मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वाणगंगाको एउटै विद्यालयमा दुईजना निमित्त प्रअ नियुक्त, यस्तो छ विवाद !

वाणगंगाको एउटै विद्यालयमा दुईजना निमित्त प्रअ नियुक्त, यस्तो छ विवाद !

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने,

काठमाडौँ । बाणगंगा नगरपालिका वडा नम्बर ८ उदयपुर मोर्मीस्थित जनसेवा आधारभूत विद्यालयमा केहि समयअघि त्यहिँकै राहत शिक्षक राजेन्द्र खनाल निमित्त प्रधानाध्यापकमा नियुक्त भए । विद्यालयका प्रधानाध्यापक ज्ञानराज पाण्डे पौष १४ गते अनिवार्य अवकाशमा परेपछि उनै प्रअले खनाललाई निमित्त प्रअमा नियुक्त गरेका थिए ।

खनाल निमित्त प्रअ भएपछि सामाजिक संजालमा रंगिए । धेरैको बधाई पनि खाए । त्यसपछि पौष १६ गतेबाट खनाल काजमा छन् । तर खनालले बधाई खाएको कुरा पनि सेलाउन नपाउँदै विद्यालयमा शिक्षक भोजराज थारु निमित्त प्र.अ.नियुत्ति भएका छन् । थारुलाई वडाअध्यक्ष बाबुराम अर्यालले पौष २३ गते निमित्त प्रअ नियुक्त गरेका हुन् ।

विद्यालयमा थारुलाई निमित्त प्रअ बनाएसंगै अहिले स्कुलमा दुई जना प्रअ भएका छन् । अहिले विद्यालय बन्द छ । २९ गते विद्यालय खुल्दा प्रअको सिटमा को बस्छ ? या झगडा गर्छन् त्यो भने हेर्न बाँकी छ । यो भएपछि सँधै चर्चामा रहेको बाणगंगामा फेरि कहिँ नहुने जात्रा हाँडी गाउँमा भनेझैँ अर्को चर्चा भएको छ ।

किन यस्तो भयो त ?
यो घटनामा कतिपयले वडा अध्यक्षले ठिकै गरेको बताएका छन् भने कतिपयले खनालमाथि वडाअध्यक्ष अर्यालले हस्तक्षेप गरेको बताएका छन् । शक्ति र सत्ताको दुरुपयोग गरी वडाअध्यक्ष अर्यालले मनोमानी गरेको आरोप पनि सामाजिक संजालमा लागेको देखिन्छ । बाणगंगाको स्कुल जस्तो क्षेत्रमा यस्तो विचित्र भएपछि अपिटाइम्सले दुवै पक्षसंग राय बुझ्ने प्रयास गरेको छ ।

के भन्छन् राजेन्द्र खनाल ?

खनालले वडा अध्यक्ष अर्यालले आफूमाथि जर्वजस्ती गरेको अपि टाइम्सलाई बताएका छन् । खनालले भने ‘म निमित्त प्रअ भइसकेपछि १९ गतेदेखि २६ गतेसम्मको परीक्षा संचालन गरिसकेको छु । बीचमा वडा अध्यक्ष र दुई जना सदस्य आएर एक्कासी भोजराज जिलाई निमित्त प्रअ दिनुभएको छ । म अचम्ममा परिरहेको छु । कुन आधारमा अर्यालले जिले यसो गर्नुभयो मैले थाहा पाएको छैन ।’

खनालले थपे ‘स्कुल अहिले विदा छ । २९ गते खुल्दा के हुने हो थाहा छैन । तर म नै आधिकारिक निमित्त हुँ । म निरन्तर काम गरिरहने छु ।’
आफू निमित्त भएपछि एक दिन वडा अध्यक्ष अर्यालले छलफल गरी स्विकार गरेको छनक दिएको पनि अपिटाइम्सलाई खनालले बताए । उनले थपे ‘त्यसपछि उहाँलाई के भयो ? पार्टी या अरु कसैको दबाबमा पर्नुभयो कि । हाम्रो कुराकानी राम्रै भएको थियो ।’
अब जे भए पनि ब्यवस्थापन समिति नभएको र अर्को बयवस्थापन समिति गठन भई उसले अर्को ब्यक्ति नियुक्त नगर्दासम्म आफू नै आधिकारिक निमित्त भएको बताउँदै वडा अध्यक्षको आदेश नमान्ने खनालले सुनाए । समाचार श्रोतका अनुसार विद्यालयमा ७९ पौष १ गते नै विद्यालय ब्यवस्थापन समितिको म्याद सकिएको छ । अर्थात् समितिको म्याद सकिएको १ बर्ष भइसकेको छ ।

