मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तुमा संघिय अर्थमन्त्री बोल्ने मञ्चअघि कुर्चि मात्रै, उब्जिए यस्ता प्रश्न !

कपिलवस्तुमा संघिय अर्थमन्त्री बोल्ने मञ्चअघि कुर्चि मात्रै, उब्जिए यस्ता प्रश्न !

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने,

काठमाडौँ । कपिलवस्तु उद्योग बाणिज्य संघले आफ्नो १६ औँ बार्षिक साधारण सभा तथा आठौँ अधिवेशनमा प्रमुख अतिथिको रुपमा संघीय सरकारका अर्थमन्त्री डाक्टर प्रकाशशरण महतलाई आमन्त्रण गर्यो । अधिवेशनमा पहिलोपटक सरकारका अर्थमन्त्रीजस्तो ब्यक्तिलाई सहभागि गराउन लागेको भन्दै आयोजकको भुईमा खुट्टो थिएन । अर्थमन्त्रीसंगै उद्योगी नेता, सांसद, मेयर लगायतका जनप्रतिनिधिलाई पनि आमन्त्रण गरिएको थियो ।

३ बर्षपछि हुन लागेको अधिवेशनको लागि तामझाम त छँदै थियो, मन्त्री आउने भएपछि आयोजक थप उत्साहित थिए । कार्यक्रम भएको दिन संघको कार्यालय रहेको प्राङगणमा मंगलबार चारैतिर टेन्टले सजाइएको थियो भने सयौँ संख्यामा कुर्चि पनि मिलाएर राखिएको थियो ।

मन्त्री नै आउने भएपछि संघमा आवद्ध २ हजार ८० मध्ये अधिकांस ब्यवसायी, अरु पाहुनाहरु सबै कार्यक्रममा आउँछन् होला भन्ने विश्वासमा थियो आयोजक । नभन्दै संघको आमन्त्रण अनुसार मन्त्री महत पनि समयमै कार्यक्रममा हाजिर भए । बोलाइएका अतिथि पनि आए । तर संघको तयारी अनुसार साधारण सभा र अधिवेशनमा उद्योगी, ब्यवसायीको न्यून सहभागिता भयो । अर्थमन्त्री मंचमा थिए तर मंच अघि ब्यवसायी बस्ने कुर्चिमा मान्छे थिएनन् खाली कुर्ची मात्रै थिए ।

अर्थमन्त्री मंचमा बसिरहँदा अगाडिका खाली कुर्चिले कार्यक्रमको शोभा नै गायब गराएको देखिन्थ्यो भने अधिकांस आयोजक सदस्यको अनुहार पनि मलिन देखिन्थ्यो । उद्योग, व्यवसायीका बर्तमान समस्यामा सरकारले के काम गरिरहेको छ ? भन्ने सुनाउन पुगेका आएका अर्थमन्त्री नै ब्यवसायीको उपस्थितिबाट खुसी नभएको देखिन्थ्यो । जेनतेन अर्थमन्त्रीले सरकारकारले अहिले गरेका काम र अर्थब्यवस्थामा आएका सकारात्मक सूचकहरुको बारेमा जानकारी गराए । श्रीलंका हुने स्थितिमा मुलुक नरहेको बताउँदै सामाजिक संजालबाट हुँदैन, छैन, सकियो भन्ने खालका अफबाह फैलाएको कारण निराशा बढेको कुरा मन्त्रीले सुनाए ।

यसरी कुराहरु सुनाईरहँदा मन्त्री महत खुसी मुद्रामा देखिँदैनथे भने उनको ध्यान बढि मंचमा रहेका अतिथिमै रहन्थ्यो । अघि फर्किएर बोलिरहनको लागि सहभागिता न्यून भएका कारण राम्रो बातावरण थिएन । अर्थमन्त्री सहभागि भएको कार्यक्रममा ब्यवसायीको उपस्थिति न्यून भएपछि कार्यक्रममा सहभागि धेरैले खल्लो भएको महसुस गरेका छन् । सामाजिक संजालमा पनि यसले प्रवेश पाएको छ ।

अपिटाइम्सलाई प्राप्त भएका तस्वीर अनुसार करिब २१०० ब्यवसायी आवद्ध रहेको संघको अधिवेशनमा एक तिहाई जनसंख्याको पनि सहभागिता देखिदैन । यदि फोटो अनुसारकै सत्यता हो भने यसले दुईतिनवटा कुरामा अर्थ राख्छ र प्रश्न जन्माउँछ । फोटोको एंगल फरक भएर सहभागिता नदेखिएको हो भने पनि सहभागिता न्यून थियो भन्ने पुष्टि चाहिँ हुन्छ ।

