मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यस्तो छ बाणगंगामा नदीजन्य पदार्थ चोर्ने गिरोह, सेटिङबारे स्थानीयले खोले पोल !

यस्तो छ बाणगंगामा नदीजन्य पदार्थ चोर्ने गिरोह, सेटिङबारे स्थानीयले खोले पोल !

अपि टाइम्स

कपिलवस्तुको बाणगंगा नदी

चन्द्रकान्त न्यौपाने

काठमाडौँ । कपिलवस्तुको बाणगंगा नगरपालिकाको मुख्य आयश्रोत बाणगंगा खोलाबाट निस्कने पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा) चोरी हुने कुरा नौलो होइन । खोलो खुल्दा पनि ठेकेदारले मापदण्डविपरित उत्खनन् गरेर हैरान पार्दछन् भने खोलोको ठेक्का नखुलेको बन्द समयमा पनि नियमविपरित हरेक बर्ष नदीजन्य पदार्थ चोरी भएर नगरको लाखौँ राजश्वमा घाटा लाग्ने गरेको छ ।

तर यस्तो कसरी भयो कसैलाई थाहा हुँदैन । कारण खोज्दा होइन होइन भन्छन्, प्रहरीले नगरपालिका र जनप्रतिनिधिलाई दोषी देख्छ भने नगरपालिकाले पुनः प्रहरी, ट्याक्टर धनी र क्रसर धनीमाथि औँला ठड्याउँछ । त्यसो भए बोरामा बालुवा उठाउनेले सकेका हुन् त बाणगंगाको नदीजन्य पदार्थ ? कि ढुङ्गा, गिटी र बाुलवा आफै हिँडेर गए ? प्रश्न गहिरो छ । साइकल या काँधमा बोकेर लगेका हुन सक्छन् तर उनैहरुको कारण खोला सकियो भन्नु हास्यास्पद हुन जान्छ ।

यस विषयमा प्रहरी र जनप्रतिनिधिसंग कुरा राख्दा चोरी भएको छैन भन्ने ओठे जवाफ दिन्छन् तर गएर खोलो हेर्ने हो भने जहाँसुकै भ्वाङ र खाल्डा खुल्डी छन् । अहिले बाणगंगा नदीको ठेक्का खुलेको छैन । खोला बन्द छ तर खोलामा तलदेखि माथिसम्म जहाँसुकै खाल्डाखुल्डी र भ्वाङ देखिन्छन् । ती दृश्यले बाणगंगामा चरम रुपमा दोहन भएको पुष्टि गर्दछन् ।

जनप्रतिनिधि, पत्रकार र प्रहरीलाई यी विषयमा प्रश्न राख्दा ओठे जवाफ फर्काएपछि हामीले नदीतटीय क्षेत्रका सर्वसाधारण र यसका जानकारसंग सोधेका छौँ । सर्वसाधारणले भने सबैको भ्वाङ पर्ने गरी पोल खोलेका छन् । खोला चोरीमा ट्याक्टर धनी क्रसवाला, प्रहरी, जनप्रतिनिधि मुछिएका थिए भने उनीहरुका अनुसार यसपटक नगर प्रहरी पनि मुछिएका छन् ।

हामीले वडा नम्बर ८ बोडगाउँ, धनेशपुर, मधुवन, कपिलधाम, वडा नम्बर ५ र ६ को खुटेनी र लक्ष्मणघाट, वडा नम्बर १ र ४ का बुङ्ची, दरखास्त र उप्टहवा (उत्तमनगर) का केहि स्थानीय र केहि जानकारसंग खोला चोरीबारे बुझेका छौँ । नाम नबताउने शर्तमा उनीहरुले चोरी हुने तरिका र सेटिङको बारेमा पनि बताएका छन् ।

समाचार श्रोत अनुसार नदीजन्य पदार्थ चोरी गर्नेमा सबैभन्दा धेरै हात क्रसर ब्यवसायी र ट्याक्टर धनीको नै छ । पत्रकार, जनप्रतिनिधि, टोले नेता र प्रहरीसंगको सेटिङमा नदीजन्य पदार्थ चोरी गर्ने धन्दा सम्भव रहेको उनीहरु बताउँछन् ।
बाणगंगाका केहि जनप्रतिनिधि र नेताको काम नै यस्तै धन्दा रहेको हुँदा चोरीमा बल पुगेको उनीहरुको भनाई छ ।

