मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाणगंगाको एक होटल नजिक राति ८ बजे सरकारी मोटरसाइकल, काम के होला ?

बाणगंगाको एक होटल नजिक राति ८ बजे सरकारी मोटरसाइकल, काम के होला ?

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने, काठमाण्डौँ ।

शनिबारको समयमा पनि सरकारी सवारी दुरुपयोग गरेको भनेर अर्घाखाँचीका एक पत्रकारले केहि दिन अघि कर्मचारीको भण्डाफोर नै गरे । जिल्लामा सरकारी सवारीको दुरुपयोग भएको थाहा पाएपछि पत्रकारले अप्रेसन नै चलाएका थिए । त्यसपछि त्यो समाचारले देशभर हंगामा मच्यायो ।

त्योे खबरदारी गर्ने पत्रकारलाई जेल नै कोच्ने धम्की आएको थियो । अर्घाखाँचीमा मात्र होइन कपिलवस्तुमा पनि सरकारी सवारीको दुरुपयोग त्यो भन्दा मद्दा किसिमले हुने गरेको छ । कपिलवस्तुमा शनिबार मात्र होइन रातिको समयमा सरकारी सवारी दुरुपयोग भएको पाइएको हो ।

वाणगंगा नगरपालिका वडा नम्बर २ पिपरामा बुधबार राति ८ बजे एउटा सरकारी नम्बर प्लेटको मोटरसाइकल बजारमा पार्किङमा थियो । सोहि समयमा अपिटाइम्सका एक जना रिपोर्टरले उक्त मोटरसाइकलको फोटो पनि खिचे । मोटरसाइकलको नम्बर थियो लु १ ब ११८८ । त्यो मोटरसाइकल एक होटल नजिक रहेको उनले बताएका छन् । मोटरसाइकल कुन कार्यालयका कर्मचारीले चढेका थिए त्यो पत्ता नलागे पनि सवारी दुरुपयोग भएको फोटोबाटै पुष्टि हुन्छ ।

अपिटाइम्सले प्राप्त गरेको सुचना अनुसार उक्त मोटरसाइकलका चालक होटलमा छिरेका छन् । उनी त्यहाँबाट अबेर निस्किएको सूचना पनि छ । यसबाट चालकले सरकारी सवारी लिएर मदिरा पान गर्न निस्किएका हुन् कि भन्ने आसंका गर्न सकिन्छ यद्यपी मदिरा पिएको ठोस प्रमाण भने छैन । चालक बाणगंगा नगरपालिका, त्यहाँको इलाका प्रशासन कार्यालय या जिल्लाका अरु कार्यालय या बाहिरका कर्मचारी थिए केहि थाहा हुन सकेको छैन । जहाँका भएको भए पनि उनले सरकारी सवारी चलाउने नियमको खिल्ली उडाएका छन् ।

यस विषयमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले जानकारी नभएको बताए । सुचना दिएर राम्रो गरेको भन्दै धनयबाद दिएका उनले गाडी नम्बर टिपेर बुझ्ने बताए । यस विषयलाई अतिरञ्जित नगर्न सुझाव दिँदै सम्बन्धित कार्यालयको अनुमति लिएर पनि रातिमा मोटरसाइकल चलाएको हुन सक्ने बताए ।

मदिरा पिउनकै लागि उक्त सवारी प्रयोग भएको भए त्यो सम्बन्धित कर्मचारीबाट ठुलो गल्ती भएको अर्यालको भनाई छ । अबदेखि आफू मातहतका सबै कार्यालयमा यस्ता विषयको निगरानी र कडाई हुने अर्यालले अपिटाइम्सलाई जानकारी दिए । यस विषयलाई बाणगंगामा खबरदारी गरिरहेका रिखिराम भट्टराईले पनि सामाजिक संजालमा राखेर खबरदारीको लागि आग्रह गरेका थिए । त्यहाँ पनि धेरैले आलोचना गरेका छन् ।

उसो त कपिलवस्तुमा सरकारी गाडी दुरुपयोग हुने घटना नयाँ होइन पुरानै हो । जिल्लाका धेरै स्थानमा सरकारी सवारीको दुरुपयोग हुने गरेको समयसमयमा भेटिन्छ । केहिसमय अघि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख जिल्ला अधिकारीले नै सरकारी गाडी नीजि घरायसी काममा प्रयोग गरेको समाचार बाहिर आएको थियो ।

आजभन्दा चार बर्ष अघि त्यतिखेरका प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले सरकारी गाडी दुरुपयोग गरेका थिए । उनले सरकारी गाडी बजार जान, घरासयी सरसामान किन्न र परिवारलाई घुमाउनका प्रयोग गरेको भनेर समाचार आएपछि उनको तीव्र आलोचना भएको थियो । त्यसपछि पनि बारम्बार सरकारी गाडीको दुरुपयोग भइरहेको छ । कपिलवस्तुमा मोटरसाइकल मात्र होइन उच्च तहका कर्मचारीले चार पाङ्ग्रे सवारी साधन पनि नीजि कामको लागि प्रयोग गरेर दुरुपयोग गरेको सरोकारवाला बताउँछन् ।

नियम अनुसार सरकारी सवारी चलाउने कुनै कर्मचारीले शनिबार सवारी चलाउन पाउँदैन भने कार्यालय खुलेको समय (१० देखि ५ बजेसम्म) बाहेक अन्य समयमा पनि अनुमतिबेगर सरकारी सवारी चलाउन पाउँदैन । यदि चलाउन पर्यो भने सम्बन्धित कार्यालयका प्रमुखको हस्ताक्षरसहितको कागजात (प्रमाण) बोकेर मात्र र मात्र सवारी चलाउन अनुमति पाउँछ ।

अर्घाखाँची र कपिलवस्तुमा मात्र होइन मुलुकका धेरै स्थानमा यसरी सरकारी सवारीको दुरुपयोग हुने गर्दछ । केहि समय अघि काठमाण्डौँ महानगरका मेयर बालेन्द्र शाहले पनि सरकारी गाडी दुरुपयोग गरेका थिए । ज–जसले सरकारी गाडी प्रयोग गर्छन् प्राय उनीहरुले लुकिछिपी दुरुपयोग गर्ने गर्दछन् ।

राज्यले अधिकृतसम्मका कर्मचारीको लागि सरकारी सवारीको सुविधा प्रदान गरेको छ । उनीहरुको कामकाजमा सहजत होओस् भनेर उनीहरुलाई गाडीको सुविधा दिइए तापनि ब्यापक रुपमा दुरुपयोग हँदा मुलुकको समग्र प्रशासनमाथि नै प्रश्न खडा भएको छ । कर्मचारीले मात्र होइन बिभिन्न मन्त्रालयको सचिवालयमा बसेका सचिवालयका कर्मचारी र नेताका कार्यकर्ताले पनि सरकारी सवारीलाई दुरुपयोग गर्ने गरेको भेटिन्छ । मुलुकभर यस्तो भए पनि नियामकक निकाय भने संधै बेखबर छ ।