक्का थियो । मदन शाहीलाई अध्यक्ष बनाउने समितिमा एक प्रकारको सहमति बन्दै थियो । त्यति नै बेला कृष्ण कुँवरको इन्ट्रि भयो । समितिका बहुमत सदस्यले कोल्टो फेरे । उनीहरु कुँवरको पोल्टामा आए । त्यसपछि कुँवर अध्यक्ष बन्ने पक्का भयो । विद्यालय ब्यवस्थापन समिति चयनको यो विषय मिडियामा पनि आयो । यसले खैलाबैला मच्याइरहेको थियो ।

समाचारपछि एमालेका प्रतिनिधि चिढिए । आफ्नो पक्षमा अध्यक्ष नआउने भनेपछि उनीहरु १५ गतेको वैठकलाई अबैध मान्दै बिभिन्न निकायमा धाए । सकेसम्म १५ को वैठकलाई अवैध गराउने र फेरि वैठक बस्ने उनीहरुको चाहाना थियो । यता समितिका बहुमत सदस्यले भने सबै प्रकृया मिलिसकेको भएकाले चाँडै बैठक बसेर बसेर अध्यक्ष चयन गर्नुपर्ने भन्दै सदस्य सचिवलाई दबाब दिइरहेका थिए ।

यता एमालेका प्रतिनिधिले पनि भण्डारीलाई वैठक नडाक्न दबाब दिइरहेका थिए । दुवै पक्षको चपेटामा परेका भण्डारीले यहि बीचमा सोमबार ज्येष्ठ सदस्य हरि पौडेलको अध्यक्षतामा वैठक राखेर समितिका सदस्यको बहुमतमा कृष्ण कृँवरलाई अध्यक्ष चयन गरे । कुँवरलाई अध्यक्ष चयन गरेको वैठक एमाले र वडा अध्यक्षले वहिष्कार गरेका थिए ।

त्यसपछि नगर शिक्षा समितिको लिखित निर्देशनलाई विद्यालयले ठाडो चुनौती दिएको भन्दै समाचार आयो । एक स्थानीय मिडियाका अनुसार बणगंगा नगरका शिक्षा शाखा प्रमुख खिम वहादुर जिसीले नगरको शिक्षा समितीको सर्बसहमत निर्णयलाई अवज्ञा गर्ने विद्यालयले कानुनी कठघारामा उभिएर कडा मूल्य चुकाउनु पर्ने बताएका छन् । उक्त मिडियाकै अनुसार वडा नं ४ अध्यक्ष छवि रेष्मीले विद्यालयका निमित्ति प्र.अ. राम प्रसाद भण्डारीले नगरपालिका र नगर शिक्षा समितीको निर्णय र नगर शिक्षा नियमावलीको उलंघन गरेपछि कानुनी उपचार खोजीने बताएका छन् । यसपछि अध्यक्ष चयनको वैधानिकताबारे धेरै प्रश्नहरु आएपछि अपिटाइमसले खोज गरेको छ ।

के भन्छन् भण्डारी ?
नगर शिक्षा नियमावलीको उलंघन गरेको र पेलेर एकलौटी अध्यक्ष भूमिका खेलेको आरोप खेपेका सदस्य सचिव भण्डारीले भने आफुले कुनै पनि तवरबाट प्रकृया नमिचेको र नगरको शिक्षा समितिको निर्देशनको अवज्ञा नगरेको बताएका छन् ।
उनले भने, ‘मैले प्रकृया मिचेको छैन । वैठक पनि प्रकृया अनुसार नै बसिएको छ । यहाँ ममाथि ठुलो राजनीति भइरहेको मैले बुझेको छु ।’

भण्डारीले थपे ‘१५ कार्तिकको वैठकमा अध्यक्षता गर्न पनि वडा अध्यक्षलाई पटकपटक भनेको हुँ । सोमबार पनि पटकपटक आग्रह गरेको हुँ । उहाँ नै अध्यक्षता गर्न नआएपछि नियमअनुसार ज्येष्ठ सदस्य हरि पौडेल ज्यूको अध्यक्षतामा वैठक बसेर अध्यक्ष चयन गरिएको छ । ४ जना प्रतिनिधि चयन रेश्मीकै मञ्जुरीकै भएको थियो उहाँहरुले नै कुँवरलाई अध्यक्ष चयन गर्नुभएको हो ।’

