मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

करोडौँ बजेट छुट्टिए पनि बाणगंगामा छाडा पशुचौपायको ताण्डव रोकिएन

करोडौँ बजेट छुट्टिए पनि बाणगंगामा छाडा पशुचौपायको ताण्डव रोकिएन

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने

काठमाडौँ । कपिलवस्तुको वाणगंगा नगरपालिकामा छाडा पशु–चौपाय नियन्त्रण र ब्यवस्थापन प्रमुख चुनौतिको रुपमा देखा परेको छ । छाडा पशु–चौपाय नियन्त्रणको लागि केहि महिनाअघि समिति बने पनि नियन्त्रण र ब्यवस्थापन गर्न भने निकै चुनौति देखा परेको हो । केहि महिनाअघि नगर कार्यपालिकाको वैठकले वडा नम्बर २ का वडाअध्यक्ष तथा नगर प्रवक्ता विष्णु पौडेलको संयोजकत्वमा समिति गठन गरेको थियो ।

समिति बनेलगत्तै पौडेलको सक्रियतामा बिभिन्न वडामा गौशाला बनाउने कामले तीव्रता पनि पायो । बिभिन्न वडामा बनेका गौशलामा गाईगोरुलाई थुन्ने काम पनि भयो । तथापि सडक र किसानका खेतबारीमा देखिएका गाईगोरुको बगालले नगरको समितिले गरेको काममाथि नै प्रश्न उठाउने ठाउँ बनाइदिएको छ ।

छाडा पशुचौपायको विगविगी यतिसम्म देखिन्छ कि दिनभर किसानका बालीमा चर्ने गर्दछन् भने दिउँसो, विहान र साँझमा सडक जाम नै गरेर बसेका देखिन्छन् । यसले गर्दा एकातर्फ किसानको बाली सखाप भएको छ भने सडकमा दिनदिनै दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ । कतिपय स्थानमा त बाली जोगाउन किसानहरु आलोपालो गरी रातभर ड्युटी बस्ने गर्दछन् ।

केहि दिन अघि बडा नम्बर ७ को बनगाइमा सेनाको गस्ती झैँ गाईगोरुको गस्तीको भिडिओ नै भाइरल बन्यो । माघ ३ गते बुधबार पनि सडकमा रजाई गरेको अवस्थामा बाणगंगाका ब्यवसायी बुद्धिसागर बेलबासेले गाईगोरुको उस्तै भिडिओ फेसबुकमार्फत् सेयर गरेका छन् । त्यहाँ गाईगोरुअरुले सडक जाम गरेर दौडिरहेको देखिन्छ । गाईगोरुका कारण सवारी पनि जाम हुने र दुर्घटना निम्तन सक्ने जोखिम देखिन्छ ।

नगरमा छाडा पशु चौपायको यो ताण्डव पिपरामा मात्र होइन ११ वटै वडामा ज्वलन्त रुपमा देखिन्छ । सबै वडाका स्थानीय यो समस्याले आजित छन् । बर्षेनी तयार भएको उब्जनीमा छाडा पशु मडारिँदा लाखौँको क्षति ब्यहोर्नु परेको जनगुनासो छ । खासगरी हिँदको समयमा लगाइने गहुँ, तोरी, मकै, मुसुरो, सूर्यमुखी लगायतको बालीमा रातको समयमा ती पशु चौपायले क्षति पुर्याइरहेको किसान बताउँछन् । दैनिकरुपमा किसानको बाली नोक्सान गरिरहेका र सडकमा दुर्घटना निम्त्याईरहेको जनगुनासोपछि छाडा गाई गोरुको ब्यवस्थापनको लागि समितिले के कस्तो काम गरिरहेको छ भनेर अपिटाइम्सले संयोजक पौडेलसंग बुझ्ने प्रयास गरेको छ ।

छाडा पशु चौपाय ब्यवस्थापन समितिका संयोजक पौडेलसंग बुझ्दा काम गर्न सकस भएको जानकारी प्राप्त भयो । पहिलेभन्दा धेरै नियन्त्रणमा आए पनि खुला सिमानाका कारण दैनिक गाईगोरु थपिरहँदा समस्या भएको उनको भनाई छ । द्रुत ढंगबाट काम भए पनि सोँचे अनुसार काम गर्न नसकिएको उनले स्विकार गरे ।

