मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तु उद्योग वाणिज्य संघमा अब कसको नेतृत्व ? यस्तो छ चर्चा

कपिलवस्तु उद्योग वाणिज्य संघमा अब कसको नेतृत्व ? यस्तो छ चर्चा

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने

कपिलवस्तु । कपिलवस्तु उद्योग वाणिज्य संघको अधिवेशन मिति नजिकै आउँदै छ । १४ औँ बार्षिक साधारण सभा तथा सातौँ अधिवेशनबाट ७७ माघमा डोलकराम घिमिरे अध्यक्ष चयन भएका थिए । उनको ३ बर्षे कार्यकाल अब सकिँदै छ । तोकिएकै मितिमा भए संघको १५ औँ बार्षिक साधारण सभा तथा आठौँ अधिवेशन आसन्न माघ २३ र २४ गते हुने छ ।

संघको अधिवेशन मिति नजिँकिदै गर्दा अबको नेतृत्वबारे चर्चा सुरु हुन थालेको छ । श्रोत अनुसार संघका अध्यक्ष डोलकराम घिमिरे अब दोहोरिने मुडमा छैनन् । यदि उनले मुड बनाए पनि धेरैले घिमिरेलाई स्विकार गर्न सक्ने अवस्था छैन । लोकप्रिय मतसहित संघमा वरिष्ठ उपाध्यक्षमा चयन भएका छवि रेश्मी अहिले वडा नम्बर ४ का वडा अध्यक्ष छन् । रोलक्रम र दावीको आधारमा अध्यक्षमा दावी गर्ने उनको पालो स्वभाविक थियो ।

तर जनप्रतिनिधि रहेका कारण उनको अध्यक्ष दौड सकिएको छ । संघका हालका महासचिव मनोज पौडेल छन् । अहिल्यै अध्यक्षमा दावी प्रस्तुत गर्ने पौडेलको योजना नभएको बताइन्छ ।
पदाधिकारीलाई छोडेर हेर्दा अबको अध्यक्षमा पूर्व सल्लाहाकार तथा पूर्व उद्योग उपाध्यक्ष गणेश बहादुर क्षेत्री, पूर्वउपाध्यक्षरुक बहादुर भुसाल, ७७ मा अध्यक्षमा पराजित भएका टोप नारायण बेलबासे, पूर्व सल्लाहाकार गुणनिधि भुसाल, कृष्ण पोख्रेलमध्येबाट कोही आउन सक्छन् ।

यीमध्ये काँग्रेसतर्फबाट अध्यक्षका प्रमुख दावेदार रुक बहादुर भुसाल र गणेश बहादुर क्षेत्री रहन सक्छन् भने कृष्ण पोख्रेलले पनि सिनियरको हिसाबले रुची राख्न सक्ने सम्भावना छ । भुसाल र क्षेत्रीलाई रोकेर पोख्रेल आउने सम्भावना नरहेको बताइन्छ । भुसाल वन पैदावारको लुम्बिनी प्रदेश अध्यक्ष रहेका कारण उनले सल्लाहमै क्षेत्रीलाई अध्यक्षमा अघि सार्ने सम्भावना छ । क्षेत्री निवर्तमान वडा अध्यक्ष रहेका कारण पनि काँग्रेसबाट उनको नाम अघि आउने सम्भावना छ ।

संघको अबको अध्यक्षबारे त्यस्तो कुनै छलफल र कुरा नचलेको क्षेत्रीले अपिटाइम्सलाई बताए । सबैको सल्लाह र समर्थन रहेमा अध्यक्ष बन्न आफ्नो सबै योग्यता पुग्ने भन्दै क्षेत्रीले अप्रत्यक्ष रुपमा अध्यक्षको दौडमा जान सक्ने संकेत दिए । उनले भने अझै यसबारे छलफल भएको छैन । पूर्व अध्यक्षसंग छलफल हुन बाँकी नै छ ।

