कमल पौडेल । बुद्धिको वैभव प्रत्यक्ष हामी समक्ष छ । विज्ञानदेखि शिक्षासम्म सबै क्षेत्रहरुमा उन्नति तिब्र रुपमा भैरहेको छ । सबै परिचित नै हुनुहुन्छ । प्रकृतिका एक–एक रहस्यहरु उजागर भैरहेका छन् । यी प्रगतिहरुले मान्छेका लागि भौतिक सुख–साधनहरुको विशाल पहाड बनाएको देख्दा आश्चर्य लाग्छ । प्रगतीको चरम सीमामा पुगिसक्दा पनि मान्छेहरु सुखी,सन्तुष्ट र प्रसन्न छैनन् । दिन प्रतिदिन दुर्बल बनिरहेका छन् । व्यक्तिगत स्तरमा बर्तमान समयको भौतिकवादी चिन्तनको दुष्परिणामहरुलाई नियाल्दा हामीहरुमा के भेटिरहेका छौं भने मानसिक बिचलन र अवसादग्रस्त जीवन । मनोचिकित्सकहरु यसलाई ‘मनोव्यथा’ को रुपमा परिभाषित गर्दछन् । आजका मान्छेहरु अनेकानेक मनोशारीरिक एवं मानसिक रोगले ग्रस्त छन् । यी रोगहरुलाई मनोकायिक रोग (Psychosomatic Disorder) भन्दछन् ।
रक्तचाप, हृदयरोग, दम, मोटोपन, मधुमेह, तनाव, कुण्ठा, अन्तद्र्वन्द्व, दुश्चिन्ता आदि मनोकायिक रोग आजभोली मनोचिकित्सकका लागि प्रश्नचिन्ह बनेर उभिएका छन् । अमेरिकाका चिकित्सालयहरुमा भएको सर्बेक्षेणले २० प्रतिशत वयस्कहरु मनोविकारहरूले ग्रस्त छन् । यी मध्ये ६० प्रतिशतले मनोकायिक समस्या झेलिरहेका छन् । यू.एन.ओ को रिपोर्ट अनुसार सन् २०१५ देखि नै मनोरोगले महामारीको रुप लिनेकुरा जनाइएको छ । कोलमेनले वर्तमान युगलाई दुश्चिन्ताको युग (Age of Anxiety) भनेका छन् । उनको यो भनाईमा कुनै अतिशयोक्ति देखिदैन । यी रोगहरुको उपचार र समाधानमा सबै मनौबैज्ञानिकहरूको उपाय असफल देखिएको छ । त्यसकारण मानसिक स्तरमा बढीरहेको यो भयानक बिचलन, मनोविदहरूका लागि मात्र नभएर सम्पूर्ण मनुष्य जगतको लागि चिन्ताको विषय बनेको छ ।
यो विखण्डन केवल वैयक्तिक स्तरमा मात्र छ भन्ने होइन । व्यक्ति–व्यक्ति मिलेर परिवार र परिवारहरु मिलेर समाज र राष्ट्र बन्दछ । त्यसकारण पनि यो विचलन को स्थिति व्यक्तिगत स्तरकै भाँती पारिवारिक, सामाजिक र राष्ट्रिय स्तरमा पनि उत्तिकै दृष्टिगोचर भैरहेको देख्न सकिन्छ । परिवार टूटिरहेका छन् । पारस्परिक अविश्वास, भय, आतंकको परिधि बढीरहेको छ । अपराध रफ्तारमा बढीरहेको छ । राष्ट्र–राष्ट्रबीच देखिएको कटुता, वैमनस्य यहि विखण्डनको परिणाम हो । व्यक्तित्वको स्तर खस्किँदो छ । प्रतिभाहरु कम हुँदैछन् । मानवीय गरिमालाई ज्वलन्त राख्ने चिन्तनको उत्कृष्टता, चरित्रको