खनालले प्रअ पाण्डेले शिक्षा नियमावली २०५९ अनुसार नियुक्त गरेको बताए । राहत निमावी तहको तृतीय श्रेणीका शिक्षक भएका कारण माथिल्लो शिक्षक नै वरिष्ठ हुने प्रावधान अनुसार खनाललाई निमित्तमा नियुक्तमा गरिएको पाण्डे बताउँछन् ।

यो विषयमा नगर शिक्षा समितिलाई जानकारी दिएको खनालले बताए । आफूले जानकारी दिएपछि नगर शिक्षा समितिका सदस्य सचिव खिम बहादुर जिसीले आफ्नो वसबाट घटना माथि गएकाले आफू केहि गर्न नसक्ने अवस्थामा रहेको बताएका खनालले सुनाए ।

यहि विषयमा शिक्षा समन्वय इकाई कार्यालय तौलिहवाका प्रमुख थानेश्वर घिमिरेसंग राय लिँदा पनि आफू नै आधिकारिक निमित्त रहेको कुरा पाएको खनालले जानकारी दिए । अनावश्यक रुपमा विद्यालयलाई विवादमा ल्याउने चाहाना आफ्नो नभएको बताउँदै नियम अनुसार हुने कुरालाई आफूले मान्ने खनालको भनाई छ ।

यसो भन्छन् वडा अध्यक्ष अर्याल

निमित्त प्रअ नियुक्तिबारे वडा अध्यक्ष अर्यालको आफ्नै तर्क छ । अर्यालले आफूले गर्न नुहने कुनै काम नगरेको र प्रकृया र नियमअनुसार नै थारुलाई प्रअ नियुक्त गरेको बताए । खनाल निमित्त प्रअ भएको कुरा आफूले फेसबुक हेरेको थहा पाएको बताउँदै यसबारे आफूलाई कुनै औपचारिक जानकारी नभएको वडा अध्यक्ष अर्यालले अपिटाइम्सलाई जानकारी दिए ।

अर्यालले भनेका छन् ‘खनाल निमित्त प्रअ भएको कुरा मलाई थाहा थिएन । प्रअ विदामा बसेमा या प्रअले अनिवार्य अवकाश लिएमा वा हटेमा ब्यवस्थापन समितिको वैठकले स्थायी शिक्षकको हेड सर बनाउने नियम छ । नियुक्तिको मितिले विद्यालयका स्थायी शिक्षक भोजराज थारु नै सिनियर हुनुहुन्छ । उहाँलाई नै विद्यालय ब्यवस्थापन समितिको वैठकले सहायक प्रअमा नियुक्त गरेको हो । अहिले विद्यालय ब्यवस्थापन समितिको म्याद सकिएको छ । यस्तो अवस्थामा वडा अध्यक्ष नै विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष हुने प्रावधान छ । यहि अनुसार मैले थारुलाई निमित्त प्रअ तोकेको हुँ ।’

उनले थपे ‘वडा शिक्षा समितिले पनि विद्यालयमा अहिले प्रअको स्थान खाली भएकाले थारुलाई प्रअ बनाउन भनेर निर्णय गरेको थियो । त्यसपछि मेरो अध्यक्षतामा वैठक बसी थारुलाई नियुक्त गरेका हौँ ।’ थारुको पक्षमा त्यहाँ कर्यरत शिक्षकको पनि एक ध्वनी रहेको कुरा आफूले सुनेको अर्यालले बताए । त्यहाँका राजनैतिक दलको समर्थन पनि थारु मा नै रहेको अर्यालले दावी गरे ।
खनाल आफ्नो मित्र भएको बताउँदै उनीमाथि पूर्वाग्रह राख्नु पर्ने कुनै कारण नरहेको वडा अध्यक्ष अर्यालले बताए । आफूले विद्यालयमा राजनीति गरेको भन्ने कुरा सबै झुटा र कपोलकल्पित रहेको जिकिर गर्दै आफू वडाको विकासमा निरन्तर खटिरहेकोले भ्रममा नपर्न अर्यालले सबैलाई आग्रह गरे ।

