मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पुषयता लुम्बिनीमा तीन ठूला दुर्घटनामा ३२ जनाको मृत्यु, मुख्य कारण चालकको लापरबाही

पुषयता लुम्बिनीमा तीन ठूला दुर्घटनामा ३२ जनाको मृत्यु, मुख्य कारण चालकको लापरबाही

अपि टाइम्स

दाङ । लुम्बिनी प्रदेशमा पछिल्लो समय तीन ठूला दुर्घटना भएका छन्। पुसयता भएका तीन ठूला दुर्घटनाले ३२ जनाको मृत्‍यु भएको छ।

पछिल्लो समय कपिलवस्तु, पाल्पा र दाङमा ठूला दुर्घटना भएका हुन्। कपिलवस्तुमा गएराति, पाल्पामा मंगलबार र दाङमा गत पुस २७ गते दुर्घटना भएको हो। यी तीनै वटा दुर्घटनामा ठूलो मानवीय क्षति भएको छ।

दुर्घटना नं १

बिहीबार मध्यराति साढे १२ बजे महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सु–प–प्र–०२–००१ ख ००९ नम्बरको बस कपिलवस्तुको शिवराज नगरपालिका(१ मा दुर्घटना भयो। सुनौलो महाकाली यातायातको उक्त बस सडकबाट झन्डै एक सय मिटर तल सुरही खोलामा खसेको थियो।

यस दुर्घटनामा १० जनाको मृत्यु भएको छ। ३० जना यात्रु घाइते भएका छन्।

यस दुर्घटना हुनुमा सवारी चालकको लापरबाही देखिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय लुम्बिनीका प्रमुख एसपी कृष्ण प्रसाईंले जानकारी दिए।

तीव्र गति र चालकको लापरबाही नै दुर्घटनाको मुख्य कारण देखिएको उनी बताउँछन्।

‘बस चार नम्बर गियरमा थियो। ओभरस्पिडका कारण चालकले बस नियन्त्रण गर्न नसकेको कुरा देखिएको छ,’ उनले भने, ‘चालक र केही घाइतेहरूसँग कुरा गरेँ। ब्रेक नलागेको भनेर चालकले बचाऊ गरेका छन्। तर प्रतिप्रश्न गर्दा जवाफ दिन सकेका छैनन्।’

निरन्तर ओरालो झर्दा ब्रेक नलाग्ने सम्भावना पनि हुने उनी बताउँछन्। तर यस घटनामा भने विश्वास गर्न सक्ने आधार नदेखिएको उनले बताए।

सडकको अवस्था दुर्घटना हुनुको दोस्रो कारण रहेको एसपी प्रसाईंले बताए। उनका अनुसार घुम्ती र त्यसमाथि बिग्रिएको बाटोका कारण पनि दुर्घटना भएको हो।

यसरी दुर्घटना भए पनि समयमै उद्धार गर्न नसक्दा धेरैको ज्यान गएको प्रहरीको विश्लेषण छ।

‘बस खसेको खोँचमा मोबाइल सम्पर्क नहुने रहेछ। साढे १२ बज्नुअघि नै दुर्घटना भएको रहेछ। तर डेढ घण्टापछि मात्रै घटनाबारे प्रहरीलाई खबर भयो। जसकारण पनि ठूलो मानवीय क्षति भयो,’ उनले भने।

दुर्घटनापछि घाइतेले नै प्रहरीको कन्ट्रोल नम्बर १०० मा फोन गरेका थिए। उक्त खबर पनि दाङ प्रहरीलाई भएको थियो। दाङ प्रहरी कार्यालयले समन्वय गरी कपिलवस्तु प्रहरीलाई खबर गरेपछि राति २ बजेतिर प्रहरी घटनास्थलमा पुगेको थियो।

दुर्घटना नं २

लुम्बिनी प्रदेशकै पाल्पामा मंगलबार बेलुकी पौने ५ बजे यस्तै ठूलो मानवीय क्षति भएर दुर्घटना भयो।

तिनाउ गाउँपालिकाको डुम्रेबाट यात्रु बोकेर वडा नं ६ शिखरडाँडा जाँदै गरेको लु १ ज २३७१ नंको जिप दुर्घटना परेको थियो। जसबाट १० जनाको मृत्यु भयो। १७ जना घाइते भएका छन्। जिप सडकबाट झन्डै तीन सय मिटर तल खसेको थियो।

उक्त दुर्घटना ओभरलोड र मानवीय कमजोरी नै देखिएको एसपी कृष्णप्रसाद प्रसाईंले बताए।

‘१२ देखि १५ जनासम्म यात्रु चढ्न मिल्ने जिपमा २७ जना यात्रु कोचेको देखियो,’ उनले भने, ‘ओभरलोड भएकै कारण जिप उकालो चढ्न नसकेर ब्याक भई दुर्घटनामा परेको अनुसन्धानबाट खुलेको छ।’