आदर्शवादिता घट्दै हराउँदै गैरहेको छ । वैयक्तिक, पारिवारिक, सामाजिक, आर्थिक राजनितिक, धार्मिक, राष्ट्रिय सबै क्षेत्रहरुमा अनुपयुक्तता, अवाञ्छनीयता र अराजकता छाइरहेको छ । यस्तो स्थितिमा शान्ति, सन्तोष, एकता एवं समता कम हुँदै जानु स्वभाविक पनि हो । परन्तु यी सम्पूर्ण गतिविधिहरु अरुकेही नभएर मानवीय चेतनाको विखण्डन हो । आज मानवीय चेतना गम्भीर संकटबाट गुज्रीरहेको छ । मानवीय चेतनामा व्याप्त यो संकटले आजको सबैभन्दा ठूलो समस्याको रुपमा विद्वानहरुलाई चुनौती दिइरहेको छ । मानवीय चेतनको विघटनलाई रोक्नु अति अनिवार्य भएको छ । यदि यसलाई रोक्न सके व्यक्तिगत स्तरदेखि लिएर राष्ट्रियस्तर सम्मका सबै समस्याहरु स्वयं समाप्त भएर जानेछन् । ईरा प्रोगाफ ले ठिकै भनेकी छन् ‘आधुनिक मानवको वैयक्तिक चेतनामा रुपान्तरणद्वारा नै यो ऐतिहासिक दुर्घटनालाई रोक्न सकिन्छ , जसलाई सम्पूर्ण मानवजातिले सामना गर्न जाँदैछ ।’
मानवीय चेतनामा संव्याप्त यो संकटको कारण नै यहि हो कि हामिले भौतिकस्तरमा अधिक नै प्रगति गर्यौं र गरिरहेका छौं पनि ,परन्तु मानव सत्ताको भौतिक पक्षभन्दा पनि महत्वपूर्ण चेतना पक्षको विकासमा कत्तिपनि ध्यान नै दिएनौं । फलस्वरुप न त चिन्तनक्षेत्रको परिस्कृति अर्थात् बुद्धि विवेकमा रुपान्तरण हुन सक्यो न भावक्षेत्र नै विकसित भयो । आजको चिन्तन स्वार्थपरता एवं क्षुद्र अहंकारको दायराभित्र खुम्चिएर बस्न बाध्य भयो । जसको परिणामस्वरुप मनुष्य भावनात्मक रुपमा रिक्त हुँदै गैरह्यो । उ भावना लिन त चाहन्छ तर दिन चाहँदैन । यसको परिणाम विखण्डित व्यक्तित्व र मनोरोगहरुको रुपमा हाम्रो सम्मुख देखिएको छ । पं. श्रीराम शर्मा आचार्यको शब्दमा “मनोरोग अरुकेही नभएर लामो समयदेखि दबाएर राखिएको भावना मात्र हो ।” यहि सन्दर्भमा प्रो.डा. बेरनी सेशेलको भनाइरहेको छ – “बढीरहेको संकीर्णताका कारण भावनात्मक सम्बन्धहरु टुट्नु नै आजको समस्याहरुको एकमात्र कारण हो ।” आधुनिक कालका प्रख्यात् मनोचिकित्सक डा. ब्रायन बीज पनि यस मतसंग पूर्णतया सहमत छन् ।
