मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सहकारी नियमको धज्जी उडाउँदै शर्मा, नियमविपरित दुई सहकारीमा अध्यक्ष

सहकारी नियमको धज्जी उडाउँदै शर्मा, नियमविपरित दुई सहकारीमा अध्यक्ष

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने,

काठमाडौँ । आफूलाई नेता ठान्ने र दुनियाँलाई नियम कानुन सिकाउन माहिर मानिने ब्यक्तिमा पर्दछन् मित्रलाल शर्मा । कपिलवस्तुको बाणगंगा नगरपालिका निवासी शर्मा आफूलाई बुद्धिजिवी, अभियान्ता, राजनीतिज्ञ, सहकारीको विज्ञको रुपमा जहाँ पनि प्रस्तुत गर्दछन् । धेरै बोल्न र भाषणबाजीमा रमाउन खोज्ने स्वभाव रहेका शर्मा कुनै पनि औपचारिक/अनौपचारिक मंच पाउनासाथ शुसासनको पाठ पढाउन भ्याइहाल्छन् ।

दुनियाँलाई शुसासनको पाठ सिकाउने उनै शर्मा आफू भने कुशासनमा चलेको र नियमविपरितका कार्यमा संलग्न रहेको तथ्य बाहिर आएको छ ।

करिब दर्जन संस्थामा बिभिन्न पद ओगटेर बसेका शर्माले सहकारी ऐनको नै धज्जी उडाउने काम गरेका छन् । सहकारी ऐन २०७४ को दफा ४१ को उपदफा ५ अनुसार एकै समयमा एक ब्यक्ति दुई वटा सहकारीमा संचालक हुन पाउँदैनन् । शर्मा त संचालक मात्रै होइन दुई सहकारीमा अहिले अध्यक्ष पद नै ओगटेर बसेका छन् । उनी अध्यक्ष रहेका संस्था हुन् कपिलवस्तु संचार सहकारी संस्था र मेरिट बचत तथा क्रण सहकारी संस्था । शर्मा गजेहडास्थित जनमैत्री बचत तथा क्रण सहकारीमा पनि नियमविपरित कार्यकारी निर्देशकसमेत रहेको सुचना छ ।

शर्माले यसरी सहकारीको नियम भाँचेको पाइएपछि उनीविरुद्ध सहकारी दर्ता रजिष्ट्रारको कार्यालय लुम्बिनी प्रदेशमा निवेदन परेको छ । बाणगंगा नगरपालिका वडा नम्बर ७ निवासी एक ब्यक्तिले शर्माले सहकारीको ऐन उलंघन गरी सहकारीमा ज्यादती भएको भन्दै दाङ देखुरीमा निवेदन दिएका हुन् ।

शर्माविरुद्ध निवेदन परेपछि यो विषयले अहिले सामाजिक संजालमा पनि प्रवेश पाएको छ । बाणगंगामा खबरदारी गरिरहेका रिखीराम भट्टराईले शर्माको यो गतिविधिमाथि परेको निवेदनको प्रमाण नै सार्वजनिक गरेका छन् ।

सहकारी विज्ञ तेज प्रसाद आचार्यले पनि एउटै ब्यक्ति एकै समयमा दुई सहकारीमा अध्यक्ष हुन पाउने ब्यवस्था नभएको बताउँछन् । उनी भन्छन् ‘एउटा सहकारीमा संचालक समितिमा रहेको ब्यक्ति त्यहि समयमा अर्को सहकारीमा संचालक हुन पाउँदैन । अध्यक्ष त त्यो माथिको कुरा हो’, आचार्यले थपे ‘संचालक समिति सदस्य नभई फरक प्रकृतिका सहकारीको सदस्य हुन भने खुला गरिएको छ ।’

मेरिट र कपिलवस्तु संचार सहकारी सहकारी ऐन २०७४ अनुसार नै संचालित सहकारी हुन् । नगरको सहकारी ऐनले पनि एउटै ब्यक्तिलाई दुई सहकारीमा संचालक बस्न बर्जित गरेको छ ।

