मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सत्ता सबैलाई आवश्यक छः देउवा

सत्ता सबैलाई आवश्यक छः देउवा

अपि टाइम्स

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसारभर नै सत्ताका लागि मारामार भएको बताएका छन्।

सत्ता सबलाई आवश्यक पर्ने भन्दै उनले सत्ताका लागि चुनाव जित्नुपर्ने बताए।

‘सत्ता सबैलाई आवश्यक छ, सत्ताका लागि संसारभरी नै मारामार छ,’ उनले भने, ‘चुनाव लड्नुपर्छ, जनतामा जानुस्, जनतालाई सम्पर्क गर्नुस्।’

नेपाली कांग्रेस कास्कीको सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै देउवाले अहिलेको संविधान अनुसार कुनै पनि पार्टीको बहुमत आउन नसक्ने दाबी गरे।

कसैको बहुमत नआउने भएकाले नै अन्य दलसँग चुनावी गठबन्धन गर्नुपरेको उनको भनाइ छ। ‘अहिलेको संविधान अनुसार कुनै पार्टीको बहुमत आउन सक्दैन, कुनै न कुनैसँग गठबन्धन गर्नैपर्ने हुन्छ,’ उनले भने, ‘गठबन्धन गर्न नपर्ने तरिकाले जित्ने पार्टी बनाउनुस् न।’

कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले राजनीतिक प्रतिवेदन पेश गर्दै चुनावी अघि गठबन्धन गर्न नहुने बताएका थिए।

जवाफमा देउवाले पार्टी बलियो बनाएर सत्तामा ल्याउने हुनुपर्ने बताएका हुन्।

अर्को प्रसंगमा सभापति देउवाले अहिले सहकारीमा देखिएका समस्या समाधान गर्नुपर्ने बताए।

कांग्रेसका दिवंगत नेता गिरिजाप्रसाद कोइरालाले नेपालमा सहकारी सुरू गरेको भन्दै उनले कांग्रेसको पक्षमा सहकारी ल्याउनुपर्ने बताए।‘सहकारी हामीले सुरू गरेका हौं, फेरि हाम्रो पक्षमा ल्याउनुपर्‍यो,’ उनले भने, ‘सहकारीमा देखिएका समस्या समाधान गरेर ठीक ठाउँमा ल्याउनुपर्छ।’

कांग्रेसले अब छिट्टै महासमिति बैठक र त्यसपछि महाधिवेशन गर्ने पनि उनले बताए।महासमिति बैठक कहिले गर्ने भन्नेबारे उनले खुलाएनन्।पोखरा पर्यटकीय राजधानी भएकाले यसलाई अझै राम्रो बनाउनुपर्ने र ताल तलैया जोगाउनुपर्ने उनले बताए।

‘पोखरा पर्यटकीय राजधानी हो, पोखराको भविष्य राम्रो छ,’ उनले भने, ‘यहाँको तलाउ हेर्न मान्छे आउँछन्, त्यसकारण पनि तलाउहरू बचाउनुपर्छ।’

संविधानमा उल्लेखित समावेशी समानुपातिक प्रणाली विश्वमै नभएको दाबी गर्दै उनले राज्यमा सबैको प्रतिनिधित्व आवश्यक रहेको बताए।

‘नेपाल सबैको देश हो हेर्नुस्, दलितको देश हो, जनजातिको देश हो, क्षेत्री बाहुनको देश हो,’ उनले भने, ‘सबैको देश भएकाले सबैको सहभागिता राम्रो छ।’