नगर समितिको लिखित पत्रको कन अवज्ञा गर्नुभयो भन्ने अपि टाइम्सको प्रश्नमा उनले भने ‘पत्र मकहाँ आएको छ । स्कुल समय सकिएपछि पत्र घरमा आएको छ । बुधबार दर्ता हुन्छ । घरमा पत्र लगेर दिएर दर्ता भएन भन्नुको काँचोपन हो । प्रकृया नमिलेको खण्डमा मलाई अफ्ट्यारोमा पार्ने काम गर्न भन्दा कानुनी उपचारमा जान आग्रह गर्दछु ।

भण्डारी भन्छन् ‘ब्यवस्थापन समितिले गरेको निर्णय बदर गर्न माग गर्ने कुरा कहिँ कतै लेखिएको छैन । नगर शिक्षा समिति र वडा शिक्षा समितिको काम कर्तव्य र अधिकारमा कुरा कहिँ लेखिएको छैन नगरले कसरी यस्तो पत्र काट्यो प्रश्न छ ।’

विद्यालयमा मनोमानी गर्दै आएको कुरा पनि मिडियामा आएको छ भन्ने प्रश्नमा भण्डारीले भने’ म आएपछि विद्यालयको शैक्षिक गुणस्तर राम्रो भएको छ । नतिजा राम्रो छ । मलाई हटाउने एक थरीको चाहाना थियो पुरा नभएपछि जेजे आरोप लगाए पनि भयो । आफुमाथि लागेका आरोप पुष्टि गर्न भण्डारीको चुनौति छ ।’

प्रधानाध्यापक भण्डारीले आफूमाथि अनुचित दबाब आएको र त्यो नमानेको बताए । उनले शिक्षक र अभिभावकबाट प्रतिनिधि छनौट गर्दा सबै प्रकृया पुगेको बताए ।

वडाध्यक्ष रेश्मी भन्छन् ‘अवैधानिक अध्यक्ष स्विकार्य छैन, प्रअले मनोमानी गरे
यता वडा अध्यक्ष रेश्मीले अहिलेको अध्यक्ष चयन पुर्णरुपमा अवैधानिक रहेको भन्दै आफूले कानुनी उपचार खोज्ने बताए । रेश्मीले प्रतिनिधि छनौटदेखि नै त्रुटी रहेको र प्रधानाध्यापकले एकलौटी गरेको उनको आरोप छ ।
कार्तिक १५ को वैठक पनि अवैध रहेको र यसबारे नगर शिक्षासमितिलाई जानकारी गराएपछि समितिले दिएको लिखित आदेश पनि भण्डारीले नमानेको रेश्मीको आरोप छ ।

प्रअ भण्डारीले आफूअनुकुल हुने गरी कसैसंग सल्लाह नगरी १८ जना नीजि श्रोतमा शिक्षक भर्ना गरेको, त्यसैको आधारमा शिक्षक प्रतिनिधि चयन गरेको, आफ्नो सहभागिताबिना बैठक डाकेको, नगरको पत्र बुझ्न आनाकानी गरेको लगायतका आरोप वडा अध्यक्ष रेश्मीले लगाए ।
कार्यालयसमयभित्र नगरको पत्र नआएको भन्ने प्रअको भनाईलाई खण्डन गर्दै रेश्मी भन्छन् ‘अघिल्लो दिन दिउसो ३ बजेदेखि नगर प्रहरी पत्र लिएर गएको छ । भण्डारीलाई नभेटेपछि घर पनि पुगेका छन् । पटकपटक फोन हानिएको छ । उहाँले फोन उठाउनु भएन । त्यसपछि घरमा उहाँकी श्रीमतीलाई पत्र बुझायौँ । उहाँले सोमबार सात बजे वैठक राख्नुभएको छ भन्ने थाहा भएपछि मैले ५ बजेदेखि नै उहाँलाई भेट्न खोजेँ । तर सकिएन ।’

उनले थपे मेरो अध्यक्षताविना बैठक बसाल्ने, नगर शिक्षा समितिको निर्णय नमान्ने गर्न त भएनन् नि भन्दा उहाँ बोल्नुभएन । शिक्षा नियमावली मान्नु हुँदैन भन्दा उहाँले मान्दिनँ भने र ठाडै इन्कार गर्नुभयो ।

उनले भने ‘काठमाडौँमा स्थानीय सरकारको कानुन चल्छ यहाँ चल्दैन ? अध्यक्षको चयनको प्रकृया सबै अवैध छ । म कानुनी उपचार खोज्छु ।’ उनले प्रअ भण्डारीले स्कुलमा बसेर बेतिथि मच्चयाएको आरोप लगाए । उनले अपिटाइम्सलाई भने बाणगंगा मावि र प्रअका मसंग ५० वटा न्युज छन् छाप्नुहुन्छ भने म प्रमाणसहित दिन्छु ।