शर्मा जनमैत्रीमा नयाँ पद खडा गरेर कर्मचारीजस्तो भएर बस्नुलाई पनि युक्तिसंगत मानिँदैन । दुईदुई ठाउँमा अध्यक्ष रहेका शर्मा अर्को एक सहकारीमा कार्यकारी निर्देशक पद खडा गरेर बस्नुले उनको पदलोलुप प्रवृत्तिलाई झल्काउने गरेको सहकारीमा आवद्ध ब्यक्तिहरु बताउँछन् ।

पदलोलुप शर्माको यस कार्यबारे अपिटाइम्सले यसबारे बुझ्दा शर्माले अब एउटै सहकारीमा आवद्ध हुने तयारी रहेको बताए । उनले भने ‘अहिलेसम्म यस विषयमा कहिँ कतैबाट त्यति धेरै कुरा आएको थिएन । अब कपिलवस्तु संचार सहकारी छोड्ने हो । म्याद पुगिसकेको छ अब चाँडै साधारण सभा डाकेर संचार सहकारी छोड्छु ।’

शर्मा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पूर्व अध्यक्ष हुन् भने अहिले उनी बाल माध्यमिक विद्यालयमा अध्यापनरत छन् । शर्मा सरकारी तलब खाने शिक्षक भएको हुनाले पनि उनलाई सहकारीको अध्यक्ष बस्न कानुनतहः मिल्दैन । आफूलाई विज्ञ मान्ने शर्मा यो विषयमा अनविज्ञ रहेका हुन् कि जानाजान सरकारी नियमको धज्जी उडाएका हुन् बुझ्न सकिएको छैन ।

समाचार श्रोत अनुसार शर्मा पदविना बाँच्न नसक्ने प्रवृतिका ब्यक्तिमा पर्दछन् । उनी आधा दर्जन बढी संस्थामा महत्वपूर्ण पदमा आसिन छन् । वाणगंगाकै वरवामा रहेको एभरग्रिन बोर्डिङ, वडा नम्बर ३ को लुम्बिनी भिजन कलेज लगायतमा पनि शर्मा आवद्ध छन् । शर्माको जहाँ इन्ट्रि हुन्छ त्यहाँ बढी राजनीति बढि हुने गरेको स्थानीयहरु बताउँछन् ।

स्थानीय स्तरमा रहेका सहकारीमा भएका अनियमितता रोक्ने र नियमन गर्ने अधिकार स्थानीय तहसंग छ । शर्माको विषयमा बाणगंगा नगरपालिकाका कार्यकारी प्रमुख भक्तिराम मरासिनीलाई फोन गर्दा उनी पोखरा कार्यक्रममा रहेको पाइयो ।
निमित्तको जिम्मा पाएका राजकुमार तिवारीले नगरले अहिले सहकारीका बिभिन्न विषयमा अध्ययन र अनुगमन गरिरहेको जानकारी दिए ।
आजसम्म आफू यस विषयमा अनविज्ञ रहेको बताउँदै तिवारीले भने ‘शर्मा आवद्ध रहेका सहकारीको नाम भन्नुस् त म टिपेर राख्छु र भोलि सहकारी शाखामा जानकारी गराउँछु ।’ एउटै ब्यक्ति त्यसरी दुई सहकारीमा संचालक भएर बस्न पाउने कानुन नभएको उनले बताए ।

नगरका बेथिति मिडियामा आएपछि मात्र थाहा पाउने र झस्कने नगरको गतिविधिमाथि धेरैले प्रश्न खडा गर्ने गर्दछन् । दुई सहकारीमा अध्यक्ष रहेको शर्माको विषयमा अहिलेसम्म नगरपालिकाले मुखमा माड लगाएर बस्नु अनुचित रहेको भन्दै आजसम्म नगरपालिकाले के हेरेर बसेको थियो ? सरोकारवालाको भनाई छ । बाणगंगामा सहकारीमा बिभिन्न समस्या र वेथिति रहेको भए पनि नगरले खासै नियमन गर्न नसकेको देखिन्छ ।