मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तु उद्योग बाणिज्य संघलाई बलियो बनाउने कि झन् कमजोर ?

कपिलवस्तु उद्योग बाणिज्य संघलाई बलियो बनाउने कि झन् कमजोर ?

अपि टाइम्स

काठमाडौँ । कपिलवस्तु उद्योग बाणिज्य संघमा आवद्ध र आगामी नेतृत्व चुन्ने अवसर पाउनुहुने सम्पूर्ण उद्योगी, ब्यवसायी (२ हजार ८०) र अन्य सरोकारवालामा नमस्कार ! म चन्द्रकान्त न्यौपाने । विगत आधा दशकदेखि म प्रत्यक्ष र परोक्ष रुपमा यस संस्थासंग जोडिएको छु । यहाँका आन्तरिक र बाह्य कुराहरुको विषयमा म जानकार छु । यस संस्थाको मलाई बढी माया लाग्ने रहेका कारण केहि सुझाव दिन बाञ्छनीय ठानेको छु ।

यहाँहरुलाई थाहा नै छ कि यस चुनावलाई मैले कुनै आम चुनावलाई भन्दा कम प्राथमिकता दिएको छैन मिडियाबाट । मैले यसलाई पत्रकारिताको धर्मभित्र राखी बिभिन्न कोणबाट ब्याख्या विश्लेषण गरिरहेको छ, जुन आवश्यक पनि थिएन । यसरी पलपलमा खबरदारीका समाचार नलेखेको भए हुन्थ्यो । तर मनले मानेन त्यस पछाडी कारण छन् ।

ब्यवसायी महानुभावहरु, यो संस्था भनेको जिल्लामा नगरपालिकापछिको ठुलो संस्था हो । यस संस्थाले त्यहाँको आर्थिक र सामाजिक रुपान्तरणको भार बहन गर्न सक्नुपर्दछ । थुप्रै रोजगारी सिर्जना गर्न सक्नु पर्दछ । स्थानीय उत्पादन बढाएर राज्यको आत्मनिर्भरतामा टेवा दिन सक्नुपर्दछ । उद्यमशिलता विकास गर्न यस संस्थाले धेरै काम गर्न सक्छ ।

यदि यस संस्थालाई गतिशिल र चलायमान बनाउन सक्ने हो भने नगरपालिकालाई टक्कर दिएर काम गर्न सकिन्छ । हो, नगरपालिकासंग बजेट धेरै हुन सक्छ, हामीसंग बजेट कम हुन सक्छ तर नगर र मातहतको क्षेत्रमा कार्यक्रमगतमा भने हामी दरिलो उपस्थिति जनाउन सक्छौँ । त्यो खालको योजना र ब्यवसायीको पक्षमा काम गर्ने दृढता भएको नेतृत्व हुने हो भने देशविदेशका फोरममा सहभागिता जनाएर ब्यवसायिक हकहित र उद्यमशिलता विकासमा अनुभव आदानप्रदान गर्न सकिन्छ । हस्तक्षेपकारी ढंगबाट काम गर्न सकिन्छ ।

मुलुकभरका थुप्रै बाणिज्य संघले यस्तो कार्य गरिसकेका छन् । मेला लगाउनु, संस्था दर्ता गर्नु र नविकरण गराउनु मात्र बाणिज्य संघको काम होइन । कपिलवस्तु उद्योेग बाणिज्य संघको यो लामो इतिहासमा यी काम बाहेक देखिने अरु धेरै काम हुन सकेको देखिँदैन ।

निवर्तमान अध्यक्ष रहनुभएका उमानाथ पौडेलको पालामा संस्था अघि बढ्दछ कि भन्ने छनक देखिएको थियो । उहाँको पालामा थुप्रै राम्रा कामहरुको सुरुवात पनि भएको थियो। तर त्यसपछिको नेतृत्वले नत ती कामलाई निरन्तरता दिन सक्यो नत उद्योगी बयवसायीको पक्षमा देखिने गरी काम गर्न सक्यो । नराम्रो काम त गरेन तर राम्रो काम पनि गरेन भन्ने आभास सबैलाई भइरहेको छ ।

बलियो हुन भन्दा पनि संघ कताकता कमजोर हुन थालेको हो कि भन्ने चिन्ता थपिएको सुनिन्छ । तसर्थ अब संघलाई थप चलायमान गराउने दायित्व थपिएको छ । त्यो विगत बिर्सिएर संघ फेरि एकपटक जन्मनु पर्ने अवस्थामा छ । अर्थात् हिजोलाई विर्सेर बर्तमानमा द्रुत ढंगबाट काम गर्नुपर्ने अवस्था छ । त्यो गर्ने भनेको कागजले होइन कुशल नेतृत्वले हो ।
हो, त्यहि नेतृत्व छान्ने सम्मुखमा यहाँहरु सबै हुनुहुन्छ । तर त्यो नेतृत्व चयन गर्ने दिन नजिक आइरहँदा केहि दुखी हुनुपर्ने अवस्था सिर्जना भएको छ ।

