मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माननीय ज्यू ‘पानीका खाली बट्टा होइन डलर फाल्ने पर्यटन चाहिएको छ’

माननीय ज्यू ‘पानीका खाली बट्टा होइन डलर फाल्ने पर्यटन चाहिएको छ’

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने,

काठमाडौँ । ब्यक्तिगत हिसाबले लुम्बिनी प्रदेश सभा सदस्य माननीय विष्णु पन्थी मलाई नराम्रो लाग्दैन । उहाँसंग संगत गरेको करिबन ६ बर्ष पुगेको छ । पहिलो कार्यकालको संसद अवधिमा मात्र होइन दोश्रो कार्यकालको चालु अवधिसम्म पनि यहाँलाई कुनै ठाउँमा असहयोग गरेको लाग्दैन । तपाईको सरलता, विनम्रता र बौद्धिकताको मैले धेरै ठाउँमा मुक्तकण्ठले प्रसंसा गर्ने गरेको छु ।

तपाईको जनताले नदेखेको एउटा चरित्र छ तर त्यसमा म कहिल्यै गइनँ । कमजोरी सबैका हुन्छन् । तथापि अरु नेताभन्दा तपाई विसेक लाग्छ । त्यसैले अहिले पनि तपाईप्रति मेरो कुनै आग्रह, पूर्वाग्रह, वैमनश्यता केहि पनि छैन । हिजो जुन आँखाले तपाईलाई हेर्ने गरेको थिएँ अहिले पनि मेरो दृष्टि हजुरप्रति उस्तै छ ।

हिजो चुनावमा तपाईका ठुला ठुला स्टोरी लेख्ने, हजुरको प्रचार र प्रवद्धन हुने जिंगल बनाउने मै हुँ, नभुल्नु होला । पहिलो कार्यकालमा मिडियाबाट भाइरल बनाउने पनि मै हुँ त्यो पनि नभुल्नु होला । रेडियो अनलाइनमा कैयौँपटक तपाई र तपाईको कामलाई स्थान दिएको थिए र जनतासंग सम्प्रेषण गरेको थिएँँ स्मरणै होला । मलाई स्मरण छैन आजको मितिसम्म तपाईको प्रतिपक्षमा रहेर समाचार लेखेको । असहयोग गरेको । कतिपय हजुरका कमिकमजोरी थाहा हुँदाहुँदै पनि हजुरलाई मिडियाबाट उँचो नै बनाएको थिएँ । धेरै सुनेको थिएँ तर लेख्न जरुरी ठानेको थिइनँ आजसम्म । तर यसपटक भने मलाई चुप रहन मनै रहेन, माफ गर्नुहोला माननीय ज्यू बाध्यतावश तपाईको साँघुरो र संकिर्ण मानसकिता अनि त्यो लघुताभासमाथि केहि कुरामा प्रष्ट पार्न जरुरी ठानेको छु । समय रहे पढ्नुहोला ।

कपिलवस्तु नगरपालिकास्थित सगरहवा मुर्ति कार्यशालाको विषयमा म प्रधान सम्पादक र प्रकाशक रेहेका अपिटाइम्सबाट खबर प्रकाशन हुनुपूर्व धेरै मिडियामा आइसकेको थियो । समाचारमा आएको विषयलाई मैले हुबहु प्रकाशन गरेको मात्र के थिएँ तपाईको नजरमा म विकास विरोधी ठहरिएछु ।

तपाईमाथि लगानी भएको विगतको मेरो योगदान भुलेर तपाई मसंग सामाजिक संजालमा जाइलाग्न थाल्नुभयो र कार्यकर्तालाई पनि अराजक शैलीमा उत्रन भन्नुभएछ । यसको लागि धन्यबाद दिन चाहान्छु । समाचारमा आएका विषय आयोजकसंग सम्बद्ध थिए । लुम्बिनी विकास कोषसंग सम्बद्ध थियो । तर उनीहरुलाई नपोल्दै त्यो समाचारले तपाईलाई पोल्न भ्याएछ । हुन त तपाई सामाजिक संजालमा भाइरल माननीय र नेता हो । तर सबै कुरा सामाजिक संजालमार्फत् पोख्दा के हुन्छ भनेर बुझ्न सक्नुभएन कि बुझ्न बाञ्छनीय ठान्नु भएन या कसैले तपाईलाई उक्साइरहेको छ पत्तो पाइनँ ।

यति सानो विषय । खबरदारीको विषय । तपाईको नाम नजोडिएको विषयमा म र खबरदारी गर्ने युवालाई विकासविरोधीको ट्याग दिनुभयो । खबरदारी गर्नेमाथि तपाई यति हलुङ्गो तवरले प्रस्तुत हुनुभयो कि यो तपाईको स्ट्याटसले पुष्टि गर्दछ । तपाईले लेख्नुभएको छ ‘कपिलवस्तुमा (सगरहवा) सानो काम के हुँदै थियो केहीलाई बढो छटपटी छुटेको देखिन्छ ? जति सकिन्छ बिरोध गरौं हामीलाई थप उर्जा हुनेछ । जगदीशपुर र कपिलवस्तु हाँस्दा बिचराहरु रुन्छ्न त !’