चिन्तन र भावक्षेत्र भन्दा पनि गहनतम मानव चेतनाको मूल एवं केन्द्रिय पक्ष–आत्मतत्त्वको आफ्नो आवश्यकता हो । अध्यात्म मनोविज्ञानको मत अनुसार मानवीय अन्तःकरणको संरचना दैवी तत्त्वहरुले मिलेर बनेको छ । यहाँबाट सँधै सत्प्रेरणाहरु निस्किरहेका हुन्छन् । अन्तःकरणबाट निस्कने सत्प्रेरणाहरुलाई उपेक्षा गर्नु र दुष्कृत्यहरुमा निरत हुनुले अन्तद्र्वन्द्वको स्थिति उत्पन्न हुन्छ र मनुष्यलाई त्रास दिन्छ । आधुनिकतम मनोविज्ञानका शोधहरुमा के परिणाम पाइएको छ भने कतिपय मनोरोगहरु र व्यक्तित्व विघटनका समस्याहरुको कारण सदैव मानसिक एवं जैविक स्तरमा आउने ईच्छाको दमन मात्र नभएर , आध्यात्मिक इच्छाहरुको दमन पनि हो । पालब्रण्टन,युंग एवं राधाकृष्णन जस्ता सबै आधुनिक मनिषि एवं चिन्तकहरु यसकुरामा सहमत छन् कि आज मानवता आध्यात्मिक कुसमायोजनले पिडित छ । यस समस्याको मूल अहमता हो, यो अहंकार जसले एकातिर व्यक्तिलाई आत्माको उच्चस्तरीय सत्यदेखि अलग राख्छ भने त्यहिँ एक व्यक्तिलाई अर्को व्यक्ति देखि पनि अलग राख्दछ । मनोवैज्ञानिक युंगका अनुसार – “अहंकारका कारण मानवीय चेतना समग्र भन्दा पृथक हुन्छ र मानवतासंग पनि आफ्नो सम्बन्ध विच्छेद हुन्छ ।”
स्वामी अखिलानन्दका शब्दमा –“जबसम्म व्यक्तिको जीवनको चरम लक्ष्य सुखवाद एवं ईन्द्रियभोग रहन्छ, मानसिक द्वन्द्व, तनाव र कुण्ठाहरु बनी रहन्छ । अध्यात्मको आदर्शलाई जीवनमा धारण नगरेसम्म व्यक्तिको मानसिक तनाव एवं कुण्ठाहरुको स्थायी उपचारको कुनै सम्भावना देखिदैन ।” आध्यात्मिक प्रक्रियाहरुद्वारा आफ्नो अहं एवं स्वार्थको क्षुद्र सत्तालाई विराट अहंमा समर्पण, विसर्जन, विलय द्वारा नै अहं विस्तारको मार्ग प्रशस्त हुन्छ र आत्मिक स्तरमा सामन्जस्य एवं समायोजनको द्वार खुल्ला हुन्छ । स्वामी यतिश्वरानन्दको शब्दमा –“त्यस्तो व्यक्तिमा वैयक्तिक चेतना ब्रह्माण्डिय चेतनाबाट लयबद्ध हुन्छ र यो संगठित चेतना मन र शरीरलाई सहज, सक्रिय एवं सामन्जस्यपूर्ण बनाइराखेको हुन्छ ।” विकसित चेतनाले युक्त यो व्यक्ति जैविक, मानसिक, व्यावहारिक, भावनात्मक एवं आध्यात्मिक प्रत्येक स्तरमा समायोजित हुन सक्दछ ।
वर्तमान समयको सबैभन्दा ठूलो संकट मानवीय चेतनाको विघटन हो । आजको सम्पूर्ण समस्याहरुको मूलमा यही तत्व रहेको छ । यी समस्याहरुको समाधानका लागि एकमात्र उपाय मानवीय चेतनाको विकास हो । यी समस्याहरु देखि बच्नका लागि मानवीय चेतनाको विकास आजको आवश्यकता मात्र नभएर अनिवार्यता पनि हो ।
मानव चेतनाको विकास प्रणाली