यस्तो सेटिङमा हुन्छ चोरी

बाणगंगा १, ४ र ५ का जानकार स्थानीयले भनेका थिए ‘खाली ट्रली भएका ट्याक्टर हेलिकप्टरको जस्तो आवाज निकालेर किन कुदिरहेका हुन्छन् एकाविहानै ? मिर्मिरे उज्यालो नहुँदै ती ट्याक्टरलाई त्यो स्पीडमा कुद्न किन जरुरी छ ? उनीहरु राति पनि कुदिरहेका हुन्छन् । ठेकेदारका डम्पिङ साइट कसरी जहिल्यै भरिभराउ हुन्छन् ? क्रसर उद्योगहरुको मेसिन खोला नखुल्दा पनि कसरी बाह्यैमासे रातदिन चलिरहेका छन् ? यी सबै हुनुको पछाडी खोलाको चोरी नै हो ।’

उनीहरु भन्छन् ‘नदीजन्य पदार्थ चोरेको हामी देख्छौँ तर प्रहरी, जनप्रतिनिधि, पत्रकार कसैले देख्दैनन् । खोलाको पदार्थ सबै सकेका छन् । राति र विहान ४ बजेको समयमा धेरै चोरी हुने गरेको छ ।’

‘यसबारे मुख खोले अज्ञात मान्छेबाट धम्की आउने गर्दछ । चोरी भएको स्थानमा जाऔँ मार्छन् भन्ने डर हुन्छ । सबै थाहा भएर पनि चुपचाप रहनुपर्दछ । यसमा प्रहरी र जनप्रतिनिधिको मिलोमतो देखिन्छ’, एक जनाले भने ।
त्यो कस्तो खाले मिलीमतो होला ? भनेर प्रश्न सोध्दा ती ब्यक्ति भन्छन् ‘सबै पैसामा अन्धो भइसकेका छन् । घुमन्ते र ड्युटीमा रहेका प्रहरी ठेकेदारको सेटिङमा चल्ने रहेछन् । यता खोलाबाट बालुवागिट्ी उठाइसक्छन् । उता प्रहरीले थाहा भएको चाल पाएजस्तो पनि गर्ने रहेछ । सेटिङका प्रहरीले ट्याक्टर चालकलाई भाग्न भन्दा रहेछन् । प्रहरी र जनप्रतिनिधिलाई आउने समयसम्म चोरहरु भागिसकेका हुन्छन् । अनि कसरी समात्नु ? अनि उनीहरु रित्तै फर्कन्छन् । कहिलेकाहिँ देखाउन समातेजस्तो पनि गर्ने रहेछन् । माल सम्बन्धित ठाउँमा पुग्ने रहेछ । अनि सबैले भाग लगाउने रहेछन् । यस्तो विचित्र रहेछ यहाँ ।’

बालुवा, ढुङ्गागिट्टी उठाउन पाएबापत् हरेक ट्रलीको हिसाब गरेर चोरहरुले प्रहरी, पत्रकार र जनप्रतिनिधिलाई दिने गरेको स्थानीयको बुझाई छ । उनकीहरुको ठोकुवा छ क्रसर उद्योगी, ट्याक्टर धनी, ठेकेदार, पत्रकार, पुलिस र जनप्रतिनिधि नमिलेसम्म यसरी चोरी हुनै सक्दैन ।

स्थानीयको भनाई छ ‘जनप्रतिनिधि, पत्रकार, शशष्त्र, घुमुवा र ड्युटीमा रेहका प्रहरीलाई यो सबै थाहा छ । तर कोहि बोल्नेवाला छैनन् ।’
जिल्लामा आउने सिडिओ, एसपी, इन्स्पेक्टरहरु यसैगरी टन्न कमाएर फर्कन्छन् भन्ने आरोप आजको मात्र नभएर हिजैदेखिको हो ।
एक जनाले थपेको यो कुराले पनि त्यो कर्तुततलाई पुष्टि गर्दछ । ‘ इमान्दार प्रहरीलाई काम गर्न गारो रहेछ, कतिपयले इमान्दार भएर ड्युटी गर्न पनि खोज्दा रहेछन् तर के गर्नु माथिको आदेश आएपछि उनीहरु गल्ने रहेछन् । सिडिओ, जिल्ला प्रहरीदेखि इन्स्पेक्टरसम्म सबै यहाँ आएर मोटाएरै फर्कने गरेको देखेका छौँ दुब्लाएर कोहि फर्केको छैन । रक्षक नै भक्षक भएपछि कसरी देश बन्छ ?’, मधुवनका सर्वसाधारण भन्छन् ।

