मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सर्वसम्मति भए उद्योग बाणिज्य संघको नेतृत्व लिन तयार छुः बेलबासे

सर्वसम्मति भए उद्योग बाणिज्य संघको नेतृत्व लिन तयार छुः बेलबासे

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने
कपिलवस्तु । कपिलवस्तु उद्योग वाणिज्य संघको अधिवेशन मिति नजिकै आउँदै छ । १४ औँ बार्षिक साधारण सभा तथा सातौँ अधिवेशनबाट ७७ माघमा डोलकराम घिमिरे अध्यक्ष चयन भएका थिए । उनको ३ बर्षे कार्यकाल अब सकिँदै छ । तोकिएकै मितिमा भए संघको १५ औँ बार्षिक साधारण सभा तथा आठौँ अधिवेशन आसन्न माघ २३ गते हुने छ ।

संघको अधिवेशन मिति नजिँकिदै गर्दा अबको नेतृत्व कसको हुने भन्नेबारे चर्चा भइरहेको छ । अहिलेसम्म चर्चामा काँग्रेसबाट रुक बहादुर भुसाल छन् भने एमालेबाट मोहन न्यौपाने छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट पनि अध्यक्षमा आकांक्षा राखिरहेका छन् । यीमध्ये अन्तिमसम्म कोको रहन्छन् भन्ने कुरा केहि दिनपछि टुङ्गिने छ । किनकि पार्टीले पनि आधिकारिक उम्मेदवार तय गरेका छैनन् ।

यो बीचमा अहिले मिडियामा चर्चामा नआएका अध्यक्षका आकांक्षी छन् गल्ला तथा हार्डवेयर ब्यवसायी टोपनारायण बेलबासे । उद्योग ब्यापार महासंघका केन्द्रिय सदस्यसमेत रहेका बेलबासे यसअघि कपिलवस्तु उद्योग बाणिज्य संघमा लामो समय काम गरिसकेका ब्यक्ति हुन् । उनै बेलबासेले आफूमा सर्वसम्मति भए संघको नेतृत्व लिन तयार रहेको अपिटाइम्समार्फत् बताएका छन् ।

आन्तरिक रुपमा यस अप्सनबारे छलफल भइरहेको भए पनि बेलबासेको नाम अहिले मिडियामा आएको छैन । तर धेरै ब्यवसायीको इच्छा एकपटक बेलबासेलाई नेतृत्व दिएर न्याय दिने हो कि भन्ने रहेको पाइन्छ ।

बेलबासे भन्छन् ‘सबैको साथ रहेमा उद्योग वाणिज्य संघको नेतृत्व लिन तयार छु । सबै ब्यापारी, ब्यवसायीको चाहाना एक पटक बेलबासे नेतृत्वमा पुगोस् भन्ने रहेको मैले पाएको छु । मलाई काँग्रेस, एमाले, माओवादी, स्वतन्त्र लगायतबाट पनि समर्थन र सहयोग रहन्छ जस्तो लाग्छ । संघमा चुनाव नगराएर सर्वसम्मति हुन्छ भने अर्को कमब्याक हुन तयार छु ।’

बेलबासेले थपे ‘बिभिन्न कारणले अर्को संघमा भए पनि माया उद्योग बाणिज्य संघमै छ । त्यहाँ पसिना छ । मुल्य छ । योगदान छ । सबैले आउनुहोस् भन्नुहुन्छ भने म तयार नै छु । संघ हाँक्ने अनुभव रे सक्षमता पनि छ । मलाई साथीहरुले अध्यक्ष बन्न भनिरहनुभएको छ । मेरो पक्षमा आधा बढी पूर्वअध्यक्ष र अहिलेका पदाधिकारी पनि रहेका छन्’ उनले अघि भने ।

केहि पूर्व अध्यक्ष बेलबासेलाई सर्वसममत अध्यक्ष बनाउनुपर्ने लविङमा रहेको कतिपय ब्यवसायीले अपिटाइम्सलाई बताए । बेलबासेलाई राजनैतिक आँखाबाट नहेरेर उनको योग्यता र उद्योग ब्यवसाय क्षेत्रमा गरेको योगदानको मुल्यांकनका आधारमा सबै सर्वसम्मतिमा जानुपर्नेमा कतिपय ब्यवसायी छन् ।

बेलबासेले चुनाव लडेर संस्थालाई बिगार्नेतर्फ आफ्नो सोँच नरहेकाले बताए । उनले भने ‘सर्वसम्मति भए मात्र नेतृत्व लिन तयार छु । साथीसाथीमा लड्ने भीँड्ने कार्यले संस्था बिग्रन्छ । म भए पनि नभएपनि अरु साथीहरुलाई पनि नलड्न अनुरोध गर्दछु ।’

नेतृत्वमा पुगे संघलाई नयाँ उचाइमा पुर्याउन हर प्रयास गर्ने बेलबासेले दावी गरे । यता पूर्व वरिष्ठ उपाध्यक्ष रुक बहादुर भुसाल र पूर्वकोषाध्यक्ष तथा हालका लेखा समिति संयोजक मोहन न्यौपाने एक कदम अघि बढिसकेकाले बेलबासेको पक्षमा सर्वसम्मति हुने झिनो आशा देखिन्छ । यद्यपी बेलबासेले उनीहरुलाई पनि मनाउन प्रयास गरेको बुझिन्छ ।