आजको व्यस्त मानव भौतिकताको दुनियाँमा आफैलाई बिर्सिएर कुहिरोमा काग रुमलिए जसरी रुमल्ली रहेको छ । मानव जीवनको मूल उद्देश्य शान्त एवं आनन्दमय जीवन व्यतीत गर्दै साधना , आराधना , उपासना एवं निष्काम कर्मयोगद्वारा नरको मूल उद्गम नारायण प्राप्त गर्नु हो । तर आजको व्यक्ति बहिर्मुखी भएर शान्ति र आनन्दको खोजीमा कहिले कुन पार्टी अंगाल्न पुग्छ त कहिले धर्म बदल्छ । संसारमा अनेक पार्टी , धर्म, सम्प्रदाय , पन्थहरु छन् तर यस्ता धर्म, पार्टी एवं सम्प्रदायमा व्यक्तिगत पुष्टि एवं तुष्टिका लागि सङ्कीर्णता भेटिन्छ । जहाँ मानवमात्र अटाउन सक्दैन । यिनै पार्टी सम्प्रदाय आदिका नाउँमा कपहिलेकाहीँ राष्ट्रि«य एकता एवं अखण्डातामा प्रश्नचिन्ह समेत खडा भएको हाम्रै अगाडि प्रत्यक्ष छ । यस्ता पार्टी—सम्प्रदाय आदिबाट व्यक्ति भयभीत नै रहन्छ । यस्तो कुनै पथ छैन, जहाँ समानता एवं व्यपकता होस् र व्यक्ति निर्भय भई आफ्नो वास्तविक पहिचान खोज्दै अन्तरमुखी बन्न सकोस् ।
मानवीय चेतनाको विकास गर्न सक्ने तत्त्व नै धर्म र दर्शन मात्र हुन् । संसारमा भएका प्राय सबै धर्मले मानवीय चेतनाको विकासमैं जोड दिएको देखिन्छ । चेतनाको विकासका लागि विशाल भण्डार पूर्वीय परम्परा नै हो । यद्यपि पश्चिमी मान्यतामा पनि यसको विस्तार राम्रोसंग भएको पाइन्छ । कतिपय धार्मिक मान्यतालाई किनारामा राख्ने हो भने धार्मिकता भित्रको दर्शनले नै मुनष्यलाई सुख दिएको छ । दर्शन बिना मनुष्य बाँच्न सक्दैन । दर्शन व्यवहारमा उत्रिँदा मनुष्य चेतनाको विकास सुरु हुन्छ । मनुष्यलाई आचारमा राख्ने सबैभन्दा राम्रो कडी नै धर्मदर्शन भित्रको आचार परम्परा हो । चेतना विकासका लागि हरेक धर्ममा आ–आफ्नै विधि र पद्धति रहेको छ । जसको पालनाले मात्र मनुष्य उत्कृष्टबाट उत्कृष्टतर बन्दै समाजमा प्रतिष्ठित बन्न सक्दछ जुन चेतनाको उच्चताबाट मात्र सम्भव हुन्छ ।
हिन्दू धर्ममा मानव चेतनाको विकास
पूर्वीय सभ्यताको मूल मार्ग हो हिन्दू धर्म । हिन्दू धर्मलाई सनातन धर्म भनिन्छ । यसलाई सर्वाधिक प्राचिन एवं अन्य धर्महरुको जननी पनि मानिन्छ । यसको मान्यता नै जीवनको सर्वोच्च लक्ष्य स्वयंंमा अन्तर्निहित श्रेष्ठतम सम्भावनाहरु एवं शक्तिहरुको जागृति गरेर ईश्वरलाई प्राप्त गर्नु हो । यसरी आफ्नो चेतनाको पूर्ण विकास गर्नु हो । यस लक्ष्यलाई प्राप्त गर्नका लागि प्राचीन ऋषि–मुनिहरु र तत्त्वविदहरुद्वारा मनुष्यको प्रकृति, पात्रता एवं रुचि अनुरुप विविध साधना मार्गहरुको अन्वेषण गरिएको हो । यसमध्ये केही प्रमुख साधना पद्धति निम्नलिखित छन्– ज्ञानयोग साधना, कर्मयोग साधना, भक्तियोग साधना, राजयोग साधना, मन्त्रयोग साधना, तन्त्रयोग साधना आउनुहोस् केहि साधना पद्धतिलाई बुझौं ।