त्यो अवस्था भनेको ब्यवसायीको संस्थामा पनि राजनैतिक गन्ध र पुरानै फोहोरी खेल हुनु । सकेसम्म सहमतिमा नेतृत्व चयन गरेर अघि बढेको भए धेरै राम्रो हुने थियो । तर त्यो अवस्था टरेको छ । हामी राजनैतिक दलमा बिभक्त भइसकेका छौँ । त्यहाँका अग्रजले पनि राम्रो भूमिका निभाउन नसक्दा र राजनीतिको जुँगे लडाईले एक आपसमा ब्यवसायी लड्नुपर्ने अवस्था बाध्यता बनेको छ । अब केहिले चुनाव जित्ने छन् भने हार्नेहरुमा हारको त्यो नमिठो तुष बाँकी रहनेछ । त्यो तुष बोकेको समुहले संस्थाको उभोगतिभन्दा पनि अधोगति चाहानेछ र उप्रान्त असहयोगमा लाग्ने निश्चित छ ।

चुनावको सम्मुखमा संघमा यति राजनीति चुलिइसक्यो कि ब्यवसायी विभक्त भएर एउटाएउटा पार्टीको झण्डा बोकेर भोट माग्न घर र सडकमा कुदिरहेका छन् । आम चुनावभन्दा कम पेचिलो देखिन्न यो ब्यवसायीको चुनाव । ठाउँठाउँमा टाँसिएका पोष्टर, ब्यानर र होटेलहरुको बसाईले च्नाव पेचिलो र प्रतिशोधपूर्ण देखिन्छ ।

संस्थालाई चाहिने सक्षम र योग्य ब्यक्ति नै दलका गोटी बनेर प्यानलमा बिभक्त भइसकेका छन् । तँछाडमछाड र आरोप प्रत्यारोपमा छन् । जसले हिजोको तादाम्य सम्बन्धमा पनि प्रतिशोधको ब्युत्पादन भइरहेको छ । अब कोहि हार्ने पक्षमा देखिन्नन् । एक अर्काबीचको मित्रवत् भावना पनि टुटाइसकेका छन् । उनीहरुलाई मिलाएर नेतृत्व चयन गर्न नत ब्यवसायीका अग्रज नेताले सके नत राजनैतिक दलका नेताले ? उनीहरु त ब्यवसायीलाई भीँड्न लगाएर राम हेर्ने पक्षमा देखिए । अग्रज नेतृत्व ब्यवसायी मिलाउनतिरभन्दा पनि भडाउन र एकअर्कालाई उचाल्न पट्टी उद्धत भए । यसले राम्रो संकेत गर्दैन ।

यो स्थितिबाट गुर्जेको संस्थालाई ट्रयाकमा ल्याउने भनेको अब मतदाता ब्यवसायीले नै हो । यो बेला ब्यवसायीले सुझबुझ अपनाउन सक्नु भएन भने संस्था थप कमजोर हुनेछ । संस्था कमजोर बन्दा ब्यवसायीको बर्बादीको पतन र पलायन फेरि सुरु हुनेछ ।
त्यसैले कुन दलका नेता भोट माग्न आए होइन, कस्तो चरित्रको कुन मान्छे मत माग्दैछ ? उसको योग्यता, चरित्र र भिजन हेरेर मत खसाल्नु पर्दछ ।

अहिले काँग्रेस, माओवादी, एस, जनमोर्चा, राप्रपा लगायतका ५ दल एकातिर छन् भने एमाले पंतिको प्यानल एकातिर छ । अर्कातिर स्वतन्त्र प्यानल पनि छ ।लोकतान्त्रिक ब्यवस्थामा सबैले आफ्नो अधिकार प्रयोग गर्न पाउँछन् । त्यहि मान्यता अनुसार संस्थाको योग्यता पुगेको भएरै होला दर्जनौँ ब्यक्ति उम्मेदवारका आकांक्षी बनेर चुनावमा छन् । अहिले संघ थिलोथिलो हुँदै जानुको कारण पनि विगतको चुनाव, त्यसको तुष र राजीतिकरण नै हो । अब यसलाई तोड्ने अदम्य साहस ब्यवसायीमा हुनुपर्दछ ।