चालकको लालचका कारण उक्त दुर्घटना भएको प्रहरीको भनाइ छ। यात्रुहरूले पनि जोखिम मोलेर जिप चढेको देखिएको हुँदा यसबारे ख्याल गर्नुपर्ने उनी बताउँछन्।

ग्रामीण भेगका बीच सडकमा ट्राफिक बिट नहुँदा पनि सवारी साधन चलाउँदा लापरबाही हुने गरेको प्रहरीको भनाइ छ। कतिपय ठाउँमा बिट नै भए पनि ट्राफिक प्रहरीको आँखा छलेर जाने गरेका घटनाहरू पनि छन्।

‘दुर्घटनाको क्षति ट्राफिकले बेहोर्ने होइन वा त्यसको पीडा ट्राफिकलाई हुने होइन यात्रु र आफन्तले त्यो पीडा स्वयंले त्यो बेहोर्नुपर्छ,’ प्रसाईंले भने, ‘ट्राफिक छैन भनेर ओभरलोड बोक्ने वा ट्राफिकको आँखा छलेर यात्रा गर्नुहुन्न भनेर यात्रु सचेत भए यस्ता दर्दनाक दुर्घटना न्यूनीकरण गर्न सहज हुनेछ।’

दुर्घटना नं ३

पुस २७ गते राति नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस दाङको राप्ती गाउँपालिकास्थित राप्ती नदीको पुलबाट खसेको थियो।

उक्त दुर्घटना हुँदा १२ जनाको मृत्यु र २३ जना घाइते भएका थिए। त्यसअघि त्यस ठाउँमा दुर्घटना भएको रेकर्ड थिएन। उक्त बस भने पुलको रेलिङ तोडेर बस नदीमा खसेको थियो। एसपी प्रसाईंले त्यस दुर्घटना पनि चालककै लापरबाहीका कारण भएको बताए।

‘ट्राफिकले बस रोक्न सिट्टी फुके पनि ओभरस्पिडका कारण चालकले गाडी नियन्त्रण गर्न नसकी अगाडि बढाउने क्रममा बस पुलबाट खसेको स्पष्ट भइसकेको छ,’ उनले भने, ‘चालकको लापरबाहीले ठूलो संख्यामा मानिसले त्यहाँ ज्यान गुमाउनु परेको हो।’

यसरी ठूला दुर्घटना नियन्त्रण गर्न चालक नै सजग हुनुपर्ने उनी बताउँछन्। सवारी नियन्त्रण गर्न यात्रु, ट्राफिक प्रहरी पनि थप जिम्मेवारीका साथ खटिनुपर्ने उनले बताए।

सार्वजनिक सवारी चेकिङका सवालमा ट्राफिक सीमित अधिकार मात्रै रहेको भन्दै उनले प्रहरीको हालको अवस्थालाई विश्लेषण गर्दा यस्ता दुर्घटना हुनुमा एक सय अंकमा तीन प्रतिशत मात्रै प्रहरी दोषी देखिने उनले दाबी गरे।

मानवीय त्रुटी, इञ्जिनको अवस्था, सडकको अवस्था, छाडा चौपाया जस्ता कारण दुर्घटनाका मुख्य कारण रहेको उनले औंल्याएका थिए।

ठूला दुर्घटना हुँदा प्रहरीसँग आवश्यक सामान पनि नभएको उनले बताए।

दुर्घटना हुँदा आवश्यक क्रेनलगायत नहुँदा पनि उद्धारमा समस्या हुने गरेको उदाहरणहरू रहेको उनले बताए। सवारी साधनको गति चेक गर्न लुम्बिनी प्रदेशमै दुई वटा मात्रै ुस्पिड टेस्ट गनु रहेको उनले बताए।

‘हाल लुम्बिनी प्रदेशमा दुई वटा मात्रै त्यस्तो गन छ,’ उनले भने, ‘एउटा बाँके र अर्को रुपन्देहीमा छ।’

गति जाँचका लागि त्यही गनलाई १२ वटा जिल्लामा पालैपालो घुमाउने गरेको पनि उनी बताउँछन्।

उनका अनुसार लुम्बिनी प्रदेशमा पुसयता विभिन्न दुर्घटनामा परी कुल ११७ जनाको मृत्यु भएको छ। यी तीन ठूला दुर्घटनामा भने ३२ जनाले ज्यान गुमाएका हुन्। सेतोपाटीबाट