क.) ज्ञानयोग : ज्ञानयोगका प्रारम्भिक साधन चार छन्– विवेक, वैराग्य, षट्सम्पति (शम, दम, उपरति, तितिक्षा, श्रद्धा र समाधान) एवं मुमुक्षत्व । यी चारै बहिरंग साधन् हुन् । यसका अतिरिक्त– श्रवण, मनन, निधिध्यासन पनि ज्ञानयोग साधना अन्तर्गत पर्दछन् । यी अंतरंग साधन हुन् ।
ज्ञानसाधना अर्थात् अन्तरात्माको गहन अध्ययनद्वारा चेतनाको विकास । आफुलाई पूर्णता प्राप्तिका लागि श्रेष्ठतम जीवनक्रम अपनाउनु हो । उपलब्ध साधन स्रोतलाई लोकहितका लागि प्रयुक्त गर्नु हो । ज्ञान साधनामा लागेको आत्मा संकीर्ण स्वार्थपरकताको परिधि भन्दा पर हुन्छ । उसले सबैलाई आफुमा र स्वयंलाई सबैमा समाहित भएको देख्दछ । उसको चिन्तन र कर्तृत्वमा व्यापक लोकहितको भावनाले काम गरेको हुन्छ । ज्ञानसाधनाले बन्धनमुक्त भएका आत्माहरुको प्रत्येक विचारणा र क्रियापद्धतिमा आदर्शवादिता देखिन्छ । यस्ता मान्छेहरु संकटग्रस्त र तनावग्रस्त हुन सक्छन् । तर अन्तःकरणमा उनीहरुलाई आनन्द र सन्तोषको अनुभूति सतत् भैरहेकै हुन्छ ।
ख.) कर्मयोग : कर्मको माध्यमबाट चेतनाको विकास गर्नु कर्मयोग हो । कर्म शब्द ‘कृ’ धातुले बनेको छ । ‘कृ’ धातुमा ‘अन’ प्रत्यय लगाउँदा कर्म शब्द निष्पन्न हुन्छ । जसको अर्थ हो – क्रिया, व्यापार, हलचल, प्रारब्ध तथा भाग्य आदि । यसको अभिप्राय कर्ममा क्रियाको फल निहित हुन्छ, त्यही कर्म हो । अर्थात् जसको कार्य गरिन्छ त्यहि कर्म हो । कर्मको व्याख्या शास्त्रहरुमा विभिन्न रुपहरुमा पाइन्छ । तर जसलाई शरीरेन्द्रिय आदि द्वारा सम्पादन गरिन्छ त्यही कर्म हो । कर्मको विभाजन अलग–अलग शास्त्रहरुमा अलग–अलग प्रकारले गरिएको छ वेदहरुमा कर्म दुई छन् –१. विहित कर्म र २. निषिद्ध कर्म प्राय अधिकशास्त्रहरुले मानेका चार कर्म रहेका छन् – १. नित्य कर्म, २. नैमित्तिक कर्म, ३. काम्य कर्म, र ४. प्रायश्चित कर्म । पातञ्जल योगसूत्रमा तीन प्रकारका कर्र्मको व्याख्या गरिएको छ – १. शुक्लकर्म, २. कृष्णकर्म, ३. शुक्लकृष्णकर्म, ४. अशुक्लाकृष्ण कर्म । वेदान्त अनुसार सन्चित, प्रारब्ध र क्रियामाण गरी तीन कर्म रहेका छन् र अन्त्यमा गीतामा कृष्णले तीन कर्म कर्म, अकर्म र विकर्मको कुरा गर्नुभएको छ ।