उनका अनुसार बाणगंगामा छाडा गाईगोरुको अनुमानित संख्या ८ सय बढी छ । संयोजक पौडेलले नगरमा भएका गाईगोरुको ब्यवस्थापन गरिएको तथ्यांङ्क नै प्रस्तुत गरे । उनले भनेका छन् ‘८०० सयमध्ये वडा नम्बर ९ चौवामा सबैभन्दा बढी १५०, भलवाडमा ८०, वडा नम्बर ६ को खुटेनीमा ८३, मधुवनधाममा ४८, वडा नम्बर २ को बैजलपुर सामुदायिक बनमा करिब ३ सय, वडा नम्बर ७ को खारखानीमा १५०, रामदत्तिवनमा १५० छाडा गाईगोरुको ब्यवस्थापन गरिएको छ । अझै १५० बढी गाईगारुलाई नियन्त्रण गर्न सकिएको छैन ।’

‘खुला सिमाना लगायतबाट थपिने तिनै गाईगोरुले नगरभरी वितण्डा मच्याइरहेका छन् । सामाजिक संजालमा देखिने भिडिओमा तिनै सय बढी गाइगोरु देखिन्छन्’, पौडेलको दावी छ ।
समिति बनेपछि निर्देशिका र कार्यविधि बनेको र अहिले घरघरबाट तथ्यांक संकलन गर्ने कार्य भइरहेको संयोजक पौडेलले बताए ।

उनी थप्छन् ‘वडा नम्बर ८ मधुवनधाममा नगरकै ठुलो गौशाला बनाउने कार्यको थालनी भएको भए पनि बिभिन्न कारणले काम हुन सकेको छैन । मधुवनको गौशालामा २२ सय मिटर तारबार गर्न बाँकी छ । टेण्डर दिने सोच भएपनि अन्तिममा क्यान्सिल भयो । कानुनले रोक्यो । त्यहाँ गौशाला निर्माण भएमा ३ चार सय गाईगोरु राख्न सकिन्थ्यो ।’

छाडा गाईगोरुको ब्यवस्थापनको लागि नगरले आर्थिक बर्ष २०८० ८१ को बजेटमै १ करोड १० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । गौशाला निर्माणका पूर्वाधारको लागि बजेट सभाबाटै ७५ लाख विनियोजन भएको थियो भने अस्ति सम्पन्न १४ औँ नगरसभाबाट ब्यवस्थापनको लागि भन्दै पुनः ३५ लाख थप भएको छ।’ त्यहि बजेट अनुसार अहिले बिभिन्न वडामा गौशाला बनाएर नियन्त्रणको प्रयास भइरहेको पौडेलको दावी छ ।

नगरप्रवक्ता पौडेल भन्छन् ‘भौतिक पूर्वाधारको बजेट ब्यवस्थापनमा खर्च गर्न पाइने रहेनछ । त्यसैले अस्ति नगरसभाले ३५ लाख बयवस्थापनको लागि बजेट छ्ट्याएको छ । अब द्रुत ढंगले काम गछौँ ।’

नगरले हरेक बर्ष लाखौँ, करोडौँ बजेट गौशालाको लागि छुट्टिए पनि राम्रोसंग काम नहुँदा समस्या उस्तै रहेको सरोकारवाला बताउँछन् । नगरमा गाईगोरुले दिएको सास्ती देख्दा नगरको लगानी बालुवामा पानी जस्तो देखिन्छ । यसअघि पनि नगरले गौशाला बनाउने भन्दै ५४ लाख बजेट छुट्याइएको थियो ।

त्यसअघि पनि लाखौँको दरले पटकपटक बजेट छुुट्टिने गरेको थियो । तर त्यसरी छुट्टिएको करोडौँ बजेटबाट राम्रोसंग काम नभएपछि किसान र सरोकारवाला आक्रोसित छन् । नगरले आगामी दिनमा छाडा पशु चौपायको ब्यवस्थापन गर्न नसक्ने हो भने थप समस्या सिर्जना हुने अन्य सरोकारवाला बताउँछन् । अरु सबै काम छोडेर भए पनि छाडा पशुचौपाय नियन्त्रण र ब्यवस्थापन सम्बन्धि नगरले सार्थक ढंगबाट काम गर्नुपर्ने उनीहरुको सुझाव छ । छाडा पशु चौपायको नियन्त्रण कपिलवस्तुका अरु पालिकामा पनि प्रमुख समस्याको रुपमा देखा परेको छ ।