मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एकै खेलमा ९ विकेटको कीर्तिमान बनाउने को हुन् सन्दीप ?

एकै खेलमा ९ विकेटको कीर्तिमान बनाउने को हुन् सन्दीप ?

अपि टाइम्स

पोखरा । तनहुँका सन्दीप पराजुलीले पोखरामा भइरहेको प्रधानमन्त्री कप गण्डकी प्रदेशस्तरीय एकदिवसीय क्रिकेट छनौट प्रतियोगिताको एकै खेलमा ९ विकेट लिएका छन् । पोखरा रंगशाला क्रिकेट मैदानमा आइतबार नवलपुरलाई पराजित गर्ने क्रममा चामत्कारिक प्रदर्शन गर्दै ९ विकेट लिएका हुन् ।

राष्ट्रिय स्तरको क्रिकेटको प्रतियोगितामा यो दोस्रो उत्कृष्ट बलिङ प्रर्दशन हो । वीरगन्जबाट खेल्दै तीब्र बलर अविनाश कर्णले २०६५ को यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बैतडीविरुद्ध सबै १० विकेट लिएका थिए । काठमाडौंको ग्रेट हिमालय क्रिकेट एकेडेमीमा प्रशिक्षण लिदैं आएका उनी धादिङका हुन् । तर नेपाल क्रिकेट संघबाट धादिङले मान्यता पाइनसकेकाले उनी तनहुँबाट खेलेका हुन् ।

प्लेयर अफ द म्याच घोषित सन्दीपले आफूले लिएको विकेट अनपेक्षित भएको प्रतिक्रिया दिए । ‘धेरै खुसी भएर शब्द नै आएको छैन । दिमाग शान्त राखेर खेलेको थिएँ । राम्रो ठाउँमा फालेपछि यो पिचमा विकेट आउछ भन्ने सोचेको थिएँ,’ उनले भने, ‘खेल जित्नु मुख्य कुरा हो । बलर भएपछि एउटा लिने, अर्को लिने हुन्छ । यस्तै दिनलाई कुर्ने हो बलरले । कुनै दिन राम्रो बलमा पनि विकेट आउँदैन । कहिले ड्याङ कि ड्याङ विकेट आउँछ ।’
समूह ‘बी’ को खेलमा उनले चामत्कारिक बलिङ गर्दै ९ ओभरको स्पेलमा २ मेडन राख्दै २५ रन दिएर ९ विकेट हात पारे । टस जितेको तनहुँ २८।४ ओभरमा १ सय १० रन मै अलआउट भयो । तनहुँका कृस ऐरले ४७ बलमा ४१ रन र समीर कँडेलले ३२ बलमा १८ रनको योगदान दिए । नवलपुरका लागि विशाल पौडेलले ७।४ ओभरमा २४ रन दिएर ३ तथा कमल परियार र कुमार रानाले समान २–२ विकेट लिए ।
सन्दीपको सानदार पछि १ सय ११ रनको लक्ष्य पछ्याउने क्रममा पूर्वी नवलपरासी १ सय रनमा नै धराशायी भयो । पूर्वी नवलपरासीबाट गोविन्द विकले २७ रनको पारी खेल्दा प्रोमिश अर्यालले २२, विशाल पौडेलले १७ र रिजन काफ्लेले १५ रन बनाए ।