यसबारे केहि सोँचेको छैन । सबैले अघि बढ्नुपर्छ भन्नुभएको छ । अवसर पाए संघलाई हाँकेर लैजान सकिन्छ । त्यो खालको अनुभव पनि छ । उनले आफूभन्दा सिनियर रुक बहादुर भुसाल, कृष्ण पोख्रेल लगायत रहेको पनि बताए । भुसालको फोन भने उठेन ।
पार्टीगत रुपमाभन्दा एमालेबाट अबको अध्यक्ष दावी गर्ने पालो छवि रेश्मीको हो । तर उनी वडा अध्यक्ष रहेका कारण त्यो सम्भावना छैन । यो भएपछि एमालेमा अध्यक्ष दावी गर्ने त्यस्तो नाम छैन । नाम आउनेमा अहिले गुणनिधि भुसाल छन् । उनीपछि पूर्व कोषाध्यक्ष तथा अहिलेका लेखा समितिका संयोजक मोहन न्यौपाने रहेको बुझिन्छ ।

भुसालको रुची नभएको स्थितिमा अध्यक्षमा त्यस्तो शक्तिशाली पात्र एमालेमा अरु देखिन्नन् । तर गुणनिधि भुसालको भने फोन उठेन । तथापि एमालेबाट अध्यक्ष भएका पूर्व अध्यक्षहरुसंग बुझ्दा भुसाल पनि अघि आउन सक्ने सम्भावना छ । भुसालनिकटका केहि ब्यक्तिले उपयुक्त पात्र आए भुसालले छोड्न तयार रहेको सुनाए ।

क्षेत्री र भुसालद्धयबाहेक अध्यक्षका सबैभन्दा शक्तिशाली पात्र टोप नारायण बेलबासे हुन सक्छन् । पार्टीगत रुपमा माओवादी खेमाका रहे तापनि अध्यक्ष बन्ने सबैभन्दा बढी सम्भावनामा बेलबासे नै रहेको बुझिन्छ । एमाले र काँग्रेसका केहि पूर्वअध्यक्षहरु, ब्यवसायीहरु पनि बेलबासेको पक्षमा उभिएको देखिन्छ । यस विषयमा बुझ्दा बेलबासेले सबैको साथ रहेमा उद्योग वाणिज्य संघको नेतृत्व लिन तयार रहेको अपिटाइम्सलाई जानकारी दिए ।

उनले भनेका छन् ‘सबै ब्यापारी, ब्यवसायीको चाहाना एक पटक बेलबासे नेतृत्वमा पुगोस् भन्ने रहेको मैले पाएको छु । मलाई काँग्रेस, एमाले लगायतबाट पनि समर्थन र सहयोग रहन्छ जस्तो लाग्छ । मलाई लाग्छ यसपटक संघमा चुनाव नहोला म सर्वसम्मत चयन हुन सक्ने सम्भावना छ ।’

सके आफ्नो पक्षमा सर्वसम्मत हुने र चुनाव भए पनि लड्न तयार रहेको उनले बताए । बेलबासेले थपे ‘संघ हाँक्ने अनुभव र त्यो सक्षमता अहिले मसंग छ । मलाई साथीहरुले अध्यक्ष बन्न भन्नु भएको छ । र पालो पनि स्वभाविक रुपमा मेरै हो जस्तो लाग्छ ।’ ब्यवसायीहरु भने चुनाव नगराएर सर्वसम्मतिबाट अध्यक्ष चयन गनुपर्नेमा रहेका बताइन्छ । कतिपय बयक्तिले नयाँ अनुहारलाई अब अध्यक्ष बनाउनुपर्ने बताउँछन् ।

जिल्लामा अरु ब्यापार तथा बाणिज्य संघ भए पनि हरेक हिसाबले कपिलवस्तु उद्योग वाणिज्य संघ अघि छ । यहाँको नेतृत्वलाई राजनैतिक रुपमा अघि जाने आगामी सम्भावनाको रुपमा पनि हेर्ने गरिन्छ । त्यसकारण यहाँको नेतृत्व लिन तँछाड मछाड हुने गर्दछ । संघ भौतिक रुपमा पनि समपन्न छ । निवर्तमान अध्यक्ष उमानाथ पौडेलको नेतृत्वमा संघले ३ तले भवन निर्माण भएको थियो ।