मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनवरी २० देखि ईपीएस परीक्षा, सबै आवेदकलाई सामेल गराउन कोरिया तयार

जनवरी २० देखि ईपीएस परीक्षा, सबै आवेदकलाई सामेल गराउन कोरिया तयार

अपि टाइम्स

काठमाडौँ । रोजगार अनुमति प्रणाली ९ईपीएस० मार्फत भाषा परीक्षाका लागि आवेदन दिन सबैलाई परीक्षा गराउन दक्षिण कोरिया तयार भएको छ । योसँगै ईपीएस भाषा परीक्षाको विवाद समाधान भएको छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले कोरियाली पक्षसँग सबै आवेदनकर्तालाई भाषा परीक्षामा सहभागी गराउन तयार भएको बताए ।

पानी जहाज निर्माण क्षेत्रका आवेदनकर्तालाई उत्पादनमूलक क्षेत्रमा आवेदन दिन नपाउने विषयले विवाद उत्पन्न भएको थियो । जसका कारण आन्दोलन हुँदा २ जनाको मृत्यु समेत भएको थियो । यो विषयमा उच्च अदालतले २ पटक आदेश दिँदै निवेदनकर्ता र इच्छुक सबैलाई आवेदन फारम भर्न दिन आदेश जारी गरेको थियो । सोही आधारमा ईपीएस कोरिया शाखाले पानी जहाज निर्माण क्षेत्रका आवेदनकर्तालाई समेत उत्पादनमूलक क्षेत्रका लागि आवेदन आह्वान गरेको थियो । तर, यो विषयमा कोरियाले भने कुनै निर्णय गर्न सकेको थिएन ।

एचआरडी कोरियाका अधिकारीहरुसँगको छलफलपछि सबै आवेदनकर्तालाई भाषा परीक्षामा सहभागी गराउन तयार भएको महानिर्देशक घिमिरेले बताए ।

भाषा परीक्षा लिने कोरियाको मानव संसाधन विकास सेवा ९एचआरडी० का निमित्त प्रमुखसँग महानिर्देशक घिमिरेको छलफल भएको थियो । छलफलको क्रममा सबैलाई भाषा परीक्षामा सहभागी गराउन तयार हुनुका साथै जनवरी २० देखि परीक्षा सञ्चालन गर्ने समेत जानकारी दिएको महानिर्देशक घिमिरेले बताए ।

सबै परीक्षार्थीहरुलाई तीनवटा लटमा विभाजन गरेर परीक्षा दिन लगाउने सहमति भएको घिमिरेले बताए । पहिलो लटमा आउँदो जनवरी २० तारिखबाट हुनेछ । जसमा ४७ हजार जनाको परीक्षा लिइनेछ । त्यस्तै दोस्रो लटमा ८० हजार र तेस्रो लटमा बाँकी ३७ हजार गरी एक लाख ६४ हजारले परीक्षा दिन पाउने उनको भनाई छ । पहिलो लटको परीक्षा सकिएपछि दोस्रो र तेस्रो लटको परीक्षा हुनेछ ।

उत्पादनमूलक क्षेत्रका लागि १ लाख ६४ हजार ७१६ जनाले आवेदन दिएका थिए । जसमा पहिलो पटक १ लाख ४३ हजार ८१२ जनाले आवेदन दिएका थिए । त्यसपछि पानी जहाज निर्माण क्षेत्रका आवेदनकर्ताका लागि आह्वान गरिएकोमा २० हजार ९०४ जनाले आवेदन दिएका थिए ।