मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यसकारण भित्रने छन् ‘१४ औँ कपिलवस्तु महोत्सव’ मा अढाइ लाख दर्शक

यसकारण भित्रने छन् ‘१४ औँ कपिलवस्तु महोत्सव’ मा अढाइ लाख दर्शक

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने

काठमाडौँ । मंसिर महिना लाग्नासाथ मेला र महोत्सवको सिजन सुरु हुने गर्दछ । मंसिरबाट सुरु भएको यो सिजन लगभग फागुन महिनासम्म जारी रहन्छ । मंसिर महिनामै देशभर महोत्सवको चटारो छ । लुम्बिनी प्रदेशका बिभिन्न जिल्लामा पनि अहिले मेला र महोत्सवको चटारो छ ।

रुपन्देहीको भैरहवा, तिलोत्तमा र सैनामैनामा पालिकाले अहिले मेला र महोत्सव आयोजना गरिरहेका छन् । कपिलवस्तुमा पनि एकै महिनामा २ वटा महोत्सव हुँदैछन् । मंसिर १४ गतेदेखि २४ गतेसम्म होटेल तथा रेष्टुरेन्ट व्यवसायी संघले महोत्सव गर्दैछ भने वाणगंगामा बाणगंगा वेलफेयर सोसाइटीले चौधौँ कपिलवस्तु महोत्सव आयोजना गरेको छ ।

रुपन्देहीमा लागेकामध्ये छैठौँ सैनामैना महोत्सव फेलउन्मुख छ भने तिलोत्तमा र भैरहवामा लागेको महोत्सव पनि आशादित भइरहेको देखिदैन । ती महोत्सवमा दर्शकको उपस्थिति त्यति देखिन्न भने कारोबार पनि सन्तोषजनक नभएको ब्यापारीहरु बताउँछन् । गोरुसिंगेमा हुने दोश्रो बुद्धभूमि महोत्सव कस्तो हुने हो हेर्न बाँकी छ ।

तर जहाँ जे भए पनि बाणगंगा वेलफेयर सोसाइटी भने १४ औँ कपिलवस्तु महोत्सव सफल हुनेमा विश्वस्त छ । उसो त नेपालभर सफल हुने महोत्सव अन्तर्गत गन्नमा आउँछ कपिलवस्तुमा लाग्ने महोत्सव । उद्योग वाणिजय संघले लगाउँदा होओस् अथवा वेलफेयरले लगाउँदा होओस् बुद्ध रंगशालामा लगाइने महोत्सव फलप हुन्न । आयोजकको लक्ष्यअनुसार दर्शक भित्रने र कारोबार हुने गरेको विगत छ ।

यसपटक पनि वेलफेयर सोसाइटीले त्यहि विगतलाई अझै उचाइमा पुर्याउने लक्ष्य राखेको छ । लक्ष्य राखिएको अढाइलाख दर्शक जसरी पनि भित्र्याउने तयारीमा वेलफेयर सोसाइटी छ । त्यसपछाडी खास कारण छन् ।

यस्ता छन् खास आधार

वेलफेयर त्यस्तो क्लव हो जसले महोत्सव लगाउने सवालमा नेपालमै चर्चा बटुल्छ । प्रस्तुति राख्न आउने कलाकार होऊ्न् अथवा ब्यापारी अथवा सरोकारवाला यहाँको तयारी र मिहिनेत देखेर प्रसंसा गर्दछन् । कलाकार छनौट, मंचको सजावट, मनोरञ्जनका कुराहरु भित्र्याउन चतुर छ वेलफेयर ।

यत्ति मात्र होइन महोत्सवमा जहिले पनि केहि न केहि नयाँ नै गरिरहेको हुन्छ । विगतमा हेलिकप्टर सफारी लगायतको काम पनि वेलफेयरबाट भएको थियो । त्यहि नयाँपनलाई निरन्तरता दिँदै वेलफेयरले यसपटक पनि नयाँपन ल्याएको छ त्यो हो रेस्लिङ प्रतियोगिता ।