यस्तो स्थितिमा पार्टीका मान्छे हेरेर मत खसाल्ने कि उसको सक्षमता ? संस्थालाई विकासको गतिमा डोहोर्याउने पार्टीले हो कि ब्यक्तिले हो ? सहि एजेण्डा छन् कोरा कपि पेष्ट ? सबै ब्यवसायी आफ्नो आस्थारत दलभन्दा माथि उठेर संवेदनशिल भएर सोच्नुपर्ने बेला आएको छ । यदि बिभिन्न प्यानलका राम्रा ब्यक्तिको खोजि गरी छानिछानी मत खसाल्न सफल हुनुभयो भने संस्थाले एउटा गति लिनेमा दुईमत छैन । पार्टीका राम्रा मान्छे छन् भने उनीहरुलाई पनि मत खसाल्नु पर्दछ तर योग्य उम्मेदवार छैन पार्टीको भएकै कारण मत दिइयो भने त्यो झन् हानिकारक हुनेछ ।


होइन, आफ्नै पार्टी भनेर झोले बनि मत खसाल्न लाग्नुभयो भने यति ठुलो गरिमा बोकेको सस्थालाई बर्बाद पार्ने प्रमुख हतियार तपाई मत खसाल्ने ब्यवसायीबाहेक अरु कोहि हुन सक्दैनन् । गणेश बहादुर क्षेत्री, मोहन न्यौपाने र लक्ष्मण कँडेल प्यानल सार्वजनिक भइसकेका छन् । मत खसाल्न अघि सुविचारी ढंगले प्यानलमा सार्वजनिक भएका नामका चरित्रको कुण्डली अध्ययन गर्नु तपाईहरुको प्रमुख दायित्व हो ।

हरेक प्यानलका सक्षम मान्छेले जिते भने संघले जित्ने छ । त्यहाँका सबै उद्योगी ब्यवसायीले जित्ने छन् । तर आआफ्नो पार्टीको नाममा सर्लक्कै त्यहि पार्टीको प्यानलका मान्छेलाई जिताउनु भयो भने त्यहाँ निरंकुशता र मोनोपली हावी हुनेछ । संस्थामा प्रजातन्त्र हराउने छ । फेरि लड्ने र लगाउने खेल अर्को ३ बर्ष हुनेछ । तसर्थ सबै प्यानलका सक्षम मान्छे छनौट गरेर मत खसाली दलीय सिण्डिकेट यो चुनावबाट तोड्नुपर्दछ र योग्य ब्यवसायीलाई उदय गराउनु पर्दछ ।

मतदानको विशेषता भनेकै गोपनियता हो । तपाईले खसालेको मत गोप्य हुन्छ । २१ औँ शताब्दिका चुनावमा अब मेरो पार्टी, तेरो पार्टी भन्ने कुरा हराइसक्यो । अझै पनि यो मानसिकतामा रह्यौँ भने हामी परिवर्तन हुन नचाहेका लाचार प्राणीको दर्जामा दर्ज हुनेछौँ । संस्थाको विकास रोकिने छ ।

अझै यो त कुनै दलिय चुनाव होइन । पार्टीले जित्ने आम चुनावजस्तो पनि होइन । यो त ब्यवसायीको हकहितको लागि काम गर्ने संस्थाको एउटा संस्थाको चुनाव हो । यति सानो संस्थामा पनि तपाईहरुले राजनीति गर्नुभयो र नेताले भनेजसरी त्यहि बाटो हिँड्नु भयो भने संस्थालाई सबैभन्दा बढी घात हुनेछ ।

स्थानीय दलका नेताले जसरी पार्टीको झण्डामुनि ब्यवसायीलाई बाँडेका छन् यो पनि गलत छ । नेताहरुले बुझ्नुपर्दथ्यो कि यो पार्टीको झण्डा अंकित चुनाव होइन विसुद्ध ब्यवसायीको चुनाव हो । ब्यवसायीलाई स्वतन्त्र छोडिदिनुपर्दछ । तर उनैहरुले यस खालको प्यानल बनाउन बाध्य पारेका छछन् । पार्टीका नेताहरुले आगामि दिनमा विद्यालय, खानेपानी, जंगल, उद्योग ब्यवसाय, सहकारी, अस्पतालको नेतृत्व चुन्दा दलिय नभएर स्वतन्त्र भएर चुन्ने अवसर मिलाउन आँट गर्नुपर्दछ ।

यदि यसो भयो भने संघमा सबै पार्टी, वर्ग, समुदायका मानिसको प्रतिनिधित्व संघमा हुनेछ । संस्थागत विकासमा फरकफरक तवरले छलफल हुनेछ । मतमतान्तर हुनेछ र संस्थाले गति लिने छ । तसर्थ मान्छेको दक्षता छानिछानि मत प्रकट गर्नुहुन पुनः अनुरोध गर्दछु ।