पहिलो, कुनै पनि संघ संस्थाको अधिवेशन र साधारण सभा भनेको त्यसको मुटु हो । त्यहाँ संस्थाको बर्तमान, भूत र भविष्यको बारेमा घनिभूत छलफल हुन्छ र भविष्यको बाटो कोर्ने सेतु साधारण सभा र अधिवेशन नै हुन् । तर संघको नेतृत्वले ब्यवसायीलाई यसरी अधिवेशन र साधारण सभाको महत्व बुझाउन सकेनन् । कपिलवस्तु उद्योग बाणिज्य संघले आफ्ना सदस्यलाई यो कुरा बुझाउन सकेन । कार्यक्रम यस्तो हुनुको पछाडि संघ नै जिम्मेवार देखिन्छ । दुइतिर लाइन मिलाएर कुर्चि राखिएको थियो एकातिर ठिकै मानिस थिए भने एकातिरका अधिकांस कुर्ची खाली देखिन्छन् । तर आयोजक भने मानिसको सहभागिता सोचेजस्तो नभए पनि निरास हुने खालेको भएको भन्ने स्विकार गर्दैनन् । जानकारी अनुसार नगरपालिकाको राष्ट्रपति रनिङशिल्ड आजैबाट सुरु भएको कारण पनि सहभागिता नभएको हुन सक्ने ब्यवसायी बताउँछन् ।

दोश्रो, ब्यवसायीको संस्थाको अधिवेशनमा ब्यवसायीकै सहभागिता नहुनुले संघप्रति उनीहरुको निरासा छ भन्ने पुष्टि गर्दछ । अर्थात् संघले ब्यवसायीको हक, हित र विकास, संरक्षण र प्रवद्धनमा काम गर्न सकेन । साधारण सभा र अधिवेशन भनेका नियमित कार्यक्रमहरु हुन्, विशेष कार्यक्रम होइनन् । त्यहाँ नयाँ केहि हुँदैन । हामी गए पनि के हुन्छ र नगए पनि के हुन्छ ? भन्ने भाव ब्यवसायीमा भयो । यस्तो हुनुमा पनि संघको नेतृत्वले राम्ररी काम गर्न सकेन भनेर नै बुझाउँछ । यदि संस्थाले राम्रोसंग काम गरेको हुन्थ्यो, सबैलाई समेटेको हुन्थ्यो भने ठुला नेता र मन्त्री नआए पनि ब्यवसायीको कार्यक्रममा सहभागिता बढ्न सक्दथ्यो ।

यहाँ त मुलुकका अर्थ मन्त्री नै सहभागि भएर पनि ब्यवसायी आफ्नो ठुलो चाडमा सहभागि हुन सकेनन् । यसले ब्यवसायीमा रहेको चरम निरासा झल्काउँछ ।

अर्को कुरा अहिले संघको आगामी ३ बर्षे कार्यकालको लागि सहमति गर्न नसकेर चुनावको नाममा ब्यवसायीलाई भीँडाउने काम भइरहेको छ । यो कुरा पनि ब्यवसायीलाई पटक्कै मन परेको छैन भन्ने प्रमाण पनि यो कार्यक्रम हो ।

चौथो, मुलुकका शीर्ष पार्टीका नेता र सरकारका मन्त्री र सांसदको वजन घटिरहेको छ भन्ने पुष्टि पनि कपिलवस्तु उद्योग बाणिज्य संघको मंगलबारको कार्यक्रम हो । मुलुकका अर्थमन्त्री आउँछन् भनेपछि हेर्न जाने, फोटो खिच्ने, हस्ताक्षर लिने मानिसको भीँड नै हुनुपर्ने थियो तर त्यो हुन सकेन । गणतन्त्र अघिको कुनै समय यस्तो समय थियो जहाँ मन्त्री या राजा भनेपछि हेर्न जहाँबाट पनि मान्छे आउने गर्दथे र अभिनन्दनमा सारिक हुन्थे ।

अहिलेको गणतन्त्र र नेताका बिभिन्न काण्ड, भ्रष्टाचार लगायतका कारण नग्न, र बलात्कारी कलाकार, भेलु बाजेजस्ता उरन्ठ्यौला मान्छे र त्यस्तैलाई महत्व दिनेवाला छन् तर देश बनाउने नेता र मन्त्रीलाई महत्व दिने पक्षमा जनता छैनन् । यो कुराको प्रमाण पनि अर्थमन्त्रीको कार्यक्रममा मान्छेको सहभागिता नहुनु हो । यो कपिलवस्तु उद्योग बाणिज्य संघको मात्र होइन मुलुकभरकै समस्या हो ।

तसर्थ अब नेताले पनि चरित्र सुधार्नुपर्दछ भने यस्ता संघसंस्थाले पनि आफ्ना सदस्यको हकहितमा राम्रोसंग काम गर्नुपर्दछ । होइन भने ढिलो चाँडो सबैले यहि नियति झेल्नुपर्दछ ।