आयोजकको यो निर्णयसंगै पश्चिम नेपालभर रेस्लिङको चर्चा हुन थालेको छ । चर्चित रेस्लरहरु भित्राउने गरी मुना श्रेष्ठ (ड्रयागन लेडी) ले यस प्रतियोगिताको नेतृत्व गरेकी छन् । उनको लडाई हेर्न यसपटक पश्चिम नेपाल आतुर देखिन्छ ।

आयोजक वेलफेयरका अध्यक्ष तथा मेलाका संयोजक राजकुमार खाँण भन्छन् ‘रेस्लिङ यसपटकको पहिलो आकर्षण हो । मनोरञ्जनमा विश्वभरका मानिसले रुचाउने यो खेललाई भित्राउन पाउँदा निकै खुसी लागेको छ । यस खेलले पनि हजारौँ दर्शक भित्र्याउनेमा हामी विश्वस्त छौँ ।’

उनले माघ २२ र २३ गते रेस्लिङ हुने जनाए । रेस्लिङमा नेपाल र भारतको फाइट हुने भएकाले छिमेकी राष्ट्र भारतबाट पनि दर्शक ओइरने उनले विश्वास ब्यक्त गरेका छन् ।

महोत्सवका निर्देशक तथा सोसाइटीका महासचिव बुद्धि बहादुर रोकाले रेस्लिङसंगै कृषि पर्यटन र औद्योगिक प्रदर्शनी, सर्वाधिक राशीको १२ औँ कपिलवस्तु डान्स आइडल, वाणगंगा नगरपालिकाको कृषि प्रदर्शनी, आइटी, बाल उद्यान र बिभिन्न मनोरञ्जनका खेलहरु (पीङ, डुङ्गा, ड्रयागन) पनि दर्शक भित्र्याउने सेतुको रुपमा रहनेछन् । यस्तै स्थानीय कला संस्कृति पनि आकर्षणको अर्को महत्वपूर्ण कारण हुने उनले बताए ।

उनका अनुसार सांस्कृतिक कलाकारको छनौट पनि मेलाको मुख्य आकर्षण हुने उनले बताए । यसपटक पनि चर्चित र नाम चलेका प्रतिभाशाली कलाकारलाई मंच चलाउने निर्देशक रोकाले बताए ।

महोत्सवमा यसपटक मुक्तिनाथ मन्दिरको झल्को दिने गरी प्रवेशद्धार बनाइने छ । यो पनि दर्शकको फोटो खिच्ने खालको हुने बताइएको छ । यस किसिमको प्रवेशद्धार यस क्षेत्रमा पहिलोपटक नै बनाउन लागिएको आयोजकको दावी छ । यस्तै महोत्सवकोभित्र बुद्ध जन्मस्थल लुम्बिनीमा देख्न पाइने शान्ति दीपलाई पनि मोडलको रुपमा देखाउने आयोजकको तयारी छ । यसलाई सचिवालयको नजिक राख्ने तयारी वेलफेयरले गरेको छ । यस्तै महोत्सवस्थलभित्र बिभिन्न फोटोजोन पनि हुने वेलफेयरले जनाएको छ ।

ठुलो र खुला मैदान पनि दर्शक आउने यहाँको अर्को कारण हो । धेरै ठाउँका महोत्सव स्थान अभावको कारण असफल भएका हुन्छन् । वाणगंगाको वडा नम्बर १ को महेन्द्र राजमार्गको उत्तरतर्फ नगरपालिकाको अगाडीपट्टी रहेको बुद्ध रंगशाला आफैमा त्यहाँको पर्यटकीय गन्तव्य हो । त्यहाँ राष्ट्रिय खेलकुद भइसकेका छन् भने स्थानीयस्तरमा हुने फुटवल लगायतका खेल पनि त्यहाँ हुने गर्दछन् ।

वाणगंगा नगरपालिकामा मात्रै करिब १ लाख जनसंख्या छ साथमा उत्तरमा अर्घाखाँची, पश्चिममा दाङ, दक्षिणमा छिमेकी जिल्ला भारत र पूर्वमा रुपन्देहीसंगै पाल्पाका दर्शक पनि कपिलवस्तु महोत्सव अवलोकनको लागि आउने गर्दछन् । यसपटक पनि ती सबै क्षेत्रका दर्शक भित्र्याउने आयोजकको तयारी छ ।