ग.) राजयोग : राजयोग मनलाई परिस्कृत गर्ने साधना हो । मनको स्वभाव चंचल हुन्छ । यो चंचल मन चेतनाको विकासमा सहायक हुँदैन । त्यसकारण यसलाई वशवर्ती गर्नु महत्वपूर्ण रहेको छ । भनिएको पनि छ मन नै बन्धन र मोक्षको कारण पनि हो । राजयोगले यसैमा नियन्त्रण प्राप्त गर्न सक्दछ । त्यसकारण यसलाई राजयोग भनिन्छ । राजयोग अन्तर्गत विविध आठ अंगहरु रहेका छन् – यम, नियम, आसन, प्राणायम, प्रत्याहार, धारणा, ध्यान समाधि यी योगका आठ अङ्ग हुन् ।
१) यम – जसको अर्थ नैतिक आचरणमा नियन्त्रण हो । यसलाई गृहानुशासन पनि भन्न सकिन्छ । यम ५ प्रकारका छन्—अहिंसा, सत्य, अस्तेय, ब्रहाचर्य, अपरिग्रह यी पाँच यम कहलाउँछन् । यमाःयो.द. २।३०।।
क) अहिंसा—मनसा, वाचा, कर्मणा कहिले पनि कुनै प्राणीसँग द्रोह नगर्नु वा कष्ट नदिनु नै अहिंसा हो । ख) सत्य—आफूले देखेको, सुनेको, भोगेको कुरा जस्ताको तस्तै व्यक्त गर्नु,सत्य हो ।
ग) अस्तेय— अस्तेयको अर्थ चोरी नगर्नु भन्ने हुन्छ
घ) ब्रह्मचर्य — ब्रहालाई भेट्नसक्ने आचरण गर्नु नै ब्रहाचर्य हो । “ब्रह्मचर्य प्रतिष्ठायां वीर्यलाभ”— ब्रह्मचर्य पालनद्धरा व्यक्ति उद्र्धरेत बन्न सक्छ ।
ङ) अपरिग्रह— अपरिग्रहको अर्थ असङ्ग्रहवृत्ति भन्ने बुझिन्छ ।
२) नियम– मनलाई रुपान्तरण गर्नु विश्राम दिनु नै नियम हो । जसलाई जान्नाले वैयक्तिक शान्ति प्राप्त हुन्छ । नियम निम्न पाँच छन् ।
क) शैच — शैचको अर्थ शुचिता या पवित्रता भन्ने हुन्छ ।
ख) सन्तोष– मरेर लानु के नै छ र भन्ने भावनाको साथमा जीवन निर्वाहोपयुक्त वस्तु बाहेक कुनै पनि वस्तुको प्राप्तिको इच्छा नहुनु या आफ्नो पुरुषार्थमा सन्तुष्ट हुनु नै सन्तोष हो ।
ग) तपः–“तपोद्वन्द्व सहनम्” अर्थात् स्तुति–निन्दा, लाभ–हानी, सत्कार–तिरस्कार, जाडो–गर्मी, सुख–दुःख आदि एकपछि अर्को आउने द्वन्द्व हुन् ।
घ) स्वाध्याय– आफुले आफ्नै अध्ययन गरेर अन्तर्मुखी बन्नु । सत् शास्त्रको अध्ययन गर्नु नै स्वाध्याय हो ।
ङ) ईश्वर प्रणिधान – म जे गर्दैछु सबै प्रभुकै लागि गर्दैछु । ईश्वरप्रति समर्पण भाव ।
३) आसन– “स्थिरसुखमासनम्”जुन प्रकारले साधक स्थिर भएर सुखपूर्वक बस्न सक्दछ त्यो नै आसन छन् । आसनको कार्य शरीरलाई स्वस्थ, सहज, सुदृढ एवं स्थिर बनाउनु हो । आसन सिद्ध साधकलाई ऋतुजन्य कुप्रभावले छुन सक्दैन ।
४) प्राणायाम– शास्त्रोक्त विधिद्वारा श्वास–प्रश्वासलाई यथाशक्ति नियन्त्रण गर्नु नै प्राणायाम हो ।