अब स्कुलमा दुई जना निमित्त प्रअ भए ? स्कुल कसरी चल्छ भन्ने प्रश्नमा अर्याल भन्छन् ‘भोजराज जि नै आधिकारिक हुनुहुन्छ । अर्को को छ मलाई थाहा छैन । चाँडै विद्यालय ब्यवस्थापन समिति गठन गछौँ र त्यसपछि विद्यालयको थप विकासमा लाग्दछौँ ।’ यता थारुले पनि वडा अध्यक्षले निमित्त प्रअको पत्र दिएपछि आफूले स्कुलको प्रशासनिक कार्य अघि बढाउने भन्दै हिँडेको बताइन्छ ।

नगरपालिकाको ऐन, नियम, कार्यविधि र निर्देशिकामा विद्यालयमा प्रअ ब्यवस्थापन (नियुक्ति) को लागि स्थायी, अस्थायी र राहत अनुदान कोटामा कार्यरत शिक्षकहरुमध्येबाट ज्येष्ठता, वरिष्ठता र योग्यतालाई मुख्य आधार मानी प्रधानाध्यापकको ब्यवस्थापन गर्न प्राथमिकताका साथ लागु गरिने छ भनेर उल्लेख छ । यस्तै सम्बन्धित तहको शिक्षक नभएमा तल्लो तहको स्थायी, अस्थायी र राहत शिक्षकलाई प्राथमिकता दिइने उल्लेख छ ।

यो नियम भए पनि जनसेवाको हकमा फरक परिस्थिति छ वडा अध्यक्ष अर्याल भन्छन् ‘ यो नियमित नियुक्तिको स्थिति होइन ।यहाँ विद्यालय ब्यवस्थापन समिति छैन । यस्तो अवस्थामा प्रअले निमित्त नियुक्त गर्ने होइन, समितिले हो । मेरो अध्यक्षतामा बैठक बसेर नियुक्ति गर्दा गलत के भयो र ?’

यता खनाल भन्छन् ‘विद्यालयमा प्रअ नभएको अवस्थामा अवकाश पाएका प्रअले नै निमित्त नियुक्ती गर्ने हो । जनप्रतिनिधिले नियुक्त गर्ने कुरा अहिलेसम्म मैले थाहा पाएको छैन ।’

शिक्षा क्षेत्रका जानकारहरु भने जनसेवामा वडा अध्यक्षको बलमिच्याइँ रहेको बताउँछन् । यता खनालले विद्यालयको बारेमा हरेक निर्णय गर्ने कागजात, माइन्यूट, लेटरप्याड, छाप आफूसंग रहेको बताउँदै कुनामा बसेर अनधिकृत कागजमा गरिएको निर्णय हास्यास्पद रहेको बताए ।

खनाल र थारु दुवैले अब आफू नै निमित्त प्रअ भनेर ढिपी गरेपछि जनसेवा आधारतूत विद्यालयमा आइतबारबाट के हुने हो त्यो भने हेर्न बाँकी छ । धेरैले विद्यालयमा राजनैतिक आग्रह, पूर्वग्रहका कारण यस्तो लिला भएको बताउँछन् ।

बाणगंगाको नगर शिक्षा समितिले सल्टाउनुपर्ने यी र यस्ता विषय नगरबाट नसल्टिँदा नेतृत्वमाथि नै नैतिक प्रश्न उठेको देखिन्छ । जनसेवामा मात्र होइन बाणगंगाका अरु विद्यालयमा पनि अहिले विद्यालय ब्यवस्थापन समितिमा किचलो रहेको समाचार आइरहेका छन् । नगर नेतृत्वले समयमा यस्ता समस्या समाधानमा चासो नदिँदा विद्यालयमा बिभिन्न समस्या थपिँदै गएको सरोकारवाला बताउँछन् ।