हामी बेठिक छौँ रोऔँला । याद राख्नु तपाईहरुको बेठिकपनले पनि तपाईहरुलाई नरुवाउला भन्न सकिन्न । जगदीशपुर र कपिलवस्तु हाँस्ने कुरा गर्नुभएको छ । हाँसेको हेर्न के हामी कपिलवस्तुबासीलाई इच्छा नहोला र ? हामी युवा आतुर छैनौँ होला जिल्ला हाँसेको हेर्न ? तर हँसाउने बनाइयो कि जिल्लालाई रुवाउने बनाइएको छ एकपटक ऐना हेरौँ त ।

मलाई तपाईका विगत र अहिलेका हरेक भाषणको हेडलाइन थाहा छ । तपाईले भनेजसरी विकास भएको हुन्थ्यो भने मुलुकका ७७ मध्ये ७६ जिल्लका नागरिक कपिलवस्तु र जगदिशपुर हेर्न आउँथे । अरु कुरा गरिनँ । म फेरि फर्केँ मुर्ति कार्यशालामै । मिडियाले मुर्ति बने भनेर आहारिस गरेको होइन त्यहाँ भएको के हो भनेर पो खबरदारी गरेको हो नि । तर यहि विषयमा तपाई हलुङ्गो हुनुभयो । बिझाउनेलाई विझाएन तपाईलाई विझायो । पहिलो प्रश्न छ सगरहवाको पुरातत्वलाई मिचेर बलजफ्ती मुर्तिहरु बनाइएको हो कि होइन ? मुर्ति बनाउनु नराम्रो होइन राम्रो हो तर यहाँ राजनीति चलेको छ कि छैन ? के पुरातत्व विभाग, लुम्बिनी विकाष कोष, पर्यटन मन्त्रालयसंग समन्वय गरेर मुर्तिहरु बनाउन थालिएको हो ? हो भने लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यालकर लामाले किन असहमति प्रकट गरे ? किन सबैले अपनत्व लिन सकेनन् ?

कार्यशालाको लागि ५५ लाख खर्चेको कुरा कुरा आएको छ भने समाचारपछि ७० लाखको कुरा पनि जोडिएको छ । यो खर्च कहाँ कसरी भयो भनेर प्रश्न गर्दा म कसरी विकासविरोधी युवा भएँ ? हजुरले ८ गते निम्ता डाक्नु भएको छ तर काठमाण्डौँमा छु आउन सक्दिनँ । पत्रकार साथीलाई बुझाउँदा पनि मसंग सुचना आउँछ । यो खर्चको पारदर्शिता सार्वजनिक गर्नुहोला । सुनेको छु मुर्ति बनाउने ठेक्का लिने ब्यक्ति अर्कै छ रे ? कसले बनाएको हो त्यो पनि छर्लङ्ग पारिदिनु होला त्यो दिन ।

त्यो रकमको कुरा छोडिदिऔँ जे भएको हो पछि आउला । अस्ति मुर्ति कार्यशालाको उद्घाटनमा मञ्च पाउनेवित्तिकै भन्नुभएको थियो अब कपिलवस्तुबासीले केहि गर्नुपर्दैन । सबै पर्यटनबाट हुन्छ । त्यो भनेको त्यहि मुर्ति देखाएर हो या जगदिशपुर ताल देखाएर ? के यी मुर्ति र त्यो तालले अब कपिलवस्तुबासीले केहि गर्नु नपर्ने हो ? यस्ता वाइयात भाषण दिन उप्रान्त बन्द गर्नुहोला ।
हजुरले भने अनुसार के कपिलवस्तुको पर्यटन विकास भइरहेको छ त ? कदापी छैन । किनकि बषौँ पहिलेदेखिको बुद्धको तपस्याभूमि र २९ बर्ष विताएको तिलौराकोटले अझै पनि पर्यटक पर्खेर बसेको छ । तिलौराकोट वरपरको बाटोघाटोको स्थिति के कुरा गरौँ ? विश्व रामसार सुचिमा सुचिकृत जगदिशपु्र ताल यस्तै हुनुपर्दथ्यो कि अरु धेरै भएकोमा हुनुपर्दथ्यो ? हामीले यहाँ खोजेको पिकनिक खान मात्रै हो कि डलर झार्न हो माननीय ज्यू ? तिनचार दिन पर्यटक रहनबस्न मिल्ने गरी कुन भौतिक संरचना खडा गर्यौँ त ? जगदिशपुर तालवरपर कति सुविधा सम्पन्न होटल, लज र रिसोर्ट बनेका छन् ?