यता प्रनिनिधि छनौटमा प्रकृया मिचेको आरोप लागेपछि फेरि भण्डारीसंग अपिटाइम्सले बुझ्ने प्रयास गर्यो । वडा अध्यक्षको त्यो आरोपको उनले ठाडै खण्डन गरे । उनले भनेका छन् ‘नगर शिक्षा शाखा प्रमुख तथा सदस्य सचिवको अध्यक्षतामा वैठक बसियो । विद्यालयका तिनै वडा अध्यक्ष रेश्मी, पूर्व अध्यक्ष गणेश क्षेत्री, विद्यालयका पूर्व अध्यक्ष गणेश चौधरीको सहभागितामा शिक्षक प्रतिनिधि छनौट गरिएको हो । वडा अध्यक्ष रेश्मीले छनौट गरेको प्रतिनिधिले नै उनलाई भोट दिन्नन् भने मेरो के दोष ? मसंग पुरै प्रमाण छन् । म कत्ति पनि चुकेको छैन ।’

यता नगरपालिकाको ब्यवस्थापन समितिको वैठक सम्बन्धि कार्यविधिमा पनि ब्यवस्थापन समितिको वैठकको अध्यक्षता अध्यक्षले र निजको अनुपस्थितिमा ज्येष्ठ सदस्यले गर्नेछ भन्ने उल्लेख छ ।

वैठकको अध्यक्षता गरेका हरि पौडेल के भन्छन् ?

यता वैठकको अध्यक्षता गरेका हरि पौडेलले सबै प्रकृया पुरा भएको बताए । १५ गतेको वैठक पनि वडा अध्यक्ष रेश्मीकै आग्रहमा राखिएको र त्यहाँ पनि रेश्मी अनुपस्थित रहेको, सोमबारको अध्यक्ष चयनको वैठकमा रेश्मीलाई नै अध्यक्षता ग्रहण गर्न पटकपटक आग्रह गरिए पनि नमानेपछि ज्येष्ठ सदस्यको हैसियतले अध्यक्षता गरेको पौडेलले बताए ।

‘वैठक स्थलमा आएर पनि रेश्मीले अध्यक्षता गर्न चाहानु भएन । उहाँको नियत नै खराब रहेछ । विद्यालयमा राजनीति गर्ने उहाँ र पार्टीको योजना थियो असफल भएपछि जे पनि गरिरहनुभएको छ’, पौडेलले भने । एमाले र र वडा अध्यक्षको असहमतिले कुनै फरक नपर्ने भन्दै भेलाले प्रतिनिधि चयन गर्ने प्रकृया सुरु गरेपछि वडा अध्यक्ष स्वतहः पदेन सदस्यमा झरेर सदस्यकै हैसियतमा आएपछि रेश्मीले मैले अध्यक्षता गर्न पाइनँ भन्न नसुहाउने उनले बताए ।

समितिका ४ जना प्रतिनिधि पनि उहाँहरुकै सहमतिमा चयन भएको हो पौडेलले प्रश्न गरे ‘यहि समितिले अध्यक्ष चयन गर्दा कसरी अवैध भयो ? समितिका बहुमत सदस्य एक ठाउँ छौँ । एकदुइजना एकातिर हुनुहुन्छ । उहाँहरुको कारण विद्यालयलाई कहिलेसम्म बन्धकमा राख्ने ? आफुहरुको अध्यक्ष बन्ने र स्कुल कब्जा गर्ने साथीहरुको सपना पुरा नभएपछि प्रअमाथि बिभिन्न आरोप लगाउनु भएको छ । अध्यक्ष चयनलाई मान्नुभएको छैन । दुनियाँले यो सबै बुझेको छ । जेजे गर्नुहुन्छ हेर्दै जाऔँ । उहाँहरुले नगर गुहार गर्नुभएछ । नगर पनि उहाँहरुकै त हो ।’ पौडेलले सोमबार अध्यक्ष रेश्मीले वैठक अवरोध गर्न सबै काम गरेको आरोप लगाए । एक डेढ घण्टासम्म धम्क्याउने लगायतका काम रेश्मीबाट हुनु दुखद् रहेको उनले सुनाए ।

पूर्व वडा अध्यक्ष क्षेत्री यसो भन्छन् ?

