मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तु उद्योग बाणिज्य संघमा चुनाव हुने पक्का, न्यौपाने पछि नहट्ने

कपिलवस्तु उद्योग बाणिज्य संघमा चुनाव हुने पक्का, न्यौपाने पछि नहट्ने

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने
काठमाडौँ । कपिलवस्तु उद्योग बाणिज्य संघको आगामी नेतृत्वको लागि चुनाव हुने पक्का जस्तो देखिएको छ । सर्वसम्मतिको प्रयास भए पनि पछिल्ला घटनाक्रमले सर्वसम्मतिको प्रयास टर्दै चुनावबाटै नेतृत्व चयन हुने सम्भावना बढेको हो ।

संघको आठौँ अधिवेशन मिति माघ २३ नजिक आइरहँदा अध्यक्षको दौडमा रहेका रुक बहादुर भुसाल एक्कासी पछि हटेका छन् । भुसाल पछि हटेको समाचारले अहिले काँग्रसभित्र तरंग छ । समाचार श्रोतका अनुसार भुसाल पछि हटेपछि काँग्रेसको एक तप्का नयाँ अनुहारलाई उठाउने रणनीतिमा छ भने एक पक्षले अध्यक्षको चर्चामा आएका माओवादीका टोप नारायण बेलबासेलाई समर्थन गरेर जाने हो कि भन्ने पक्षमा लविङ गरिहरहको छ । यद्यपी पार्टीको बैठकको आधिकारिक धारण बाहिर आएको छैन । यसको लागि काँग्रेस आन्तरिक छलफलमा छ ।

यता एमालेको तर्फबाट अध्यक्षमा दावी प्रस्तुत गरिरहेका मोहन न्यौपाने कुनै हालतमा पछि हट्ने अवस्थामा देखिन्नन् । च्याप्टर धेरै अघि बढिसकेकाले जस्तोसुकै स्थितिमा, जो आए पनि आफू अध्यक्षको दौडबाट पछि हट्ने कुरा कल्पनासम्म गर्न नसकिने न्यौपानेले अपिटाइम्सलाई बताए ।

रुक बहादुर पछि हटेको अवस्थामा बेलबासे र न्यौपानेको भीडन्त हुने आसंका गरिएको स्थितिमा न्यौपानेले अपिटाइम्सलाई यस्तो बताएका हुन् । बेलबासे र न्यौपाने अनन्य मित्र तथा ब्यवसायिक पार्टनर रहेको कारण दुइजनाबीच चुनाव नहुने र पछि एकले अर्कोलाई समर्थन गर्न सक्ने स्थिति आउने कतिपयले बताउँदा न्यौपानेले त्यस्तो नहुने बताए ।

न्यौपाने भन्छन् ‘अब म अघि बढिसकेँ । टोप नारायण जिलाई यस विषयमा पहिले नै कुरा राखेको हुँ । उहाँसंग सल्लाह गरेर अघि बढेको हुँ । उहाँ मेरो ब्यवसायिक मित्र पनि हो । अग्रज पनि हुनुहुन्छ । तर उहाँले ढिलो आफ्नो उम्मेदवारीको कुरा गर्नुभएको छ । उहाँलाई सर्वसम्मत गराइए पनि म पछि हट्दिनँ । म उहाँसंग चुनाव लड्नु परे पनि लड्छु ।’

आफ्ना अनन्य मित्र न्यौपाने पहिलेदेखि अध्यक्षको दौडमा रहेका कारण अब अध्यक्षको आकांक्षाबाट पछि हटेर बेलबासेले न्यौपानेलाई समर्थन गर्न सक्ने स्थिति रहन सक्ने कतिपयको विश्लेषण छ ।

यस्तो हुँदा काँग्रेसले नमान्ने स्थिति देखिन्छ । किनकि काँग्रेसको एक समुह न्यौपाने जुनियर रहेकोले सर्वसम्मत अध्यक्ष स्विकार गरेर अघि बढ्न नसक्ने अवस्थामा छ । समाचार श्रोत भन्छ ‘उक्त समुहले न्यौपानेसंग भीँडाउन रातारात अर्को नयाँ उम्मेदवार खडा गर्न सक्छ । उनीहरु न्यौपानेलाई अध्यक्ष मान्न तयार छैनन् ।’

माओवादी कसको पक्षमा उभिएर जान्छ त्यो भने अझै थाहा हुन सकेको छैन । यता राष्ट्रिय स्वतन्त्र पार्टीबाट पनि अध्यक्षमा उम्मेदवारी दिने कुरा बाहिर आइरहेको छ । चर्चामा रमेश चन्द्र भु्साल र लक्ष्मी कँडेल छन् । पार्टीले आधिकारिक उम्मेदवार भने चयन गरेको छैन । पार्टीले विलम्ब गरेपछि भुसालले पत्रकार सम्मेलन गरेरै स्वतन्त्र रुपमा अध्यक्षको उम्मेदवारी दिने बताएका छन् । शनिबार उनले पत्रकार सम्मेलनको आयोजना गरेर स्वतन्त्र उम्मेदवारी दिने बताएका घोषणा गरेका हुन् । भुसाल कुनै हालतमा पछि नहट्ने भएपछि चुनाव हुने झन् बलियो स्थिति देखिन्छ ।

यता पूर्व अध्यक्ष र हालका अध्यक्षको भूमिका पनि सर्वसम्मतिभन्दा पनि भीँडाउने खालको नै देखिएको छ । रुक बहादुर भुसाल पछि हटेपछि सर्वसम्मतिको प्रयास गरेजस्तो गरेका पूर्व अध्यक्ष विष्णु न्यौपाने, यज्ञ भट्टराई, हालका अध्यक्ष डोलकराम घिमिरे काँग्रेसको तर्फबाट नयाँ उम्मेदवार ल्याउने पक्षमा छन् ।

पूर्व वडा अध्यक्ष गुणनिधि भुसाल अध्यक्षको दौडमा निस्किृय रहेपछि एमालेतर्फका पूर्व अध्यक्ष देवी पाण्डे, निवर्तमान अध्यक्ष उमानाथ पौडेल लगायत न्यौपानेको पक्षमा लागेका छन् । अध्यक्षको दौडमा पछि इन्ट्रि मारेका बेलबासे सर्वसम्मत रुपमा अध्यक्ष बन्ने बातावरण नभएको, अहिले बेलबासेको पक्षमा काँग्रेसले समर्थन गरेजस्तो गरे पनि अन्तिममा धोका दिन सक्ने आँकलन गरेर उनीहरु न्यौपानेको पक्षमा लागेको देखिन्छ ।

यी र यस्ता घटनाक्रमले कपिलवस्तु उद्योग बाणिज्य संघको आगामी नेतृत्व चुनावबाटै हुने देखिएको हो । कोरोनापछि ब्यवसायी मर्कामा परेका कारण चुनाव नगराएर सर्वसम्मत रुपमा अध्यक्ष चयनमा लाग्न अरु ब्यवसायीले नेतृत्वलाई आग्रह गरिरहेका छन् । चुनाव गराउँदा संघ बलियो हुन नसक्ने भएकाले सर्वसम्मतिबाटै नेतृत्व चयन गर्न सबै लाग्नु पर्ने उनीहरुको भनाई छ ।