विडम्बना विश्वभरका पर्यटक तान्ने क्षमता राख्ने तिलौराकोट, जगदिशपुर तालमा कमिला पनि हिँड्दैनन् । आएका पाहुनाले पनि मिठाई, बिस्कुट र पानीका खोल फालेर हिँड्ने गरेका छन् । त्यहाँ फोहरको डङगुर जम्मा भइरहेको छ दिनप्रतिदिन ।
माननीय ज्यू पर्यटकबाट पैसा झार्नुलाई पो पर्यटन भनिन्छ मान्छे आउने अनि पानीका खाली बट्टा फाल्नेलाई पर्यटन भनिन्छ र ?
पर्यटक आए भने रहन बस्नको लागि खोई जगदिशपुर र सगरहवामा सुविधासम्पन्न र ठुलाठुला होटल र रेष्टुरेन्ट ? पर्यटक आउनको लागि सफा, फराकिला र चिल्ला बाटा खोई ? उनीहरुको लागि किनमेल गर्ने खोई सांस्कृतिक बजार ? खोई थारु संस्कृतिका होमस्टे । भैरहवा र लुम्बिनीसम्म कपिलवस्तु, तिलौराकोट, जगदिशपुर झल्काउने खोई प्रचारप्रसारका डिजिटल होर्डिङ बोर्ड ? खोई डिजिटल नक्साहरु ? यसबारे हजुरले कहिल्यै बहस र पैरवी गर्नु भएको छ ?

आज लुम्बिनी विकास हुँदा खोइ तिलौराकोट र जगदिशपुरको विकास भएको ? योजना र भिजनविना हचुवामा पर्यटन पर्यटन भनेर पर्यटनको विकास हुँदैन नि माननीय ज्यू । अलिअलि विकास त मैले पनि बुझेको छु, तपाईले जति नबुझे पनि । पिकनिक खाने आन्तरिक मात्र होइन जगदिशपुर, तिलौराकोट र सगरहवामा हामीलाई बाह्य पर्यटक चाहिएको छ । डलर फाल्ने पर्यटक चाहिएको छ, फोहर होइन । यस्तो वातावरण निर्माणमा खोई पहल गरेको ? तपाई त पूर्वमन्त्री पनि हुनुहुन्छ खोई यस्ता संरचनामा प्रदेशको लगानी र बजेट ? खोई त्यस्ता योजना ? यी संरचनाको विकास नगरीकन मुर्ति बनाएर पर्यटक आउँदैनन् माननीय ज्यू ।

तपाईको भाषणले पर्यटन विकास भएको हुन्थ्यो भने बाणगंगा नगरपालिकाको मुहार नै फेरिसक्थ्यो आजसम्म । हजुरको भाषणले बन्थ्यो भने बाणगंगा नदीमा यतिखेर पानी भण्डारण स्टोर बनेको हुन्थ्यो । हजुरको भाषणले बनेको हुन्थ्यो भने वडा नम्बर ३ राजापानीमा वहुउपयोगितासहितको वृहत थारु संग्रहालय र भ्यू टावर बनिसकेको हुन्थ्यो । यतिखेरसम्म विदेशी हजारौँ विदेशी पर्यटक आएर डलर झारिसकेका हुन्थे । राजापानीमा ? भाषणले हुने भए वडा नम्बर ८ मा सेनाले बनाएको बोटानिकल गार्डेनमा झाडी हुँदैनथ्यो, कपिलधाम, मधुवनधाम, कैलाश आश्रमको अहिलेको हालत हुने थिएन ।

एकपटक आफैले हजुरले गरेका भाषणका हेडलाईन सम्झनूस् त माननीय ज्यू । के हजुरले जहाँ गए पनि हुन्छ र गर्छु भनेर गरेका बाचा पुरा भएका छन् त ? सबैले भन्छन् छैनन् । धेरैले भन्न थालेका छन् हुन्छ बहादुर पन्थी । यस्तो सुन्दा म पनि दुखि छु ।
अर्कोतर्फ तपाई कम्युनिष्ट नेता हो । कम्यु्निष्ट नेताले मुर्ति, मन्दिर, मस्जिद, चर्च, गुम्बा बनाएर पर्यटन विकासको कुरा गर्दैनन् । समाजबाद र साम्यबादी सोँच राख्नेहरुले त ७० लाखमा उद्योग विस्तार गरेर मजदुरलाई रोजगारी दिने कुरा गर्दछन् । एक हिसाबले भन्ने हो भने सगरहवामा मुर्ति नबनाएर एउटा चिस्यान केन्द्र या किसानका उत्पादन बेच्ने बिक्रिकेन्द्र बनाउन सकिन्थ्यो । तर्क गर्न थालियो भने अनेक कुरा आउँछन् माननीय ज्यू ।

अन्त्यमा तपाई मैले मात्र होइन सबैले मानेको नेता हो । आजको यो लेख लेख्दासम्म तपाईप्रति म पुरानै आत्मियता र प्रेम भाव राखेको छु । यसले तपाईको चित्त या दिल दुख्यो भने त्यो मेरो कमजोरी रहनेछैन हजुरकै कमजोरी रहने छ । सानो समाचारलाई लिएर युवालाई विकासविरोधी भन्नु भएको हुनाले सानो विकास बुझाउन मात्र खोजेको हुँ । धन्यबाद ।