जिल्लाबाट अनुगमन गर्न कोही आउने कुरा गिरोहलाई पहिले नै जानकारी गराइन्छ। जिल्लाबाट अनुगमन जाँदा त्यहा केही फेला नपरी रित्तो हात फर्किने गरेका छन्। रातभर चोरीएका नदीजन्य पदार्थलाई बाणगंगा नगरपालिकामा मापदण्ड विपरीत सञ्चालन गरिएका क्रेसरमा पु¥याउने गरिएको खुल्न आएको छ।

’राती १२ बजे पछि खोला छेउछाउका बस्तीमा बसि नसक्नु छ। रातभर ठूल्ठूलो आवाजमा ट्याक्टरले ढुङ्गा, गिट्टी र बालुवा ओसार्दा सुत्नै पाइएको छैन। रातभर नदीजन्य पदार्थको चोरी भएको बारे सबैले थाहा पाए पनि नियमनकारी निकायको भूमिका प्रभावकारी देखिन्न’ स्थानीय भन्छन् ।

अर्का एक जनाले नगर प्रहरी पनि यस धन्दामा लाग्न लागेको सुइँको पाएको जानकारी दिए । उनले थपे ‘अहिले त नगरमा नगर प्रहरी पनि रहेछन् उनलाई पनि भाग लगाउनु पर्ने भएको रहेछ । खोलाचोरसंग कमिसन माग्ने चक्करमा नगरप्रहरी पनि थपिएछन् । उनीहरुले पनि खेलोमेलो बुझिसकेछन् ।’

लक्ष्मणघाट, धनेशपुर र खुटेनीका सर्वसाधारणले पत्रकारको धन्दाबारे पनि पोल खोलेका छन् । ‘पत्रकार खोलामा आएर क्यामेरा र मोबाइल तेश्राएर खिचेजस्तो गर्ने रहेछन् । पत्रकारका पनि ग्रुपग्रुप रहेछन् । कम्प्यूटरमा बसेर खोलाको समाचार लेखेर यस्तो समाचार छ के गरौँ भन्दा रहेछन्’ उनी थप्छन् ‘क्रसर अघिअघि गएर फोटो खिच्ने रहेछन् । त्यसपछि क्रसर संचालक डराउने रहेछन् अनि कुरा मिल्ने रहेछ । पत्रकार समाचार लेख्न होइन पैसाको बार्गेनिङ गर्न खोलामा माइक र क्यामेरा लिएर आउने रहेछन् भन्ने कुरा थाहा पायौँ ।’

यता ठेकेदारहरुले नगरपालिकाले टेण्डर गर्न ढिलो गरेकाले चोरी नरोकिएको बताउँछन् । नगरपालिकाले समयमा खोलो खोल्ने हो भने बन्दको बेला हुने चोरीको समस्या समाधान हुने उनीहरुको भनाई छ ।

। प्रहरीले भने अहिले नदीजन्य पदार्थको चोरीमा ठप्प भएको बताउँछ । इलाका प्रहरी कार्यालय पिपराका प्रहरी नीरिक्षक गोपालजंग रायमाझीले खोला चोरी भएको कुरा झुटो रहेको बताए ।

उनले भने ‘अहिले बाणगंगा खोला चोरी ठप्प छ । सर्वसाधारणले भनेजस्तो सेटिङ नरहेको बताए । बोरामा बोक्नेहरुको कारण समस्या छ । खाल्डाखुल्डी रहेको उनैहरुको कारण हो । घुमुवा र ड्युटीमा रहेका प्रहरीलाई कसिमसन र सेटिङमा क्षम्य छैन । डटेर खोलो चोरीबाट बचाउन लागेका छौँ ।आफूहरुको मुख्य ड्युटी शान्ति सुरक्षा कायम गर्नु पर्ने भए पनि सानादेखि ठुला सबै कुरामा प्रहरी नै पर्खँदा काम गर्न गारो भएको रायमाझीले बताए । यस विषयमा नगरपालिकाका जनप्रतिनिधि, नगर प्रहरीको पनि भूमिका हुनुपर्यो ।’

रायमाझीले यस्तो सुचना पाउँदा खबर गरेर सहयोग गर्न पनि आग्रह गरेका छन् ।