५) प्रत्याहार– ईन्द्रियहरुका विषयबाट बहिर्मुखि मनलाई हटाएर अन्तरमुखि गर्नु नै प्रत्याहार हो ।
६) धारणा– मन एवं इन्द्रियहरू नै मानवलाई स्वर्ग एवं नरकमा लैजाने प्रमुख द्वार हुन् । यसलाई वशमा राखेमा स्वर्गीय आनन्दभूति हुन्छ । यसलाई वासनातिर लिप्त गरेमा मनुष्य नरकीय नीवन जिउन बाध्य हुन्छ । जब व्यक्तिले इन्द्रियहरुमाथि विजय प्राप्त गर्छ तब चित ध्ययेको आश्रयभूत स्थापनमा केन्द्रित भई एकाग्र हुन्छ, त्यो नै धारणा हो ।
७) ध्यान– जब चित्त एकै स्थानमा स्थिर हुन्छ, तब त्यही स्थानमा ध्येय सच्चिदानन्द परमात्मा विषयक ज्ञानको एकतानताको नाम नै ध्यान हो । ध्यानले आत्मादर्शन हुन्छ ।
८) समाधि– जब ध्याता नै ध्येयमा परिणत भएर अलग प्रतीत हुँदैन र साधक बलेर निभेको दाउरा समान शान्त एवं तेजस्वी देखिन्छ त्यो अवस्था नै समाधि हो । समाधिद्वाारा निर्लिप्तता नष्ट हुन्छ ।
यी सम्पूर्ण कुराहरूबाट के स्पष्ट हुन्छ भने विभिन्न धर्म, दर्शन एवं दार्शनिकहरुले भिन्न भिन्न साधनहरुद्वारा चेतनाको विकास सम्बन्धी पक्षलाई उजागर गरेका छन् । कुनै प्रणालीमा कर्मलाई प्रधानता भानिएको छ भने कुनैमा विचारलाई । कुनैले पूर्णतया साकार चेतनालाई मान्दछन् भने केहि पूर्णतया निराकारवादी छन् । कसैले बैराग्यलाई श्रेष्ठ मानेका छन् भने कसैले शरीरलाई नै सर्वस्व मानेका छन् । यी प्रणालीहरु निश्चित रुपमा चेतनाको विकासमा सहायक छन् । कुनै प्रणाली कसैलाई श्रेष्ठ लाग्छ र उपयोगी पनि कुनै अन्य प्रणाली तेस्रो व्यक्तिको चेतना उत्थानको माध्यम बन्न सक्दछ । सबैका लागि सबै प्रणाली उपयुक्त नभएपनि सबै विधिहरु आफैमा उपयोगी रहेका छन् । विभिन्न देश, संस्कृति, धर्म, जाति, व्यक्तित्व, मान्यता, रुचि एवं प्रवृत्तिहरुका व्यक्तिहरुद्वारा कुनै एक मात्र प्रणालीको अबलम्बन गर्न सक्दैनन् । किनकि कुनै प्रणालीमा कुनै तथ्य अनुत्तरित छन् भने कुनैमा अन्य तथ्य । अतएव यी सबै कुराले के स्पष्ट हुन्छ भने यस्तो प्रणालीको अनुसन्धान अति आवश्यक छ जसलाई सम्पूर्ण देशका, धर्मका एवं जातिहरुका, विभिन्न रुचिहरु–प्रवृत्तिहरु एवं मान्यताहरु राख्ने भिन्न–भिन्न स्तरका व्यक्तिहरु एकसाथ एक स्वर भएर ग्रहण गर्न सकून् । यस अनुसन्धानमा प्रयास जारी भएपनि सफलता प्राप्त भैसकेको भने छैन ।
– लेखक आचार्य कमल हिमवत् प्रतिष्ठानका अध्यक्ष हुन्
प्रतिक्रिया