मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाणगङ्गाले पारित गरेको ‘नगर प्रज्ञा प्रतिष्ठान विधेयक’ भनेको के हो ?

बाणगङ्गाले पारित गरेको ‘नगर प्रज्ञा प्रतिष्ठान विधेयक’ भनेको के हो ?

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने,

काठमाडौँ । कपिलवस्तुको बाणगंगा नगरपालिकाले पहिलोपटक बाणगंगा नगर प्रज्ञा प्रतिष्ठान गठन तथा संचालन विधेयक २०८० सर्वसम्मत रुपमा पारित गरेको छ । बुधबार सम्पन्न १४ औँ नगरसभाले सर्वसम्मत रुपमा विधेयक पारित गरेको हो । नगरले यो विधेयक पारित गरेसंगै यस विषयमा सरोकारवालाले जिज्ञासा राखेका छन् ।

बाणगंगाका सक्रिय साहित्यकार समिर सायरले पनि यो विषयमा जिज्ञासा राखेका थिए । अरु सरोकारवालाले यसको कार्यविधि, संचालन र गठनबारे जिज्ञासा राखेपछि अपिटाइम्सले यसबारे वडा नम्बर २ का वडा अध्यक्ष तथा नगरप्रवक्ता विष्णु पौडेलसंग केहि बुझ्ने प्रयास गरेको छ ।

विधेयकबारे पौडेल भन्छन् ‘यो कवि तथा नगरका प्राज्ञिक ब्यक्तित्वहरुको संस्था हो । यसले मुख्यगरी भाषा,कला तथा साहित्यको संरक्षण, संवद्धन र विकासमा काम गर्ने लक्ष्य राखेको छ । साहित्य क्षेत्रमा काम गर्ने ब्यक्तिलाई सम्मान दिने निकायको रुपमा पनि बुझ्न सकिन्छ ।’

उनले थपे ‘स्थानीय तहको पहिलो चुनावपछिको पहिलो कार्यकालमा पनि साहित्यकार तथा श्रष्टाले आफूहरुलाई सम्बोधन गर्ने संस्थाको माग गर्नुभएको थियो । पहिलो कार्यकालमा त्यो गर्न सकिएन । यसपटक लामो छलफलपछि आवश्यकता महसुस गरेर नगरसभाले विधेयक पारित गरेको छ । अब कार्यान्वयनमा जान्छौँ ।’

नगरप्रवक्ता पौडेलले विधेयकको कार्यविधि अझै बनिनसकेकाले त्यसको उद्येश्य र कामबारे थप प्रष्ट पार्न सकेनन् । यद्यपी कार्यविधि बनाएर एक महिनाभित्र कार्यान्वयनमा जाने उनले दावी गरे ।

प्रतिष्ठान गठनबारेको प्रश्नमा पौडेलले ठोस जवाफ दिएनन् । उनका अनुसार भाषा, साहित्य, कला, गीतसंगितमा योगदान दिएकामध्येबाट सबैभन्दा योग्य ब्यक्तिको अध्यक्षतामा ११ या १५ जनाको कार्यसमिति बन्ने छ ।

विधेयक संयोजक तथा वडा नम्बर ८ का वडा अध्यक्ष बाबुराम अर्यालका अनुसार त्यसरी बनेको प्रतिष्ठानको लागि नगरले नै बजेट, अनुदानको ब्यवस्था गर्नेछ र नगरभित्रका त्यससम्बद्ध संस्थालाई एकद्धार प्रणालीबाट सम्बोधन गर्नेछ । अर्यालले नै नगरसभामा उक्त विधेयक प्रस्तुत गरेका थिए ।

कलासाहित्यमा लागेकाको पहिचान गर्ने, प्रवद्धन गर्ने लगायतका काम अब प्रतिष्ठानले गर्नेछ । बाणगंगामा साहित्य, कला, गीतसंगित सम्बद्ध आधा दर्जन संस्था क्रियाशिल छन् । नगरपालिकाले विधेयक पारित गरेसंगै कला तथा साहित्यका क्षेत्रमा सक्रिय ब्यक्तिले पनि खुसी ब्यक्त गरेका छन् । साहित्यकार समिर सायरले प्रतिष्ठानको अध्यक्ष चुन्ने प्रकृयामा सचेत रहन नगरपालिकालाई आग्रह गरे । आफ्ना मान्छे भर्ती गराउने प्रयास गरिए त्यो नामको मात्र संस्था हुने उनको भनाई छ ।