वडाका पूर्व वडा अध्यक्ष गणेश बहादुर क्षेत्री अध्यक्ष चयन अवैधानिक भएको मान्दैनन् । उनी भन्छन् ‘सरर हेर्दा प्रकृयागत नै देखिन्छ । १५ गतेको वैठक रेश्मीकै पत्रको आग्रहमा बसेको देखिन्छ । त्यो वैठक पनि उहाँले अवज्ञा गर्नुभएछ । ४ जना प्रतिनिधि छनौट पनि उहाँकै सहमतिमा भएको हो । म पनि थिएँ प्रतिनिधि छनौटमा । अध्यक्ष चयन गर्ने वैठकमा उहाँ पनि हुनुहुन्थयो त्यहि भएर पनि किन बैठकमा बस्न मान्नुभएन ? असहमतिका कुरा वैठकमा राख्नुपर्ने हो । वैठक नै बस्न नमानेको, अध्यक्षता नै ग्रहण गर्न नमानेको कारण के हो जान्न सकिएन । वैठक बस्न नमान्नुमै उहाँको नियत खराब देखिन्छ । रेश्मी आफैले चयन गरेका सदस्यले उहाँलाई समर्थन गर्दैनन् भने प्रअमाथि र प्रकृयामाथि के दोष लगाउनु ?’

क्षेत्रीले बदर पत्र काट्न हतार गरेर पूर्वाग्रह साँधेको आरोप लगाए । ‘अध्यक्ष चयन भएको थिएन । वैठक बस्न नै बाँकी थियो । रातारात नगर शिक्षा समितिले बदरको पत्र काटेछ । यो हतार जरुरी थिएन नि । यसबाट पनि वडा अध्यक्ष र नगर शिक्षा समितिबीच केहि रहेको पुष्टि हुन्छ,उनले भनेका छन् । चित्त नबुझेको कुरामा अदालत जाने छुट सबैमा रहेका कारण अदालती प्रकृयाले वडा अध्यक्ष रेश्मीलाई नै हानी गर्ने उनको भनाई छ ।

अध्यक्ष कुवँर भन्छन्

ब्यवस्थापन समितिको अध्यक्ष चयन भएका कुँवरले आफ्नो उपस्थितिले एमालेहरु अत्तालिएको बताए । उनले भने ‘यति सानो विषयमा उहाँहरुले के गर्नुभएन ? वडा अध्यक्षको पनि हैसियत बुझियो यतिसम्म होलान् रेश्मी भन्ने मैले ठानेको थिइनँ । एमालेका साथीहरुको विद्यालयको राजनीति गर्ने दाउ थियो पुरा भएन अनि पानीमुनिको माछो झैँ छट्पटिनुको नाकमुख सुकेको छ ।’
उनले आफू नभएको भए वैठकका माइन्युट च्यात्नेस्सम्मका घटना हुनसक्ने औँलयाए । उनले भने ‘सदस्यलाई वैठकमा जान नदिन बाटो छेक्नेसम्म तयारी गरेर बस्नुभएको रहेछ । प्रअलाई धम्की दिने लगायतका काम पनि गर्नुभएछ । म नभएको भए जे पनि हुन सक्थयो । यस खालको हर्कतको विषयमा मैले नगर प्रमुख चक्र अर्याललाई पनि भनेको छु । प्रकृया नमिलेको भए कानुनी उपचारमा जानुहोस् भनेको छु ।

वडा अध्यक्ष रेश्मीले आफूले वैठक अवरोध गर्ने, प्रअलाई धम्क्याउने लगायतका कुनै गतिविधि नगरेको दावी गरेका छन् ।

उनले थपे ‘तर मैले विद्यालय नमुना बनाएरै छोड्छु । म विद्यालयमा सुधार गर्न आएको हुँ, राजनीति गर्न आएको होइनँ । अभिभावकलाई अनुरोध छ धैर्य गर्नुहोला । विद्यालय नमुना बन्छ ।’

यता सरोकारवालाले भने भित्री कुरा केहि थाहा नभएको भन्दै ढिलै भए पनि अध्यक्ष चयन हुनलाई सकारात्मक रुपमा लिनुपर्ने बताउँछन् । जो आए पनि विद्यालयलाई सबैले राजनीति गर्ने भाँडो बनाउन उनीहरुको सुझाव छ ।

राजनैतिक आग्रह पूर्वाग्रहमा कसैले पनि विद्यालयलाई अनिर्णयको बन्दी बनाउन नहुने धेरै बताउँछन् । स्थानीय सरकार संचालन ऐनमा हरेक सामुदायिक विद्यालयमा अनिवार्य रुपमा एकएक वटा विद्यालय ब्यवस्थापन समिति चयन गनुर्ने ब्यवस्था छ ।